Comments Add Comment

मरिसकेकी गर्भवती महिलालाई डाक्टरहरुले जिउँदै राखे

icu
मस्तिष्कको मृत्यु भैसकेकी एक गर्भवती महिलालाई अस्पतालले मर्न नदिएर जिउँदै राखिरहेको छ । ती महिलाका अभिभावकको इच्छा विपरित अस्पतालले १७ हप्ताको गर्भ पेटमा बोकेकी ती मृत महिलालाई जिउँदो बनाएर राखेको हो ।
घटना आयरल्याण्डको हो । नाम नखुलाइएकी ती महिलाको उमेर झण्डै २५ वर्ष रहेको बताइएको छ । आन्तरिक रक्तश्रावका कारण ती युवती दुइ हप्ता अगाडि मुलिंगारको मिडल्याण्ड क्षेत्रिय अस्पतालमा भर्ना भएकी थिइन् ।
अस्पतालको अथक प्रयासका बाबजुत उनलाई बचाउन सकिएन । उनको मस्तिष्क मृत बनिसकेपछि उनलाई मृत घोषणा गर्नुपूर्व डाक्टरहरुले पेटमा रहेको १७ हप्ताको बच्चाको बारेमा सोँचे । महिलाको मस्तिष्क मरिसकेको भएपनि उनको जिउका अन्य अंगहरुले तत्काल काम गरिरहेको हुँदा पाठेघरमा रहेको शिशु जिउँदै थियो । यदि ती महिलालाई पूर्ण रुपमा मर्न दिएमा बच्चाको पनि ज्यान जान्थ्यो र २४ हप्ता भन्दा कम उमेरको भ्रुणलाई पाठेघर बाहिर ल्याएर बचाउन पनि सकिँदैनथ्यो । त्यस्तो कठीन परिस्थितिमा डाक्टरहरुले पेटको बच्चालाई बचाउनु अहम् कुरा ठाने र उनलाई भेन्टिलेटरमा राखेर जिवनदायिनी पदार्थ दिएर बच्चाका लागि जिउँदै राखिएको आइरिस इण्डिपेन्डेन्टले जनाएको छ ।

यद्यपि ती महिलाका बुवा आमाले भने छोरीको मृत्यु भैसकेपछि पनि त्यसरी बँचाइराख्न नहुने भनेका थिए । तर परिवारका अन्य सदस्यले भने महिलालाई जिउँदै राख्न आग्रह गरेका थिए ।
आयरल्याण्डको कानूनले मानिसको बाँच्न पाउने अधिकारको डाक्टरहरुले प्रतिरक्षा गर्न पाउने व्यवस्था गरेको छ । साथै त्यहाँको संविधानले आमा र पेटभित्रको शिशुलाई समान रुपमा बाँच्न पाउने अधिकार दिएको छ ।
छोरीलाई आफुहरुको इच्छा विपरित जिउँदै राखिएको भन्दै ती महिलाका अभिभावकहरुले अदालत गुहार्ने तयारी गरेका छन् । मुद्दा अदालत पुग्यो भने आयरल्याण्डको सर्वोच्च अदालतले ती महिलालाई उनको बच्चा नजन्मिउन्जेल जिउँदै राख्ने वा नराख्ने भन्ने बारेमा फैसला गर्ने आयरल्याण्डको चिकित्सा कानून सम्बन्धि एक विज्ञले बताएका छन् ।
बच्चाको ज्यानको रक्षा गर्न मरिसकेकी महिलालाई जिउँदो बनाएर राखेका डाक्टरहरुले अब के गर्ने भन्ने बारेमा वकिलहरुसँग सल्लाह मागिरहेका छन् ।
स्मरण रहोस् महिलाले आफ्नो जिवन रक्षाका लागि समेत गर्भपतन गर्न पाउने वा नपाउने भन्ने विवाद अहिले आयरल्याण्डमा निकै चर्किरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment