Comments Add Comment

संविधानसभामा ‘चालिसे’ सभासदको अघोषित ककस

badri-yagya.-ganesh

६ पुस, काठमाडौं । शीर्ष नेताहरु सहमतिबाट बिमतितर्फ अघि बढ्न थालेपछि संविधानसभामा सबै पार्टीबाट प्रतिनिधित्व गर्ने युवा सभासदहरुले ‘सहमतिका लागि दबाब’ अभियान चलाउने भएका छन् ।

पहिलो पटक संविधानसभामा प्रतिनिधित्व गरेका चालिस वर्ष उमेर समूहका युवा सभासदहरुको अघोषित ककस बनाई उनीहरुले शीर्ष नेतालाई दबाब दिन लागेका हुन् ।

नयाँ पुस्तालाई पूरानो पुस्ताले आफ्नो व्यक्तिगत स्वार्थ नमिल्दा देशलाई नै बन्धक राखेर धोखा दिन थालेको उनीहरुको ठहर छ ।

६५ वर्ष उमेर काटिसकेका बृद्ध नेताहरुले युवा पुस्ताको भावना बुझ्न नसकेको ठहर गर्दै आ-आफ्नै पार्टीमा पनि दबाब सिर्जना गर्न आफूहरु एकजुट भएको एमाओवादी सभासद गणेशमान पुनले बताए । ‘सहमतिका लागि अझै पनि नेताहरु इमान्दार हुने हो भने समस्या छैन, हाम्रो दबाबले केही हुन्छ कि भनेर लागेका हौं’ पुनले भने ‘युवा पुस्तालाई निराश बनाउने काम गर्नु भएन’ ।

बिगत दुई सातादेखि बिभिन्न राजनीतिक दल आबद्ध ४० वर्ष उमेर समूहका सभासदहरु अनौपचारिक छलफलमा जुटेका थिए । ‘यो समूहमा ४५ वर्ष कटेका र पूराना सभासदहरु छैनन्’ एक सभासदले भने ।

शनिवार बसेको युवा सभासदहरुको अघोषित ककस बैठकले पुस १४ गते संविधान निर्माणमा सहमतिको खोजीका बारेमा विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको एमाले सभासद यज्ञराज सुनुवारले बताए । ‘संविधान अबको भावी पुस्ताका लागि बनाउने हो,युवा पुस्ताको भावना बुझ्न शीर्ष नेतृत्व चुकेको हो कि भन्ने भएको छ’सुनुवारले भने ‘हामीले पार्टीभन्दा माथि उठेर दबाब दिनुपर्छ भनेर लागेका हौं’ ।

यो समूहमा कांग्रेसबाट बद्री पाण्डे, जीवन परियार, उदय शमसेर राणा, एमालेबाट यज्ञराज सुनुवार, गोकुल घर्ती मगर, बिशाल भट्टराई लगायत सक्रिय छन् ।

त्यस्तै एमाओवादीबाट गणेशमान पुन, महेन्द्रवहादुर शाही लगायत सक्रिय छन् भने राप्रपाका परशुराम तामाङ, मालेका अइन्द्रसुन्दर नेम्वाङ लगायत छन् ।

यसअघि अघिल्लो संविधानसभामा पनि कांग्रेसका गगन थापा, एमालेका रविन्द्र अधिकारी, एमाओवादीका चन्द्रवहादुर थापा, फोरमका अभिशेकप्रताप साह लगायतले यस्तै अभियान चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment