Comments Add Comment

विप्लव हिँडेपछि वैद्य क्रान्तिकारी दस्तावेज लेख्न बसे

Mohan baidhya Kiran४ पुस, काठमाडौ । मोहन वैद्यले क्रान्ति नगर्ने निष्कर्ष निकाल्दै नेत्रविक्रम चन्द विप्लबले विद्रोह गरेपछि नेकपा-माओवादीका अध्यक्ष बैद्य क्रान्तिकारी दस्तावेज लेख्न बसेका छन् ।

पार्टी विभाजनपछि गर्न लागिएको राष्ट्रिय सम्मेलनका लागि वैद्यले नयाँ दस्तावेज लेख्न सुरु गरेका हुन् । दुई वर्षअघि पार्टीको सातौं महाधिवेशनबाट ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशा अघि सारेको माओवादीमा महाधिवेशनदेखि नै सो कार्यदिशालाई लिएर अन्तरसंघर्ष सुरु भएको थियो ।

एमाओवादी नेतृत्व क्रान्तिबाट विचलित भएको भन्दै पार्टी फुटाए पनि क्रान्तिको तयारी नगरेको भन्दै विप्लव पक्ष रुष्ट थियो । क्रान्ति नै नगर्ने भए पार्टी विभाजनको औचित्य नहुने भन्दै पार्टी भित्र अन्तरसंघर्ष चर्काएका विप्लव पछिल्लो पटक ‘एकीकृत क्रान्ति’को अवधारणा अघि सार्दै पार्टीबाट अलग भई नयाँ पार्टी गठन गरेका छन् ।

विप्लवले नयाँ पार्टी बनाएर अघि बढेपछि उनी भन्दा पनि थप क्रान्तिकारी पार्टी देखाउन महासचिव रामबहादुर थापा ‘बादल’ सहितका पदाधिकारीहरु देशब्यापी कार्यकर्ता प्रशिक्षणमा ब्यस्त रहेका बेला अध्यक्ष वैद्य भने क्रान्तिकारी दस्तावेज तयार गर्न आफ्नो निवासमै ब्यस्त छन् ।
नेकपा-माओवादीको पोलिटब्युरो बैठक पुस ६ गतेदेखि बस्ने भएकाले पोलिटब्युरो बैठक बस्नुअघि नै दस्तावेज पुरा गर्ने वैद्यको तयारी रहेको स्रोतको भनाई छ । नयाँ दस्तावेज लेख्न भन्दा पनि दस्तावेज परिमार्जनका लागि अध्यक्ष जुटिरहेको नेकपा-माओवादीकी प्रवक्ता पम्फा भुसालले बताइन् ।

कार्यकर्ता तान्न दौडधुप

एकीकृत माओवादीबाट क्रान्तिकारी विचार समूह हुँदै नेकपा-माओवादी गठन गरेको माओवादी फेरि चिरा परेपछि माओवादी नेताहरु कार्यकर्ता संरक्षणका लागि देश दौडाहामा छन् । पार्टी विभाजनपछि नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेल, महासचिव बादल तथा सचिव देव गुरुङ् देश दौडाहामा छन् भने नवगठित नेकपा माओवादीका संयोजक विप्लवसहितका नेताहरु पनि कार्यकर्ता आफूतिर तान्न दौडधुप छ ।

विप्लवले नवगठित पार्टीको जिल्ला स्तरीय संगठनहरु निर्माणका लागि केन्द्रीय तहका नेताहरु परिचालित गरेका छन् । माथिल्लो तहका कार्यकर्ता फकाउने जिम्मा धर्मेन्द्र बास्तोला, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढामगर, इश्वरी दाहाललाई दिइएको छ । मगराँतको जिम्मा पाएका सन्तोष बुढाले तमुवानसमेत हेर्ने गरेका छन् ।

biplab_400वैद्यलाई शक्ति देखाइदिने विप्लवको तयारी

पार्टी विभाजनपछि पनि पार्टीमा केही असर नपरेको भन्दै हिडेका आफ्ना पूर्व नेताहरुलाई आफ्नो शक्ति देखाउन विप्लव पक्ष ब्यापक ढंगले लागेको छ ।

सवै जिल्लामा आफ्नो पक्षमा बहुमत रहेको भन्दै जनयुद्धकालिन शैलीमा उपनाम दिएर जिल्ला पार्टी पुर्नगठनमा लागेको विप्लव नेतृत्वको नवगठित नेकपा माओवादीले आगामी पुस ११ गते राजधानीमा शक्ति प्रदर्शन गर्दैछ ।

पार्टी विभाजनपछि विशेषतः वैद्य माओवादीलाई देखाउनका लागि विप्लवले राजधानीमा केन्द्रीय स्तरको सभा गर्न लागेका हुन् । खुलामञ्चमा हुने भनिएको सो सभाका लागि देशैभरबाट कार्यकर्ता ल्याउने विप्लवको तयारी छ ।

नवगठित नेकपा माओवादीका नेता सन्तोष बुढामगरका अनुसार पुस ११ गतेको कार्यक्रम भब्य बनाउन तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment