Comments Add Comment

दूधको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढ्ने

DDC-milk
७ पुस, काठमाडौं । एकाबिहानैदेखि हरेक घरको भान्सामा चाहिने अत्यावश्यक खाद्यपदार्थ दूधको मूल्य सरकारले फेरि बढाउने भएको छ। कच्चा दूधको लागत मूल्यअनुसार ‘समायोजन’ गर्न मूल्यवृद्धि गर्न लागेको भन्दै सरकारले एक लिटरमा आठ रुपैयाँसम्म बढाउने तयारी गरेको छ।

सरकारले भनेअनुसार भयो भने अर्को सातादेखि एक लिटर दूध किन्दा उपभोक्ताले ६४ रुपैयाँ तिर्नुपर्नेछ। गत वर्ष पुसमा सरकारले दूधमा चार रुपैयाँ मूल्य बढाएर ५६ रुपैयाँ पुर्‍याएको अन्नपूर्ण पोस्टमा खबर छ ।

कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले अहिलेको लागत मूल्यअनुसार किसानलाई घाटा भइरहेकाले मूल्य समायोजन गर्न वृद्धि गर्ने तयारी गरिएको जानकारी दिए। उनले दूधको मूल्यवृद्धिका सम्बन्धमा सरोकारवाला निकायले आवश्यक अध्ययन गरी गत बुधबार मन्त्रालयमा प्रतिवेदन बुझाएको जानकारी दिए।

‘किसानलाई लागत मूल्य उपलब्ध गराउन मूल्यवृद्धि गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘व्यावसायिक रूपमा घाँसखेती तथा दूध उत्पादन हुन नसकेकाले तत्कालै लागत मूल्य घटाउन कठिन छ। किसान र उपभोक्तालाई मार नपर्ने गरी मन्त्रालयले मूल्यवृद्धि गर्ने तयारी गरेको हो, प्रधानमन्त्री कार्यालयबाट स्वीकृत भएपछि मूल्यवृद्धि हुनेछ।’

खनालले नेपालमा घाँसमा आधारित दानाको उत्पादन नहुँदा, स्वदेशी दाना उत्पादनकर्ताले भारतलगायत तेस्रो मुलुकबाट महँगोमा मकै, पिना, भटमास आयात गर्दा तथा बिजुलीमा समेत किसानलाई विशेष छुटको व्यवस्था नहुँदा लागत मूल्य बढेको बताए।

‘लागतअनुसार किसानलाई मूल्य उपलब्ध नगराउँदा अहिले उत्पादन भइरहेको दूधको मात्रा पनि घट्ने अवस्था छ। त्यही भएर किसानलाई सामान्य राहत हुने गरी मूल्य बढाउने तयारी गरेका छौं’, उनले भने।

केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले प्रतिलिटर दूधमा १३ रुपैयाँ घाटा भइरहेकाले घाटादर समायोजन गर्नुपर्ने बताए। उनका अनुसार चार प्रतिशत फ्याट र आठ एसएनएफ स्तरको दूध किसानले ३५ देखि ३६ रुपैयाँ प्रतिलिटरमा बिक्री गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment