Comments Add Comment

बाबुराम भट्टराईको नजरमा सामाजिक सञ्जाल

५ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री, एनेकपा माओवादीका वरिष्ठ नेता, संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा पनि सबैभन्दा बढि रुचाइनुभएका राजनीतिक व्यक्तित्व हुन् । उनले फेसबुक र ट्वीटरको प्रयोग गर्ने गरेका छन् । फेसबुक र ट्वीटर दुबैमा उनलाई पछ्याउनेहरुको संख्या ८ लाखभन्दा बढि रहेको छ । उनका कतिपय स्टाटस र ट्वीटमा लामो बहससमेत हुने गरेको छ । आफ्नो रुचीबमोजिम अध्ययनका लागि उनले ट्वीटरमा केही व्यक्ति, संस्था, प्रकाशनलाई उनले फलो पनि गरेका छन् ।

baburam-bhattaraiFINAL‘विश्व इतिहासको पछिल्लो चरण भनेको विज्ञान-प्रविधि र सूचना प्रविधिमा विकास र विस्तारको युग हो । त्यसैले हामी माक्र्सवादीहरु वैज्ञानिक ऐतिहासिक भौतिकवादी सिद्धान्तमा विश्वास गर्ने भएको हुनाले विज्ञानका पछिल्ला विकास र प्रयोगहरुलाई जीवनमा आत्मसात गर्दै सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राख्छौ’, उजले भने ‘त्यही क्रममा नै पछिल्लो चरणमा सूचना-प्रविधिको जुन ढंगको विकास भयो र इन्टरनेट, सामाजिक सञ्जालको जुन विकास भएको छ त्यसमा जोडिएर विश्वसँग आफूलाई र आफ्नो ज्ञानलाई नविनीकरण गर्ने, परिचित हुने र सामाजिक संवाद गर्ने माध्यमको रुपमा मैले सबैभन्दा लोकपि्रय रहेका फेसबुक र ट्वीटरलाई प्रयोग गर्दै आएको छु ।’

ज्ञानविज्ञानसँग साक्षात्कार गरिराख्ने र पछिल्ला गतिविधिबारे जानकारी लिने रुचीकै कारणले भट्टराई सामाजिक सञ्जालमा जोडिएका हुन् । जनसमुदायको, खासगरी युवा पंक्ति, धारणा बुझ्नको निम्ति पनि सामाजिक सञ्जालको प्रयोगलाई उनले महत्वपूर्ण ठान्दछन् । भट्टराई भन्छन्- ‘सामाजिक सञ्जालमा सहभागी हुनुको मुख्य तात्पर्यचाहिँ ज्ञान, विज्ञानका पछिल्ला आविष्कारसँग परिचित हुने, अन्तर्राष्ट्रिय गतिविधिसँग आफ्नो ज्ञानलाई नविनीकरण गर्ने र आम जनसमुदायसँग नजिकबाट जोडिने हो ।’

प्रयोगको अनुभव

फेसबुकमा विषयबस्तुका बारेमा अलि बढि लेख्न मिल्ने, फोटोहरु पनि राख्न मिल्ने र यसका प्रयोगकर्ता पनि धेरै छन्, उनको फेसबुक पेज लाइक गर्नेको संख्या पनि धेरै छ । प्रयोगका हिसाबले १४० अक्षरको सीमितताले गर्दा पढ्न, ट्वीट गर्न र चलाउन पनि अलि सजिलो हुने उनको अनुभव छ । धेरै फलोअर भएको हुनाले उनका स्टाटस, ट्वीटमाथि धेरै टिप्पणि आउने पनि गरेका छन् । उनी भन्छन्-‘मैले समय अभावका कारणले सबै टिप्पणिको प्रतिटिप्पणि गर्न, जवाफ दिन त भ्याउँदिन तर मैले सरसर्ती हेर्ने कोशिस गर्छु । पछिल्ला घटनाक्रमसँग, खासगरी ज्ञान र विज्ञानका पछिल्ला आविष्कारसँग मेरो बढि रुची छ र मैले सामाजिक सञ्जालमार्फत यी विषयमा साक्षात्कार गर्ने अवसर पाएको छु ।’

‘अन्तरिक्ष विज्ञान, जीव विज्ञान, न्युरो साइन्सलगायत विज्ञानसँग सम्बन्धित संस्था, व्यक्तित्व, प्रकाशनसँग ट्वीटरमा आफूलाई बढि जोड्ने गरेको छु । प्रतिष्ठित वैज्ञानिकहरु, चिन्तकहरुलाई पनि मैले फलो गरेको छु । त्यस्तै माक्र्सवादी विचार, साहित्य, चिन्तक, प्रकाशनहरुलाई पनि मैले फलो गर्ने गरेको छु । राजनीतिक व्यक्ति हुनुको नाताले विभिन्न देशका राजनीतिक नेताहरु र खासगरी दक्षिण एशियाका नेताहरुलाई मैले फलो गर्ने गर्छु’, आफूले फलो गरेकाहरुका बारेमा उनी भन्छन्- ‘समाचारको मुख्य स्रोतका रुपमा मिडिया र मिडियासँग जोडिएका व्यक्तिहरुलाई पनि मैले फलो गरेको छु । साथसाथै मेरो रुचीचाहिँ एउटै विषयको मात्रै भन्दा पनि धेरै विषयमा ज्ञान राख्नुपर्छ भन्नेमा पनि छ त्यसैले मैले खेलकुद, कला, साहित्य क्षेत्रका व्यक्तिहरुलाई पनि मैले फलो गर्ने गरेको छु । र मैले आफ्नो ज्ञानलाई ताजगीकरण गर्ने महत्वपूर्ण माध्यमको रुपमा पाएको छु । राजनीतिक ढंगले चाहिँ समसामयिक घटनाहरुमा आम जनताको, खासगरी युवा पंक्तिको, सोंच कस्तो रहेको भन्ने बुझ्न पनि उपयोगी पाएको छु ।’

उनले राजनीतिक व्यक्तिकारुपमा अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि दक्षिण एशियामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेलगायतलाई फलो गरेका छन् । ट्वीटर प्रयोग गर्ने केही नेपाली नेताहरुलाई पनि उनले फलो गरेका छन् । त्यस्तै उद्योग-व्यवसाय क्षेत्रका विनोद चौधरीलगायत, नेपाली सञ्चार क्षेत्रका नेतृत्व तहमा रहेकाहरु सुधीर शर्मा, किशोर नेपाल, गुणराज लुईंटेल, अखिलेश उपाध्याय, अमित ढकाललगायत, लेखक/साहित्यकारहरु खगेन्द्र संग्रौला, झलक सुवेदीलगायतलाई पनि भट्टराईले फलो गरेका छन् ।
भट्टराईले नेपाली कलाक्षेत्रका अनुप बराल, मनोज गजुरेल, निश्चल बस्नेतलगायतलाई फलो गरेका छन् । त्यसैगरी खेलकुद क्षेत्रका युवराज लामा, पारस खड्का, सुवास खकुरेललगायतलाई पनि फलो गरेका छन् । विज्ञान, अर्थ-राजनीति, सूचना तथा सञ्चार क्षेत्रका संस्था, व्यक्तित्व, प्रकाशनहरुलाई पनि भट्टराईल्े पलो गरेका छन् ।

फलोअरलाई धन्यवाद र सुझाव

शुक्रबारसम्म उनका फेसबुक पेज लाइक गर्नेको संख्या ७,४८,६९४ जना र ट्वीटरमा उनलाई फलो गर्नेको संख्या १,१४,२५२ जना छ । आफ्ना फलोअरहरुप्रति उनी भन्छन्- ‘म उहाँहरु सबैलाई विशेष धन्यवाद दिन चाहन्छु । उहाँहरुले रुचीपूर्वक दुईवटै सामाजिक सञ्जालमा मलाई फलो गर्ने र सुझाव दिने गर्नुभएको छ । त्यसलाई मैले महत्वपूर्ण मार्गनिर्देशनका रुपमा लिएको छु । मैले सामाजिक जीवनमा रहेपछि कतिपय आलोचनात्मक टिप्पणिहरुलाई अन्यथा मानेको पनि छैन ।’

सामाजिक सञ्जालका प्रयोगकर्ता र उनका फलोअरहरुलाई उनको सुझाव पनि छ । भट्टराईले भने-‘जीवनका सबै पक्षहरुमा सकारात्मक/नकारात्मक पाटाहरु हुन्छन् । त्यसैले एउटा पाटो मात्र भन्दा सबै पाटा हेरेर सन्तुलित र वस्तुनिष्ठ निचोडमा पुग्ने प्रयत्न गर्नुपर्छ । आग्रह र पूर्वाग्रहभन्दा सत्यतथ्यमा आधारित भएर विषयबस्तुलाई बुझ्नु उपयुक्त हुन्छ । हल्काफुल्का टिप्पणी र अशिष्ट पदावली प्रयोगले आफ्नै मानमर्दन गर्छ भन्ने हेक्का राख्नु राम्रो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment