Comments Add Comment

१४ वर्षमा १४ करोड खर्चेर सुनकोशीमा पुल

५ पुस, काठमाडौं । एउटा पुल निर्माण गर्न कति वर्ष लाग्छ होला ? एक वर्ष, दुई वर्ष वा धेरै भए ५ वर्ष । तर, मध्य पहाडी लोकमार्गलाई पूर्वी नेपालसँग जोड्ने सुनकोशी पुल बनाउन १४ वर्ष लागेको छ ।

१४ वर्षमा १४ करोड रुपैयाँ भन्दा बढि लगानी गरेपछि बल्लतल्ल पुल तयार भएको छ । उदयपुरको घुर्मी र ओखलढुंगाको टोक्सेल जोड्ने सुनकोसी नदीको पुलमा ७ पुसदेखि गाडी गुड्ने भएका छन् ।

‘पैसामात्र खाने खेल’

हुन त यो पुल निर्माणको ठेक्का १४ वर्षअघि नै वाइवा कन्सट्रक्सनले पाएको थियो । तर विभिन्न बहानामा पैसामात्र खाने तर पुल नबनाउने गर्दै आएको ठेकेदार कम्पनीकै कारण माथिल्लो सगरमाथाका जनताले दुःख पाएको ओखलढुंगा क्षेत्र नम्बर १ का सभासद यज्ञराज सुनुवारले बताए ।

‘राजनीतिक दलको आडमा ठेकेदारले चरम लापरवाही गरेका कारण १४ वर्षसम्म सुनकोशीमा पुल बन्न सकेन’ सुनुवारले भने, ‘मैले यसबीचमा संसदमा मात्रै ५ पटक यहि विषयमा कुरा उठाएँ, हावाले भत्काउने पुल बनाउनेमाथि कारवाही भएन ।’

भौतिक योजना तथा निर्माण मन्त्रालयले सुनकोशीमा मोटर गुड्ने पुल तयार भएकाले पुस ७ गते उदघाटनको कार्यक्रम राखेको मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताए । पुल उदघाटन भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधिले गर्नेछन् ।

यो पुल सञ्चालन भएपछि ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र भोजपुरसम्मका जनताको यात्रा सहज हुनेछ ।

दूधकोशीमा पनि ढिलाइ

उता खोटाङ जोड्न दूधकोशीमा पनि पुल बनिरहेको छ । २०५९ सालमै चार बर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौतासहित ठेक्का लागेको पुल प्राविधिक र ठेकेदार दुवैको लापर्वाहीले गर्दा ढिलाइ भएको थियो । ठेकेदार कृष्ण लामा नेपाली कांग्रेसका नुवाकोटका नेता हुन् ।

गत वर्ष ‘रक पाइलिङ’ प्रविधि प्रयोग गरी चट्टान फोरेर पुलको स्टिल ट्रस जडान गर्ने क्रममा चैत २६ गते राती हावाले पुल उडाएको थियो । जसका कारण पुल सन्चालन हुन करीव एक वर्ष ढिला भएको सभासद सुनुवारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment