Comments Add Comment

दुर्घटनामा भन्दा उद्धार र उपचारमा ढिलाइले धेरैको ज्यान जान्छ

६ पुस, काठमाडौं । सल्यान सल्लीबजारकी तीन वर्षीया टीका परियारलाई घरको आंगनमै देउसीभैलो हेरिरहेको बेला गत कात्तिक ५ गते ट्रकले किच्यो। आमा लक्ष्मीले छोरी टीकालाई उठाएर अस्पताल कुदाउने आँट गर्न सकिनन्। छिमेकीले उनलाई सल्यानकै सञ्जिवनी अस्पताल पुर्‍याए।

accident-1
दुर्घटनास्थलमा उद्दार गरिँदै । फाइल तस्वीर

विशेषज्ञ ट्रमा सेवा नभएको अस्पतालमा उपचारमा आलटालमात्रै भयो। एक घन्टा अल्मल्याएर चिकित्सकले उनलाई नेपालगञ्ज जान सुझाए। घण्टौं कुर्दा पनि बस आएन। राति अबेर नेपालगञ्जको नर्सिङ होम पुर्या‍इएकी टीकाको दाँया खुट्टा काम लागेन, काट्नुपर्‍यो। चिकित्सकले बाँया खुट्टा पनि भाँचिएकाले प्लाष्टर गरे थप समस्या आउन सक्छ भन्दै काठमाडौं पठाइदिए।

‘छोरीलाई ट्रकले किचेपछि मैले हेर्न सकिन, उठाउने कोही भएन, उपचारका लागि कहाँ लैजान भन्ने पनि थाहा भएन,’ आमा लक्ष्मीले भनिन, ‘बल्लबल्ल छिमेकीले उठाएर सञ्जिवनी अस्पताल लगे, उपचार नगरी त्यतिकै अल्मलाइयो, यता र उता गर्दै छोरी बेहोस भइसकेकी थिई, नेपालगंज पुर्‍याउँदा डाक्टरले किन ढिलो ल्याएको भन्दै हकार्नुभयो।’ टीकाको अहिले ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ।
गत साता सभासद हरिबहादुर खड्काले सवारी दुर्घटनामा ज्यान गुमाए। समयमै उद्धार र उचित उपचार पाएको भए उनको जीवन यति छोटो नहुने चिकित्सक बताउँछन्। काठमाडौंबाट बाग्लुङको बलेवा जाने क्रममा खड्का चढेको जिप बाग्लुङकै भकुण्डेमा दुर्घटनाग्रस्त भएपछि तत्काल उद्धारका लागि कोही नपुग्दा उनी एक घन्टाजति गाडीमै च्यापिए।

अचेत भइसकेका उनलाई बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पताल लगिए पनि स्वास्थ्यकर्मीको लापरबाहीले त्यहाँ सामान्य ट्रमा सेवासमेत मिलेन। टाउकोमा गंभिर चोट लागेका उनलाई काठमाडौं रिफर गरियो। प्रधानमन्त्री सुशील कोइराला चढेको सेनाको हेलिकप्टरले उनलाई पोखरा ल्याएर अलपत्र छाडिदियो।
खड्का साढे दुई घण्टा पोखरा विमानस्थलमै लडिरहे। ‘त्यो समयभित्र उहाँले विशेषज्ञ ट्रमा सेवा पाइसक्नु पर्थ्यो’, खड्काको उपचारमा संलग्न न्युरोलोजिस्ट डा. यम रोकाले भने, ‘समयमै उपचार नहुँदा उहाँले ज्यान गुमाउनुपर्यो।’ दुर्घटनाको करिब पाँच घन्टापछि काठमाडौंस्थित न्युरो अस्पताल ल्याउँदा उनी कोमामा गइसकेका थिए।
गम्भीर दुर्घटनामा परेका खड्काको उद्धार र उपचार ढिलाइले ज्यान गएको घटना सडक दुर्घटनापछिको लापरबाहीले जोखिममा पर्ने जीवनको एउटा उदाहरण हो। खड्का त लापरबाहीको सिकार बने भने देशभर हुने दुर्घटनाका घाइतेको अवस्था कस्तो होला?
मंसिर २१ गते सुर्खेतमा १८ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनामा ४९ यात्रु घाइते भए। तीमध्ये १४ जनाको घटनास्थलमै र चारजनाको समयमै उद्धार र उपचार नहुँदा ज्यान गयो। सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा विशेषज्ञ ट्रमा सेवा नभए पनि घाइतेलाई त्यहीँ पुर्‍याइयो। दुई घाइतेले उपचारकै क्रममा अन्तिम सास फेरे।
चिकित्सकले बसचालक मिनबहादुर बुढा र यात्रु पंखे दर्जीको अवस्था गंभीर भएको भन्दै नेपालगन्ज शिक्षण अस्पताल रिफर गरे। बुढाको बाटोमै ज्यान गयो। दर्जी पनि रहेनन। चिकित्सकले भने, ‘उपचारमा ढिलाइले बँचाउन सकिएन।’

पछिल्लो समय सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या अकल्पनीय देखिएको छ तर त्योभन्दा गम्भीर समस्या दुर्घटनापछि घाइतेको समयमै उद्धार र उचित उपचार नहुनु बनेको छ। समयमै उद्धार र उपचार नहुँदा ज्यान गुमाउनेको संख्या अझ बढी भएको चिकित्सक बताउँछन्।

प्रहरीका अनुसार तीन महिनायता ठूला सडक दुर्घटनामा दुई सयजनाभन्दा धेरैको ज्यान गुमेको छ भने तीन सयभन्दा बढी घाइते भएका छन्। कसैले हात, कसैले खुट्टा, कसैले आँखा गुमाएका छन्। कतिपय टाउकोको गंभिर चोटले मानसिक रूपमा असन्तुलित भएको अन्नपूर्ण पोस्टमा खबर छ ।

चिकित्सकका अनुसार दुर्घटनाका घाइतेका लागि पहिलो ६ घण्टा ‘गोल्डेन समय’ मानिन्छ। त्यतिन्जेल विशेषज्ञ सेवा पाए उनीहरू अंगभंग र मृत्युबाट बच्न सक्छन्। ढिलाइ र जथाभावी गरिने उद्धार, उपचारका लागि अस्पताल छनौट गर्न नजान्दा, चिकित्सकको बेवास्ताजस्ता कारणले धेरै घाइतेले जीवनभरिको पीडा पाउँछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment