Comments Add Comment

भारतको लीला ग्रुपले नेपालमा चारवटा तारे होटल बनाउने

leela-palace-hotel७ पुस, काठमाण्डौ । भारतको प्रतिष्ठित लक्जरी होटल चेन ‘लीला प्यालेस होटल’ ग्रुपले नेपालमा पाँचतारे डिलक्ससहित चारवटा होटल निर्माण गर्ने भएको छ ।
ललितपुरको समिट ग्रुप अफ होटल्स एण्ड रिसोर्टसँग मिलेर लीलाले काठमाण्डौसहित चार ठाउँमा तारे होटल निर्माण गर्न लागेको हो ।

प्रधानमन्त्री सुशील कोइरालाको उपस्थीतिमा गत हप्ता काठमाण्डौमा दुवै पक्षवीच होटल स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतमा ८ वटा डिलक्स होटल संचालन गरिरहेको लीला ग्रुप पहिलोपटक अन्तराष्ट्रिय क्षेत्रमा संजाल विस्तार गर्दै नेपाल आएको हो ।

‘हाम्रो पहिलो अन्तराष्ट्रिय भेञ्चरका रुपमा काठमाण्डौमा होटल विस्तार गर्न पाउँदा हामी एकदमै उत्साही र खुसी छौं’ लीला ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक विवेक नायरले भने-‘आगामी दिन अन्य अन्तराष्ट्रिय बजारमा पनि पाइला सार्नेछौं ।’

समिट ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक अमृत शाक्यले भने- नेपालमा लीला ग्रुपको प्रवेशले नेपाली पर्यटनको स्तरबृद्धिमा ठूलो भूमिका खेल्ने छ ।’
सम्झौताअनुसार काठमाण्डौंको कान्तिपथमा पहिलो पाँचतारे डिलक्स होटल-‘लीला काठमाण्डौ’ संचालन हुने छ । समिट ग्रुप स्रोतका अनुसार हाल १९०५ रेष्टुँरा रहेको निर्वाचन आयोग छेऊँको जग्गामा पाँचतारे डिलक्स होटल निर्माण हुने छ ।

प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा गत बुधबार काठमान्डाैमा सम्झाैतापत्रमा हस्ताक्षर गर्दै लीला ग्रुप र समिट ग्रुपका प्रतिनिधि ।
प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा गत बुधबार काठमान्डाैमा सम्झाैतापत्रमा हस्ताक्षर गर्दै लीला ग्रुप र समिट ग्रुपका प्रतिनिधि ।

‘आगामी ३ बर्षभित्र निर्माण सम्पन्न गरी संचालन गर्ने लक्ष्य लिएको छ’ समिट ग्रुप स्रोतले भन्यो-‘समिट ग्रुपले होटल निर्माण गर्ने छ भने लीला ग्रुपले संचालन गर्ने छ ।’

समिट ग्रुप र लीलाको साझेदारीमा लुम्बिनी, पोखरा र जनकपुरमा पनि तारे होटल निर्माण गरिने छ । लुम्बनीमार्फत् नेपाल-भारत बौद्ध सर्किटलाई जोड्नेगरी होटल निर्माण गर्न लागेको लीला ग्रुपले जनाएको छ ।

लीला काठमाण्डौको लगानी र क्षमताबारे दुवै पक्षले केही खुलाएका छैनन् । लीला ग्रुपले बिज्ञप्ति जारी गर्दै नेपालमा चारवटा होटल निर्माण गर्न लागेको पुष्टी गरेको छ । रियलस्टेट क्षेत्रमा कार्यरत प्रर्बद्धकहरुले दुई बर्ष पहिले ललितपुर कुपण्डोलको समिट होटलको स्वामित्व लिएका थिए । सो समूहले अहिले एयरपोर्ट होटल पनि संचालन गरिरहेको छ ।

के हो लीला ग्रुप ?
भारतमा डिलक्स होटल संचालनमा ख्याती कमाएको लीला ग्रुपले नयाँ दिल्ली, मुम्बई, गोवा, गरुगाव, चेन्नई, बैंगलोर, उदयपुर र कोभालममा होटल संचालन गरिरहेको छ । जयपुर, बैंगलोर, आग्रा, केरला र लखनऊमा लीला ग्रुपले निर्माण गरिरहेका होटल निकट भबिष्यमै संचालन हुनेछन् ।

सन् १९८६ मा स्थापित ‘द लीला प्यालेस होटल एण्ड रिसोर्ट’ अहिलेसम्म अन्तराष्ट्रिय बजारमा प्रवेश गरेको थिएन् । काठमाण्डौमार्फत् पहिलोपटक अन्तराष्ट्रिय बजारमा डेब्यु गरेको लीलाले अन्य मुलुकमा पनि संजाल विस्तार गर्ने बताएको छ ।

होटलमा ओइरिदै लगानी

पछिल्लो समयमा नेपालमा तारे होटलमा लगानी गर्ने क्रम तिब्ररुपमा बढिरहेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको लगानीमा काठमाण्डौको केशरमहलमा पाँचतारे डिलक्स होटल शेराटन काठमाण्डौ निर्माण भइरहेको छ । यस्तै अमेरिकी चेन होटल म्यारिओटले पनि ठमेल र बिशालनगरमा दुईवटा तारे होटल निर्माण गरिरहेको छ । ठमेलमै निर्माण भइरहेको छायाँदेवी सेन्टरले स्टारउडको एलफ्ट ब्राण्डको होटलसँग सहकार्य गरी चारतारे होटल निर्माण गरिरहेको छ ।

लुम्बिनीमा सन् २०१८ बाट क्षेत्रीयस्तरको अन्तराष्ट्रिय बिमानस्थल संचालन हुने भएपछि पछिल्लोपटक लुम्बिनीमा होटल क्षेत्रमा लगानी तिब्ररुपमा बढिरहेको छ । बिभिन्न समूहले त्यहाँ पाँचवटा पाँचतारे होटल बनाउने तयारी गरिरहेका छन् ।

यसबाहेक नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्यको लगानीमा तीनकुनेमा अर्को पाँचतारे होटल निर्माण हुँदैछ । हेलो नेपाल मोबाइलका प्रबर्धक अजेयराज सुमार्गीले पनि पाँचतारे होटल संचालन गर्ने भन्दै बिशालनगरस्थित १९ रोपनी क्षेत्रफलमा फैलिएको फ्रान्सेली राजदूतको निवास खरिद गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment