Comments Add Comment

खाना र खाजा माग्दै संविधानसभा भवनमा आन्दोलन

४ पुस, काठमाडौं । खाना र खाजा भत्ता माग गर्दै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले आन्दोलन थालेपछि संविधानसभाको मिडिया सेन्टरमा अडियो काटिएको छ ।

ca-houseउनीहरुले पुस ७ देखि संविधानसभाको काम कारवाहीमा समेत अवरोध सिर्जना हुन सक्ने चेतावनी दिएका छन् ।

संविधानसभा भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले संसद सचिवालयका कर्मचारी सरह तलबको ८० प्रतिशत भत्ता र खाना तथा खाजा भत्ताको माग गरेका छन् ।

संसद सचिवालयका कर्मचारीले मासिक तलब सहित ८० प्रतिशत भत्ता र तीन साँझ खाना तथा खाजा भत्ता पाउने गरे पनि आफूहरुमाथि विभेद गरिएको उनीहरुको आरोप छ । ‘संविधानसभा भवनमा संसद सचिवालयका कर्मचारी भन्दा बढि हामी खटिनुपर्छ । तर, उनीहरुले खाजा खाना भत्ता पाउदा हामी भोकै काम गर्न सक्दैनौं’ कर्मचारी सघर्ष समितिका संयोजक छलरामप्रसाद पौडेलले अनलाइनखबरसँग भने । उनले सचिवलायले आफूहरुमाथि छलछाम गरेको आरोप लगाए ।

आफ्ना मागसहित पुस ७ गतेदेखि संविधानसभा भवनमा अवरोध आन्दोलन गर्ने लिखित जानकारी संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई दिइसकेको उनले बताए । तर, मिडिया सेन्टरमा अडियो काटिएको आरोप भने उनले अस्वीकार गरे ।

माग पूरा गर्ने जिम्मा सरकारको : सभाध्यक्ष

यसैबीच संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भने सम्मेलन केन्द्रका कर्मचारीका मागबारे सरकारलाई जानकारी गराइसकेको भन्दै पूरा गर्ने जिम्मा सरकारको रहेको प्रतिक्रिया दिए ।

उनले कर्मचारीको आन्दोलनका कारण संविधानसभा बैठकको रिपार्टिङ गर्न पत्रकारलाई कठिनाई भएकोमा दुःख व्यक्त गर्दै यसको समाधान निकाल्ने आश्वासन दिए ।
कर्मचारीको मुख्य माग पूरा भइसकेको उनले बताए । स्रोतका अनुसार ८० प्रतिशत भत्ता मागेका कर्मचारीलाई उनीहरु कार्यरत शहरी विकास मन्त्रालय अन्तर्गतको विकास समितिले उपलव्ध गराइसकेको छ ।

खाना र खाजा भत्ता चाहियो

खाना र खाजा भत्ता सचिवालयले दिनुपर्ने माग यथावत रहेको पौडेलले बताए । ‘हामीले संविधानसभाको काम गरेकाले भत्ता पनि सचिवालयले नै उनीहरुका कर्मचारी सरह दिनुपर्छ’-उनले भने ।

२०६५ असारमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र संविधानसभा सचिवालयबीच ५ वर्षका लागि भवन जिम्मा लिने क्रममा यहाँ कार्यरत कर्मचारीले तलब विकास समितिबाट खाने तर, भत्ता सचिवालयले आफ्ना कर्मचारी सरह दिने सम्झौता भएको थियो ।

सोही सम्झौता बमोजिम उनीहरुले अघिल्लो संविधानसभा अवधिभर सुबिधा पाए पनि दोस्रो संविधानसभापछिको सुबिधा पाएका छैनन् । आइसिसी र संविधानभाबीच अर्को सम्झौता भएको छैन ।

कर्मचारीले गत वर्ष संविधानसभाको पहिलो बैठक माघ ८ देखिकै ८० प्रतिशत भत्ता पाउनुपर्ने माग गरेका छन् ।

सम्मेलन केन्द्रमा झण्डै ९० जना कर्मचारी रहेका छन । उनीहरु सबै करारमा कार्यरत रहेको बताइएको छ । संविधानसभामा खटिएका प्रहरी सुरक्षाकर्मीले पनि आफूहरुलाई बिभेद गरिएको गुनासो गर्दै आएका छन् । उनीहरुले ३५ प्रतिशत भत्ता पाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment