Comments Add Comment

माओवादीसँग निर्णायक वार्ता गर्ने कांग्रेस र एमालेको निर्णय

Cong Uml meet

  • बालुवाटारमा बसेको कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठक । तस्वीरः एमाले अध्यक्ष केपी शर्मा ओलीको ट्वीटर पेजबाट

४ पुस, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र एमालेले संविधानका विवादित विषयमा सहमतिका लागि निर्णायक वार्ता गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले सोमबारसम्ममा सहमति गर्ने गरी वार्ता थाल्ने निर्णय गरेको छ ।

‘भोलिबाट निर्णायक वार्ता गर्ने सहमति भएको छ । त्यसअनुसार भोलि (आइतबार) विहान १० बजे एमााओवादीसँग बैठक राखिएको छ’ कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले अनलाइनखबरसँग भने । नेताहरुका अनुसार संविधानसभामा रहेका मधेसवादी र अन्य साना दलहरुसँग पनि वार्ता र छलफल हुनेछ ।

सोमबारसम्ममा सहमति नभए प्रक्रियामा जाने दुई दलको सहमति छ । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ट्वीट गर्दै लेखेका छन्-‘भोलिदेखि नै सहमतिका लागि निर्णायक वार्ता थाल्ने र सहमतिमा पुग्न सकिएन भने प्रक्रियाबाटै माघ ८ मा संविधान जारी गर्ने कांग्रेस र एमालेको निर्णय ।’

बैठकमा सहमतिको प्रयासमा अहिलेसम्म भएको वार्ताको समिक्षा भएको थियो । ‘सबै कुरा जहाँको त्यहीँ छ । कुनै ठोस उपलब्धी भएको छैन’ खड्काले भने ।

निर्णायक आन्दोलन गर्ने प्रचण्ड मोर्चाको चेतावनी

यसैबीच एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गठवन्धनले कांग्रेस-एमालेले नौंबुँदे अडान नछाडे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

गठवन्धनमा आवद्ध सात पार्टीको शुक्रबार बसेको बैठकले सहमतिकै आधारमा संविधान जारी गर्नु पर्नेमा जोड दिएको छ । ‘कांग्रेस र एमाले आन्दोलनको मर्म अनुसारको सहमतिका लागि तयार हुँदैनन् भने दबावका लागि आन्दोलन गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौं’ सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अनलाइनखबरसँग भने ।

एमाओवादी, पाँच मधेसवादी र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीआवद्ध गठवन्धनको बैठकले सहमतिका लागि अन्तरिम संविधान बटमलाइन भएको समेत बताएको छ ।

बैठकले सचिवालयलाई आन्दोलनको खाका र सहमतिको बटमलाइनको मस्यौदा बनाउने जिम्मा दिएको छ । साथै शनिबार संविधानसभामा रहेका १९ दलको बैठक बोलाइएको छ भने लगतै २२ दलको बैठक बस्ने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment