Comments Add Comment

बाबुरामले फेरि मानुषी जन्माउलान ?

श्याम नेपाल
२००७ सालमा प्रजातन्त्र आएछ र राजा त्रिभुवनले “अब संविधान सभाबाट चुनेका व्यक्तिहरुले संविधानको निर्माण गरी सो अनुसार शासन पद्धति चल्नेछ” भनेछन् । त्यस बेला म जन्मिएकै थिइन । २००७ सालदेखि २०१५ सालसम्म न त संविधानसभाको चुनाव नै भयो न यसबारे जनताले खासै चाहना नै गरे । तर, प्रधानमन्त्री धेरै वटा फेरिए र सरकार बन्ने बनाउने कामसँगै संविधानसभाको चुनावै नगरी २०१५ सालमा आमनिर्वाचन भएछ ।Shyam-Nepalबि.स. २०१७ पछिको निर्विकल्प पञ्चायतकालीन समयमा म र मेरा दौंतरीहरु पढाईतिर लागिएको थियो र निर्विकल्प पंचायत भन्ने पद्धति कै बेला भर्खर जागिरमा मात्र प्रवेश पनि गरियो । २०३८ सालको कुरा हो, म नख्खु कारागारमा सुरक्षा दिन खटिएको बेला बाहिरपट्टी एकजना सानो छाता बोकेको एउटा केटा र केटी उभिइरहेको देखें । तर, अलिक टाढै रहेकाले मैले खासै चासो दिइन् ।

केही वर्ष पहिले नख्खु गेटबाट सी.पी.मैनाली, प्रदीप नेपाल लगायत त्यस बेला नक्सलपंथी भनिने नेताहरु त्यसै गेटबाट दुलो खनी भागेकाले मसहित १० जना त्यही ठाउँमा एरिया खाली गराई राती पनि सुत्नु पर्दथ्यो । मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, खड्ग वली लगायत धेरै जना नेताहरु ज्यान मुद्दामा नख्खु मै जेल जीवन बिताई रहनु भएको थियो । मलाई स्मरण छ एमाले अध्यक्ष खड्ग वली त्यसै वेलादेखि टेबुल टेनिस खेल्न खुब मन पराउनु हुन्थ्यो ।

उहँँाहरुलाई पक्राउ गरी थुनामा राखी कारवाही गर्ने प्रहरी निरीक्षक पनि भ्रष्टाचार काण्डमा परी केही वर्षपछि त्यसै जेलमा आइपुगे । सँगै रहँदा ती प्रहरी निरीक्षकको लत्ता कपडाको सुविधा इत्यादि पनि वली र मैनालीले मानवीय भावनाले गर्नुहुन्थ्यो ।

विद्यार्थी जस्ता देखिने केटा र केटी अलमल्ल परेर जेलभन्दा केही टाढा उभिएको देखेर मैले इसारा गरी बोलाएँ र किन आउनुभएको भनी सोधेँ । केटा मानिसले चाहिँ मोहनचन्द्र अधिकारीलाई भेट्न आएको बताए । मैले शनिवार भेट्न पाइन्न आइतबार आउनुस भन्दा आइतबारै दिल्ली जानुपर्ने भएकाले आजै भेट मिलाइदिन आग्रह गरे ।
इन्जिनियरिङ समूहको पीएचडीका लागि दिल्ली जान लागेको भन्दै उनले आफ्नो बाबुराम भट्टराई बताए । त्यसबेला बामपन्थी बन्दीहरुलाई हप्ताको दुई दिनमात्र भेट्न दिइन्थ्यो र भेटका कुराबारे अञ्चलाधीशलाई लिखित जानकारी दिनुपर्दथ्यो ।

तर, पीएचडी गर्न जान लागेको भन्ने यी बिद्यार्थीको कुरा सुनेर मलाई चाहिँ आफ्नै तजबिजी प्रयोग गरेर भेटाउने सोँच बनाएँ । पी.एच.डी.गर्दै गरेका बाबुरामसँग एकजना महिला साथी पनि थिइन, अहिले मलाई लाग्छ उनी हिसिला यमी रहिछन् ।

मोहनचन्द्र अधिकारी, बाबुराम भट्टराई, हिसिला यमी र पंक्तिकार बसेर जेलकै बाहिरी प्रांगणमा छिटो र सटीक कुरा हुँदा मोहनचन्द्र अधिकारीले माओले गरेको क्रान्ति नेपालमा गर्न सकिंदैन भनेकोसम्म मलाई सम्झना छ । बाबुरामजीले संविधान सभाको पनि केही कुरा निकाल्नु भएको थियो । तर, बाबुराम जी र हिसिला यमी कुन पार्टीमा हो, के हो ? मेलै केही थाहा पाइनँ । मोहनचन्द्र अधिकारीलाई लामो जेल बसेकोले नेपालको नेल्सन मण्डेला भनिन्थ्यो । त्यसै भएर पनि वहाँहरुलाई हेर्न विद्यार्थीलाई चासो भएको होला भन्ने लाग्यो ।

बाबुरामजीको दरिलो शिक्षा कै कारण उहाँहरुलाई चिया र विस्कुटसम्मले स्वागत गरी पठाएँ र यो राजनीतिक भेटघाट नभएकोले मैले नियमित जाहेरी पनि पठाइन । यसै बेला मैले दोस्रो चोटी संविधान सभाको जानकारी पाएँ । अब यसरी सरसरती हेर्दा राजा त्रिभुवनले घोषणा गरेको संविधानसभा कहिले पनि कसैले उच्चारण नगरेको संविधासभा बाबुरामले मोहनचन्द्रसँग कुरा गर्दा सुनें तर, संविधानसभा भनेको के हो, त्यो थाहा पनि थिएन ।

केही समय पछाडी प्रहरी प्रधान कार्यालयमा बोलाएर मानुषी नामक भारतबाट प्रकाशित हुने पत्रिकारबो जानकारी गराइयो । त्यस पत्रिकामा बाबुराम भट्टराई नामक एक बिद्यार्थीले शनिवारको दिन मोहनचन्द्र अधिकारीलाई भेटेको र चिया बिस्कुट खुवाएर पठाएको भन्ने बिबरण छापिएको भन्दै चिया बिस्कुट खुवाउने तपाईँ हो भन्दै सोधियो ।
मैले त्यसलाई स्वीकार गर्दै बिद्यार्थीले भेटन खोजेको र राजनीतिक भेट नभएकाले माथि जाहेरी नगरेको जानकारी दिएँ । त्यसपछि कुरा अगाडी बढेन ।

त्यसपछि लगातार जस्तो त्यो मानुषी नाम गरेको पत्रिका नेपाल आईरहन्थ्यो र हामी पढ्दथ्यौं पनि । बरु हिजो आज देखिंदैन । त्यसपछि मेधावी विद्यार्थी भएको कारणले बाबुराम भट्टराईको चर्चा चल्दथ्यो र पी.एच.डी. पूरा गरेकोसम्म थाहा पाएँ । २०४७ साल जनआन्दोलनपछि बहुदलको स्थापना भयो र संविधान बन्न बाँकी थियो । मेरो सरुवा गोरखामा भयो र उहाँलाई देखें । मसाल नाम गरेको कम्युनिष्ट पार्टीमा हुनु हुँदो रहेछ । उहाँले भाषण गर्नुभयो र होटलमा बसेर सुनें । यहाँ पनि उहाँले मजदूर वर्गको वकालत गर्दै संविधान सभाबारे कुरा गर्नुभयो तर, कालो संविधान चाहिंदैन, त्यसका लागि संविधासभा बाटै संविधान बनाउनु पर्दछ भन्नुभयो । यसरी अर्को चोटी संविधानसभाको नाम सुनें । भाषणको समाप्ति पछि म बसेको होटलमा उहाँलाई बोलाएर एक छिनको गफमा नख्खु जेलको कुरा पनि निकालियो र मानुषीमा मेरा कुराको चर्चा भएको र मलाई हाकिमले सोधेको कुराको पनि प्रसङ्ग चलाएँ ।

२०४७ सालको संविधान बन्यो र गणेशमान सिंहहरुले यो संविधान सबैले स्वीकार गर्नु पर्दछ र संविधानसभाबाट संविधान बन्ने स्थिति छैन भन्ने तर्कको प्रसारण हुँदा, फेरी अर्को पटक सविधानसभाको नाम सुनें । त्यस संविधान अन्र्तगत ने.क.पा.मसाल लगायत संयुक्त जनमोर्चाले पनि केही सीट पायो, नेतृत्व चाहिँ डा.बाबुराम भट्टराईले नै गर्नु भएको थियो ।

गोरखामै फेरी अर्को पटक भेट हुँदा डा.साहेवसँग मेरो जम्मा तीन पटक भेट हुनपुग्यो । त्यसपछि उहाँहरु भूमिगत हुनुभयो र धेरै पटक संविधासभाको मात्र आवाज सुनिन थाल्यो । उहाँहरु शान्तिवार्तामा आएपछि, प्रचण्ड र अरु नेतासहित उहाँसित धनगढीमा भेट भयो र संविधानसभाको चिन्ता गरेको देखियो ।

अर्को पटक उहाँ अर्थमन्त्री भएपछि भेट हुँदा सामान्य परिचयलाई मैले रिन्यूमात्र गराएँ । त्यस बेला ६०१ सदस्यीय संविधानसभा भइसकेको थियो । संविधानसभा अर्को पनि जन्मियो । त्यहाँ पनि ६०१ नै सदस्य छन् । मैले न वुझेको संविधानसभामा भनेकै ६०१ सदस्य हुनु रहेछ । राजा त्रिभुवनले भनेको संविधानसभा यही हो वा अर्को हो ? त्यसको जानकारी भएन । मानुषी भनेको डा. साहेबकी छोरी पनि छिन अरे, मानुषीको परिकल्पना धेरै पुरानो समयदेखि डा.साहवले गर्नुभएको रहेछ । संविधानसभा त अघाउन्जेल थाहा पाइयो । माघ ८ गतेभित्र डा. बाबुरामसहितको शीर्ष नेतृत्वले एउटा सुन्दर मानुषी जन्माउँछन की ? नेपालीहरुले पर्खिरहेका छन् ।

(लेखक नेपाल प्रहरीका अवकाशप्राप्त डीआईजी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment