Comments Add Comment

दैनिक १८ करोड ठग्दै आयल निगमले घटायो इन्धनको मूल्य

विनोद घिमिरे

५ पुस, काठमाडौं । भारतीय आयल निगमले नयाँ मूल्य सूची पठाएको चार दिनपछि मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो । अन्तराष्ट्रिय बजारमा कायम पेट्रोलियम पदार्थको मूल्य भारतले हरेक महिनाको १ र १५ तारिखमा नेपाल पठाउँछ । सोही मूल्य अनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्छ ।

nepal_oil_corporationस्वचालित मूल्य प्रणाली अनुसार शुक्रबार नेपालमा इन्धनको मूल्य घट्यो तर, भारतीय आयल निगमबाट नयाँ मूल्यसूची आएको चार दिनपछि मात्रै । किन त ? एक दिनमात्रै मूल्य घटाउन ढिलो गर्दा आयल निगमलाई १८ करोड रुपैयाँ नाफा हुन्छ । चार दिनपछि मूल्य घटाएर आयल निगमले ३२ करोड कुम्लाएको छ । यद्यपी ऋणमा डुबेको आयल निगमलाई ऋण चुक्ता गर्न सहज भने भएको छ ।

तर, सार्बभौम सरकारी संस्थान नेपाल आयल निगमले अन्तराष्ट्रिय बजार अनुसार तत्कालै मूल्य घटाएर राहत दिनुको साटो धेरै नाफा कमाउने उद्देश्य राखेर सर्बसाधारण नेपाली उपभोक्तालाई झन् आहत थपिदिएको छ ।

पेट्रोल एक लिटरमा ७ रुपैयाँ र डिजेल एक लिटरमा साढे ५ रुपैयाँ घट्यो भनेर उपभोक्ता खुसी भए पनि निगमले मूल्य समायोजन गर्न ढिलो गर्दा कति घाटा पर्‍यो भन्नेतिर सोंच्दैनन् । आयल निगमले मट्टितेलको मूल्य समयमा नघटाइदिँदा लाल्टिन र टुकी बाल्नुपर्ने अधिकांश नेपाली जनताको ढाड सेकिएको छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मापन ‘ब्यारेल’मा हुने गर्दछ । एक ब्यारेलमा २२० लिटर हुन्छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६३ डलर छ । अर्थात् २२० लिटर कच्चा पेट्रोल ६३ डलरमा आउँछ । नेपालीमा हिसाब गर्दा एक लिटर कच्चा तेलको मूल्य २९ रुपैयाँ पनि पर्दैन ।

कच्चा तेलको प्रशोधन, ढुवानी, चुहावटलगायतका खर्च जोडेर नेपालसम्म तेल आइपुग्दा एक लिटरको ५५ रुपैयाँ भन्दा बढि नपर्ने जानकारहरु बताउँछन् ।

तर, आयल निगमले ५५ को डबल भन्दा पनि धेरै मूल्य कायम गरेर तेल बेचिरहेको छ । शुक्रबार मूल्य घटाएपछि पेट्रोल एक लिटरको ११६ रुपैयाँ पुगेको छ । त्यसअघि पेट्रोलको मूल्य १२३ रुपैयाँ प्रतिलिटर थियो । नेपालमा पेट्रोल मासिक २० हजार किलोलिटर खपत हुँदै आएको छ । एक किलोलिटरमा १ हजार लिटर हुन्छ । यसरी हेर्दा नेपालमा मासिक २ करोड लिटर अर्थात दैनिक ६ लाख ६६ हजार लिटर पेट्रोल खपत हुन्छ । चार दिन मूल्य घटाउन ढिलो गर्दा निगमले पेट्रोलमा मात्रै ४६ लाख रुपैयाँ कमाएको छ । डिजेल, मट्टितेल र हवाई इन्धनबाट निगमले थप कमाएको छ ।

‘सरकारी सार्बभौम संस्थाको त कालोबजारी भन्दा पनि बढि भयो, पेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रिय बजारमा सन् २००९ यता कै न्यून भए पनि नेपाल आयल निगमबाट उपभोक्ता लुट्नसम्म लुटिएका छन्,’ राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले अनलाइनखबरसँग भने ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ५० प्रतिशत घटेपनि नेपाल आयल निगमले निकै कम मूल्य घटाएर उपभोक्तालाई ठगिरहेको महर्जनले बताए । उनी भन्छन्, ‘अन्तराष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजन भएको भए पेट्रोल, डिजेल र मटि्टतेलको मूल्य प्रतिलिटर ६० रुपैयाँको हाराहारीमा झर्छ, तर निगमले दोव्बर बढिमा बेचेर आर्थिक चलखेल गरेको छ ।’

अन्तराष्ट्रिय बजारमा कति मूल्य घट्यो ? त्यो अनुसार नेपालमा कति मूल्य पर्छ ? के कारणले कति मूल्य बढि पर्‍यो ? भन्ने कुरा निगमले किन सार्बजनिकसमेत नगरेको भन्दै महर्जनले आक्रोश पोखे । निगमले जनतासामु पारदर्शी व्यवहार देखाउन आनाकानी गरेको भन्दै राष्ट्रिय उपभोक्ता मन्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएको छ ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने भारतीय बजारमा भर पर्नुपर्ने बाध्यताका कारण अन्तराष्ट्रिय बजार अनुसार नेपालमा मूल्य समायोजन हुन नसक्ने बताए ।

‘हाम्रो प्रत्यक्ष सम्पर्क भारतीय आयल निगमसँग हुन्छ, हामीले त्यहि अनुसार मूल्य समायोजन गर्ने गरेका छौं, घिमिरेले अनलाइनखबरसँग भने, ‘अन्य बजार अनुसार तुलना गरेर नेपालमा मूल्य समायोज गर्न सकिदैन ।’ प्रशासनिक प्रक्रियाका कारण केही ढिलाइ भएको उनले स्पष्ट पारे ।

राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष महर्जन भने यसलाई बाहाना बनाएर ठग्ने नियत भन्छन् । ‘मन्त्रिपरिषदले सञ्चालक समितिको बैठक बस्न नपर्ने गरी मूल्य समायोजन गर्ने अधिकार दिएको छ, तर, निगमले भने कहिले सचिव छैन, कहिले बैठक बस्न सकेन, कहिले मूल्य सूची अध्ययन गर्दैछौं भन्छ,’ महर्जन भन्छन्, ‘यो सब उपभोक्तालाई ठग्ने बहानाबाजी हो ।’ उनले निगममा हुने चुहावट, आर्थिक अनियमितता र कर्मचारीहरुको अनावश्यक सेवा सुविधा कटौति गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment