Comments Add Comment

‘चिनियाँ एप्पल’ शाओमीको आश्चर्यजनक सफलताको कथा

rise-of-xiaomi-1

प्रविधि बजार आजकल मोटामोटी साउने भेलजस्तै हो भन्दा फरक पर्दैन । कुनै ब्राण्ड रातारात सफल हुनु अनि कुनै ब्राण्ड रातारात पत्तासाफ हुनु सामान्यजस्तै बन्न थालेको छ । हेर्दाहेर्दै नोकिया, मोटोरोला र सोनी एरिक्सनहरुको सम्राज्य ढल्यो भने एप्पल, सामसुङ लगायतका कम्पनी छोटो समयमै बादशाह बने ।

यतिबेला यो साम्राज्यमा कोही त्यस्तो हटकेक छ र उसले सामसुङ र एप्पलजस्ता बादशाहको निद्रा बिथोलिनेदिने हैसियत राख्छ भने त्यो चिनियाँ एप्पलका नामले चिनिने शाओमी नै हो ।

सायद शाओमीको भाग्यमा सफलता र विवाद सँगसँगै लेखिएकाले होला, सुरुदेखि यो ब्राण्ड विवादमा फस्दै आएको छ । एप्पल, सामसुङ लगायतका कम्पनीको डिजाइन चोरेको अभियोग लागेको शाओमीलाई पछिल्लो हप्ता भारतको अदालतले बिक्री वितरणमा प्रतिवन्ध लगायो ।

स्थापना भएको ४ वर्षको वीचमा विश्वको तेस्रो ठूलो र चीनको सबैभन्दा ठूलो मोबाइल उत्पादक बनेको शाओमीको सफलताको कथा कुनै दन्त्यकथाको जस्तो लाग्छ । आक्रामक बजार नीति, झण्डै २ प्रतिशतमात्र नाफा लिएर उपभोक्तालाई सस्तोमा फोन बेच्ने उसको रणनीतिले २० प्रतिशत बढी नाफा लिने एप्पल र सामसुङको साम्राज्यमा पहिरो जान थालेको छ ।
आउनुहोस् आज हामी तपाईंलाई यही चिनियाँ एप्पल अर्थात शाओमीको सफलताको कथा सुनाउँदै छौं- 

………

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजार चीनमा स्मार्टफोनको लडाइँ विगतमा सामसुङ भर्सेस एप्पल थियो । तर, अब यो रहेन । अघिल्लो गृष्मकालबाटै शाओमीले चीनको प्रतिस्पर्धात्मक बजारमा पहिलो स्थान कब्जा गर्यो र विश्वको तेश्रो ठूलो स्मार्टफोन निर्माता बन्न सफल भयो ।

स्मार्ट डिजाइनका सस्तो स्मार्टफोन बनाएर अनलाइनमार्फत बेच्ने छरितो कम्पनीका रुपमा सन् २०१० मा स्थापना भएको शाओमी वास्तवमा स्मार्टफोनको खेल मैदानमा निकै ढीलो मात्र प्रवेश गरेको हो । एप्पलले आइफोन फोर एस ल्याउने बेला शाओमीले आफ्नो पहिलो स्मार्टफोन बजारमा ल्याएको हो ।

rise-of-xiaomi-3

तर, निकै चलाखीपूर्ण सोसल मिडिया रणनीति र व्यवसायिक योजनाका कारण शाओमीले युवावर्ग तथा ‘ट्रेण्डी’ चिनियाँहरुको उत्साहपूर्ण समर्थन हाँसिल गर्न सफल भयो ।

आगामी वर्ष सन् २०१५ मा चिनियाँ बजारमा ५० करोड गोटा स्मार्टफोन बिक्री हुने अपेक्षा गरिएको छ । यो अमेरिकाको बिक्री संख्या भन्दा तेब्बर रहेको इन्टरनेसनल डाटा कर्पोरेसनले जनाएको छ । यस्तो अवस्थामा शाओमीले विश्वको सबैभन्दा महत्वपूर्ण बजारमा आफूलाई सबैभन्दा शक्तिशाली फोन निर्माताको रुपमा स्थापित गर्ने निश्चित छ ।

यो परिदृश्यले शाओमीलाई आफ्नो ब्राण्ड विश्वव्यापी बनाउन सहयोग पुग्ने शाओमीका संस्थापकहरु, चिनियाँ व्यवसायी लि जुन तथा गुगलका पूर्व कार्यकारी लिन बिनको अपेक्षा छ ।

यद्यपि शाओमीले अन्तराष्ट्रिय बजारमै आफ्ना स्मार्टफोनहरु बेचिसकेको छ । तथापि चीन बाहिर आफ्नो चढावलाई कायम राख्न सक्छ वा सक्दैन भन्ने कुराको खास परीक्षण भने आगामी वर्ष हुनेछ । अमेरिका तथा युरोप जस्ता बजारलाई छाडेर ब्राजिल तथा भारत जस्ता विशाल विकाशशील बजारहरुतर्फ ली र लिनले आँखा लगाइरहेका छन् । इ कमर्श नेटवर्कको माध्यमबाट सस्तो तथा उच्च गुणस्तरीय फोन बिक्रि गर्दै आफ्नो चिनियाँ सफलताको पुनःसिर्जना गर्ने आशा उनीहरुको छ ।

तर, यो आशालाई यथार्थमा बदल्न चुनौती कम छैनन् । शाओमीको अहिलेसम्म पनि पर्याप्त बौद्धिक सम्पत्ति अधिकार (प्याटेन्ट) हैसियत छैन, जसका कारण यसका उत्पादन तथा प्रविधिहरु विरुद्ध अन्य प्रतिस्पर्धी कम्पनीले प्याटेन्ट अधिकारको मुद्दा हाल्ने जोखिम छ ।

केही समयअघि शाओमीले भारतमा अस्थायी प्रतिबन्धको सामना नै गर्नुपर्यो । स्वीडिस टेलिकम कम्पनी इरिक्सनको प्याटेन्ट दाबीको उजुरीपछि भारतमा शाओमीले अस्थायी प्रतिबन्ध भोगेको थियो । शाओमीका प्रतिस्पर्धीहरु बाहिर मात्र होइन, चीनमै पनि छन् । शाओमीले जस्तै सस्तो खाले स्मार्टफोन उम्दा अन्तराष्ट्रिय बजारमा पठाउने योजना उनीहरुको पनि छ ।

‘प्रयोगकर्तालाई फोन बिक्री गर्नु राम्रो सुरुवात हो, तथापि यो व्यवसायको साध्य होइन’, संस्थापक लिनले हालैको एक अन्तरवार्तामा भनेका छन्, ‘वास्तवमा यो व्यवसायको सुरुवात हो  । प्रयोगकर्ताले फोन किनेर चलाउन थालेपछि मात्र प्रयोगकर्ता र हामीलाई अतिरिक्त मूल्य सिर्जना हुन्छ ।’

rise-of-xiaomi-2शाओमी र एप्पलले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्दा गर्ने भव्य कार्यक्रमको तुलना गर्दै शाओमीलाई चिनियाँ एप्पलको उपमा दिने गरिएको छ ।

शाओमीले एप्पल र सामसुङका महंगा पर्ने स्मार्टफोन जत्तिकै गुणस्तरीय स्मार्टफोनलाई सस्तोमा उपलब्ध गराएकाले पनि यसलाई एप्पलको चिनियाँ संस्करण भनिएको हुनसक्छ । तर, अहिले शाओमी केवल ‘कपिक्याट’ भन्दा माथिल्लो हैसियतमा उक्लिसकेको छ । बिजनेस मोडेल तथा मार्केटिङमा समेत शाओमीलाई चिनियाँ बजारका सबैजसो पाहुना कम्पनीलाई पाखा लगाउन सफल भएको छ ।

‘अनलाइन फस्ट’ नीतिका कारण शाओमीले चीनमा कुनै पनि कम्पनीले पाउने भन्दा ठूलो प्रतिष्ठा कमाउन सफल भएको छ, जसलाई उसका प्रतिस्पर्धीहरुले अहिले नक्कल गर्न थालेका छन् । हुवावेइ र जेडटीइले पनि अनलाइन मार्फत आफ्ना फोन बेच्ने गर्छन् । वन प्लस तथा समरतिसानले पनि उत्कृष्ट डिजाइनका उच्च गुणस्तरीय सामानयुक्त मूल्यवान फोनलाई तुलनात्मक रुपमा सस्तो मूल्यमा बेच्ने गरेका छन् ।

यो नक्कल खतरनाक सावित हुनसक्छ । हुवावेइ र लेनोभोले लागत लाभ प्राप्त गर्नका लागि मोबाइल पार्टस् उत्पादनमा नियन्त्रणको प्रयोग गर्न सक्नेतर्फ विश्लेषकहरुले औँल्याएका छन् ।

तर, स्टाइलिस बनिरहने कुरा टिकाउन गाह्रो हुन्छ । समरतिसान कम्पनीका प्रमुख लु योंगहाओले कम्पनीका प्रडक्ट सार्वजनिक गर्ने समारोहलाई निकै रमाइलो बनाउँछन् र त्यस्ता कार्यक्रम निकै लोकपि्रय भएकाले पनि कार्यक्रममा भाग लिन समेत रकम तिर्नुपर्छ ।

शाओमीका प्रतिस्पर्धीले समेत यो कम्पनीलाई सम्मानपूर्ण व्यवहार गर्ने गरेको पक्का छ । सन् २००० मा स्थापना भएको प्रतिस्पर्धी कम्पनी मेइजुले डिजिटल म्युजिक प्लेयर उत्पादन गर्छ  यसका लक्षित उपभोक्ता तुलनात्मक रुपमा पाका तथा धनी मान्छेहरु रहेका छन् । उक्त कम्पनीका उपाध्यक्ष लि नानले शाओमीका भक्त समर्थकहरु मन पराउँछन् । उनी भन्छन्, ‘शाओमीका फ्यानहरुको उच्चस्तरको संगठन छ । उनीहरु शाओमीलाई मन पराउँछन्, जुन एक प्रकारको मूर्तिपुजा जस्तै हो ।’

शाओमीका यस्ता भक्त फ्यानमध्येका एक हुन् २४ वर्षे हान यु  । उनीसँगै दशौँ हजार अन्य फ्यानहरुले शाओमीलाई बग तथा भाइरसका बारेमा जानकारी दिनुका साथै सुझाव दिएर युजर इन्टरफेसको परीक्षण गर्न सहयोग पुर्‍याएका छन् ।

हानको व्यक्तिगत जीवन नै शाओमीकै वरिपरि घुम्छ र आफुजस्तै अन्य साथीहरु पनि भेटेको उनी बताउँछन् । फोनमा निजी तस्वीर फोल्डर सिर्जना गर्ने आफ्नो सुझाव शाओमीले कार्यान्वयन गरेकामा आफूले गौरवान्वित महसुस गरेको उनी बताउँछन् । यस प्रकारको सहभागिता आफूलाई मनपर्ने उनको भनाइ छ ।

यद्यपि शाओमीले स्मार्टफोन बिक्री गरेर केही रकम कमाएको छ । तर यसको योजना भनेको फोन मार्फत मनोरञ्जन तथा एप जस्ता सेवाहरुको बिक्रि गरेर नाफा बढाउनु हो । कम्पनीले स्मार्ट टेलिभिजन, ट्याब्लेट तथा फिटनेस ब्याण्ड जस्ता डिभाइस समेत बेच्न सुरु गरिसकेको छ ।

गुगलका पूर्व कर्मचारी एवं शाअोमीका संस्थापक लिन विन
गुगलका पूर्व कर्मचारी एवं शाअोमीका संस्थापक लिन विन

शाओमीको मार्केटिङ प्रयासले अहिलेपनि धेरैको ध्यान तानेको छ । डिसेम्बरमा भएको कार्यकारी बैठकपछि लिनले व्यवस्थापनमा एक प्रकारको सोपानगत प्रतिस्पर्धाको प्रस्ताव गरेका छन् ।

शाओमीका कार्यकारीहरु परम्परावादी चिनियाँ कार्यकारीहरु भन्दा उल्लेखनीय रुपमा फरक देखिएका छन्, जो औपचारिक सम्मेलनभन्दा बाहिर विरलै देखिन्थे । लिन, जसले पिठ्युँमा शाओमीको ट्याब्लेट बोकेका थिए, उनी थाकेर गर्लम्मै लड्छन् । उनले हार्छन्, तर यो प्रतिस्पर्धा विज्ञापनिक जित थियो । प्रतियोगिताको तस्वीर सोसल मिडियामा भाइरल भयो र चौबिस घण्टाभित्रमा सोसल मिडिया वीबोमा ३ हजार भन्दा बढिपटक शेयर भयो ।

यसको सम्पूर्ण सफलताको लागि शाओमीको सबैभन्दा ठूलो चुनौति चीन बाहिर नै छ । सेप्टेम्बर २०१३ मा कम्पनीले हुगो बारालाई भित्रायो, जो लिनका पूराना साथी थिए र गुगलमा काम गर्थे । शाओमीलाई अन्तराष्ट्रिय बजारमा विस्तार गराउने जिम्मा बाराकै काँधमा छ । प्रडक्ट लञ्च तथा पार्टीहरुका खबरलाई फैलाउन सोसल मिडियाको उपयोग गर्दै बाराले एसियाका धेरै बजार खुल्ला गरे ।

यद्यपि शाओमीको कतिपय व्यवसायिक ढाँचा चीनको विशेष चरित्रको बजारका लागि मात्र योग्य छ । तर यसले चीनबाहिर पनि काम गर्ने लिनको विश्वास छ । उनका अनुसार कम्पनीले ठूलोे जनसंख्या, विकशित इ कमर्श संरचना तथा कमजोर टेलिकम प्रदायकहरु भएको अन्तराष्ट्रिय बजारलाई लक्षित गर्नेछ ।

लिन भन्छन्, ‘मैले चीनलाई पहिलो नम्बरमा, भारतलाई दोश्रोमा, इण्डोनेसियालाई तेश्रो तथा त्यसपछि ब्राजिल र रुसलाई रोखेको छु’, उनी भन्छन्, ‘ कसिलो नियन्त्रणयुक्त आपूर्ति संजाल भएका विकशित देशहरु टप फाइभको सूचीमा परेका छैनन् ।’
लिनले पहिचान गरेका देशहरु सबैमा ठूलो जनसंख्या हुनुका साथै उनीहरुले अझै पनि उनीहरुको पहिलो स्मार्टफोन ल्याएका छैनन् । यसको अर्थ शाओमी सामु अवसर छ । तर हरेक स्थानीय बजारको मागसँग अनुकुलित हुनका लागि शाओमीले कुशलता प्रदर्शन गर्नुपर्ने विश्लेषकहरु बताउँछन् ।

भारतमा, उदाहरणका लागि अदालतले प्रतिबन्धको आदेश गर्नु अघि शाओमीले स्थानीय इ कमर्श फर्म  फि्लपकार्टसँग सहकार्य गर्ने दूरदृष्टि बनाएको थियो । यतिमात्र होइन, शाओमीले भारतका स्थानीय स्मार्टफोन निर्माता कम्पनीहरुसँग पनि संघर्ष गर्नुपर्नेछ, जो शाओमीसँगै घरेलु नायक बन्न तछाडमछाड गरिरहेका छन् ।

अहिलेका लागि लगानीकर्ताहरुले यसको अवसर मन पराएका छन् ।

rise-of-xiaomi-4पुँजी थप्ने एउटा नयाँ प्रयास सफल भएसँगै शाओमीको मूल्य ३० देखि ४० अर्ब डलर पुग्नेछ जुन लेनोभो जस्ता चर्चित कम्पनीको भन्दा बढि हुनेछ । अनि इन्भेष्टमेन्ट ब्यांकरहरुले शाओमीमा प्रेमपूर्वक आँखा लगाइसकेका छन्, कम्पनी सार्वजनिक शेयर बजारमा आउनुअघि नै । शाओमीले केही वर्षभित्रैमा आफुलाई सार्वजनिक कम्पनीको रुपमा शेयर बजार लैजाने सम्भावना रहेको बताइएको छ ।

नाम नबताउने शर्तमा एकजना इन्भेस्टमेन्ट ब्यांकर भन्छन्, ‘ब्यांकरहरुले शाओमीलाई अर्को अलिबाबा ठानिरहेका छन्  ।’

सफलताका चार सूत्र

शाओमी यसरी एकाएक सफल ब्राण्ड बन्नुमा चार मुख्य सूत्रले काम गरेको देखिन्छ । नम्बर एक, उनीहरुले निकै कम नाफा लिएर काम गरिरहेका छन् । एप्पल र सामसुङ जुन क्षमताका फोन जुन मूल्यमा दिन्छन् शाओमीले त्योभन्दा दोब्बर क्षमताका फोन झण्डै आधा मूल्यमा बेच्छ । हालै प्रकाशित एक रिपोर्टमा शाओमीले झण्डै १.८ प्रतिशतमात्रै नाफा लिने गरेको देखिएको छ । जहाँ कि एप्पल र सामसुङले झण्डै २० देखि २८ प्रतिशतसम्म नाफा लिन्छन् ।

दोस्रो, उनीहरुको प्रोडक्ट योजना निकै लक्ष्य निर्दिष्ट छ । हरेक बर्ष उनीहरुले एउटा मोडलको सेट बजारमा ल्याउँछन आक्रामक मूल्य युद्धका साथ ग्राहकसम्म पुग्छन् । एक बर्षपछि फेरि अर्को मोडलको फोन ल्याएर त्यस्तै हंगामा गर्छन् ।

तेस्रो, बिक्री र वितरणका लागि निकै कम रकम खर्च गर्छ । अरुजस्तो उनीहरुको जोड स्टोर सेल्समा पटक्कै छैन । अनलाइनमा केही घण्टाका लागि सस्तो मूल्यमा बिक्री खुला गरेर अनलाइन नै क्र्यास हुने अवस्थासम्म सिर्जना भएको छ । परम्परागत विज्ञापनमा शाओमीले सायदै खर्च गर्छ । सित्तैमा उपलब्ध हुने सोसल मिडियाको उपयोग भरपुर गर्छन् । प्रयोगकर्ताको सुझावअनुसार आफ्नो सिस्टममा सुधार गर्दै लैजान्छन् र क्रेजी फ्यानको जबर्जस्त झुण्ड तयार गर्छ ।

चौथो, शाओमीले माग र आपूर्तिको सन्तुलनलाई निकै ब्यवस्थित गर्छ । बजारमा पर्याप्त आपूर्ति व्यवस्था गर्नुपर्ने परम्परागत मान्यता विपरीत शाओमीले सुरुमा सस्तो मूल्यमा सेट दिएर क्रेजी प्रयोगकर्ताको ध्यान आकर्षित गर्छ र बजारमा अभाव जस्तो देखाइदिन्छ, जसले गर्दा उनीहरुका उत्पादन तातो समोसाजस्तै बिक्री हुन्छन् ।

न्यूयोर्क टाइम्स र मार्केट एक्सप्रेसको रिपोर्टमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment