Comments Add Comment

पर्यटन क्षेत्रमा पाँच गुणाले बढ्यो लगानी प्रस्ताव

नविन अर्याल

६ पुस, काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा ब्रिटिस भर्जिन आइल्यान्ड र चीनका लगानीकर्ताको आकर्षण देखिएको छ । दुई मुलुकले पाँच महिनाको अवधिमा एक अर्ब ४१ करोड १० लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

उद्योग विभागका अनुसार यस अवधिमा ब्रिटिस भर्जिन आइल्यान्डबाट ९० करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ भने चीनबाट ५१ करोड १० लाख रुपैयाँ लगानीको प्रविद्धता आएको छ । आइल्यान्डले एउटै परियोजनामा यो लगानी गर्ने जनाएको छ ।

Foregin Investment

दुई मुलुकले बलियो उपस्थिती जनाएपछि पाँच महिनामा पर्यटन क्षेत्रमा एक अर्ब ७५ करोड ७६ लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता आएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा पाँच गुणाले बढी हो ।

उत्साह थपिएको छ

अघिल्लो वर्षको पहिलो पाँच महिनामा ३५ करोड ९४ लाख रुपैयाँमात्र लगानी प्रतिवद्धता आएको थियो । पर्यटनमा विदेशी लगानीकर्ताको आकर्षणले उत्साह थपेको होटल एशोसियसन नेपालका महासचिव विनय शाह बताउँछन् ।

यस अवधिमा विभागमा २२ वटा देशका लगानीकर्ताले पर्यटनमा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । जसमध्ये ठूला परियोजनामा ९० करोड, मध्यम खालका परियोजनामा ३० करोड ७४ लाख रुपैयाँ र साना परियोजनामा ५५ करोड १२ लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ ।

साना/ठूला ५० परियोजना

साना ठूला गरी ५० परियोजनामार्फत् आउने उक्त लगानीले एक हजार ७ सय ३८ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटनमा लगानीकर्ताको आकर्षण देखिएको विभागका वैदेशिक लगानी महाशाखा प्रमुख विपिनराज भण्डारीले बताए ।

‘भर्खरैमात्र पाँचतारे होटल सांग्रिलामा रहेको क्यासिनो सांग्रिलामा लगानी गरी सञ्चालन गर्न हङकङस्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुप लागेको छ’ उनले भने- ‘पर्यटनका अन्य परियोजनामा पनि विदेशी लगानीकर्ताले चासो देखाउँदै विभागमा आइरहेका छन् ।’

पर्यटन लगानीका लागि भर्जिन एरिया मानिन्छ । सानो लगानीमा थोरै समयमा उच्च प्रतिफल हासिल गर्न सकिने हुँदा स्वदेशी विदेशी लगानीकर्ताको चासो देखिएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेको ठहर छ ।

एउटै परियोजनामा ९० करोड

पर्यटनमा सबैभन्दा बढी लगानी प्रतिवद्धता जनाउने ब्रिटिस भर्जिन आइल्यान्डबाट एउटै ठूलो परियोजनामा ९० करोडको प्रस्ताव आएको विभागले जनाएको छ । त्यस्तै, चीनबाट ठूला, साना र मध्यम गरि तीनवटै परियोजनामा लगानीको प्रस्ताव आएको छ ।

पर्यटक आगमन बढ्न नसकेपनि पूर्वाधारमा लगानी बढिरहेको छ । पर्यटनको प्रशस्त सम्भावना भएको नेपालमा भविष्य देखेर स्वदेशी विदेशी लगानीकर्ता तानिएको बताउँछन् पाटा अध्यक्ष पाण्डे ।

पाँच महिनाको अवधिमा प्रस्ताव गरिएको लगानी सबैभन्दा बढी झापा जिल्लामा जाने देखिएको छ । झापामा एउटै प्रोजेक्टका लागि ब्रिटिस भर्जिन आइल्यान्डले ९० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव विभागमा गरेको छ । उक्त परियोजनाले २ सय जनालाई रोजगारी दिने प्रतिवद्धता जनाएको छ ।

दोस्रोमा सबैभन्दा बढी लगानी काठमाडौंमा हुने विभागको तथ्यांकले देखाउँछ । प्रस्तावित लगानीमध्ये ४४ करोड ८५ लाख रुपैयाँ काठमाडौंमा, १७ करोड ५० लाख रुपैयाँ ललितपुरमा, ९ करोड काभ्रेमा, ४ करोड ५० लाख कस्कीमा, ३ करोड ५० लाख नवलपरासीका लागि गरिएको छ ।

कुन मुलुकबाट कति ?

नेपालमा सबैभन्दा बढी लगानी भित्राउने छिमेकी मुलुक भारतबाट भने जम्मा १० लाख रुपैयाँमात्र पर्यटन क्षेत्रमा लगानी प्रतिवद्धता आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पर्यटनमा भारतीय लगानी शून्य रहेको थियो ।

पाँच महिनाको अवधिमा बेल्जियमबाट ५ करोड ५८ लाख, डेनमार्कबाट ३ करोड ५० लाख, फ्रान्सबाट २ करोड, रसियाबाट २ करोड ५० लाख, बेलायतबाट ६ करोड ५० लाख, युक्रेनबाट २ करोड ५० लाख, बंगलादेशबाट २ करोड १७ लाख रुपैयाँ पर्यटनमा लगानीको प्रस्ताव आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment