Comments Add Comment

गाडीमा यौन दुर्व्यवहार : ‘टीन एजर’ भन्दा हजुरबा धेरै

अनिता परियार, सभासद

झण्डै एक वर्षदेखि भक्तपुरमा बस्छु । पदमा म सभासद हुँ । सार्वजनिक यातायातमै आवत-जावत गर्छु । संविधानसभामा आउन जाम कम भयो भने ३० देखि ४५ मिनेटसम्म लाग्छ, जाम भयो भने एक घण्टा लाग्छ ।

anita-pariyar
सभासद अनिता परियार

गाडीमा यति धेरै यात्रुहरु राखिन्छन् कि सुरुमा चढेपछि पछाडि सर, सर भन्छन् । सर्नुस् पनि भन्दैनन् । सर्दा सर्दै पछाडिसम्म पुग्नुपर्छ । गन्तव्य आएपछि गाडी रोक्दा छिटो ओर्लन नसक्ने भनेर थर्काउँछ । लास्टमा भइन्छ, मान्छे उभ्याएर दुबैतिर राखेको हुन्छ । अनि अगाडिको ढोकासम्म आएर निस्कन समय लाग्छ । अनि सहचालकको खप्की आउँछ ।

अर्को कुरा, नेपाली समाज कस्तो छ भने महिलालाई दुई खुट्टा उभिएको महिला मात्र देख्छ । ऊ के हो ? उसको क्षमता के हो ? हैसियत के हो ? केही हेर्दैन । मात्र शोखभोगको साधनका रुपमा महिलालाई हेर्छ ।

मेरो त हाइट पनि कम भएर होला, बसमा उभिएर यात्रा गर्दा माथि समाउँदा झुण्डिरहेको जस्तो हुन्छु । आफूलाई लडिन्छ कि भनेर बसको डण्डी समाउनुपर्ने हुन्छ । तर, मान्छेहरुको दाउ चाहिँ कताबाट हात लैजाने भन्ने हुन्छ । यो दुर्व्यवहार म स्वयंमले पटक-पटक व्यहोरेकी छु । अरु सर्वसाधारण महिलाको हालत के होला भन्ने यसबाट सहजै अनुमान गर्न सकिन्छ ।

आरामले बस्न कहिल्यै पाइएन

म प्रायः कार्यालय समयमा नै हिँड्नुपर्ने हुन्छ । त्यसैले आउँदा मात्र होइन, जाँदा पनि भिड नै हुन्छ । बिहान ११ बजे मिटिङ हुँदा १० बजे त हिँड्नै पर्‍यो । बिहान समितिहरुको बैठक हुँदा चाँडै आइन्छ । मैले अहिलेसम्म सहज ढंगले यात्रा गर्ने अवसर पाएको छैन । या त गाडी नभएर हो वा नेपालीहरु सबै व्यस्त छन्, मैले बुझ्न सकेको छैन ।

गाडीमा बसेर आनन्दसँग यात्रा गरेको अनुभूति सुनाउने अवसर नै पाएको छैन ।

यौन दुर्व्यवहारमा हजुरबा उमेरका पुरुष !

मैले धेरैलाई झापड लगाएकी छु । तर, सभासद भएपछि झापड हान्न अलिकति मर्यादाले दिएन

तपाई सुन्दै अचम्म मान्नुहुन्छ । समान्यतया महिलालाई दुर्व्यवहार गर्ने मानिसहरुले टिनेजर वा युवा होलान् भन्ने अनुमान गर्छन् । तर, कहिलेकाँही मेरा हजुरबाको उमेरका हुन्छन्, बुबाको उमेरका हुन्छन् ।

हुन त मान्छेको अनुहार हेरेर कस्तो भन्न सकिन्न तर, यसो हेर्दा भलाद्मीहरु नै जस्ता लाग्छन् । बरु टिनेजरहरु त्यस्तो देखिँदैनन् । उसको आमाको उमेर सरह भएकाले पनि हुनसक्छ, उनीहरु संयमित वा डराएको जस्तो देखिन्छन् ।

सभासदको लोगो लगाउन छाडेँ

हामीलाई देख्यो कि एउटै प्रश्न हुन्छ, ‘सभासद ज्यू माघ ८ मा आउँछ त संविधान ?

अहिले मैले सार्वजनिक यातायातमा सभासदको लोगो लगाउन नै छाडेकी छु । जब सभासदमाथि नै आक्रमण भयो, त्यसबेलाबाट ब्याचको अपमान नगरौं जस्तो लाग्यो ।

माननीयको लोगो लगाएर गाडीमा झुण्डिएर के हिँड्नु भनेर सकेसम्म म लगाउँदिन । अर्को, समस्या पनि हो । जनता आक्रोसमा छन्, यसलाई सहज ढंगबाट लिऔं ।

आजभोलि संविधानसभा भवनको गेटमा आएर लोगो लगाइन्छ । कहिलेकाँही बर्सिन्छु ।

कहिलेसम्म झगडा गर्ने ?

हुन त म एकता प्रक्रियाबाट माओवादीमा आएँ । ०५४ बाट राजनीति सुरु गरेँ । अर्थभूमिगत जीवन बिताएँ, जेल गइयो । तर, बन्दुक बोक्ने शुभअवसर प्राप्त भएको छैन । त्यो अनुभव छैन ।

तर, सार्वजनिक यातायातमा कुनै कुनै पनि दुव्र्यवहार भए म चुप लागेर बस्दिँन ।

कहिले काँही आफैंलाई नमीठो पनि लाग्छ । रिस उठ्छ । सहन सकिन्न । कि गाली गरिन्छ, कि गाडी रोकेर ओरालिन्छ । तर, पछि कस्तो लाग्छ भने म कहिलेसम्म झगडा गर्ने ?

झगडा गर्न कसैलाई पनि रहर हुँदैन । झगडा भएपछि सन्तुष्टि पनि त हुँदैन । मैले सहिँन भन्ने कुराले आत्मसम्मान त मिल्छ तर, मैले सँधै यसो किन गर्नुपर्ने भन्ने पीडाबोध हुन्छ ।

सार्वजनिक यातायातमा यात्रा गर्दा सामान्य हर्कत गर्दा ‘पर सरेर बस’ भन्छु । कहिले कति झगडा गर्नु भनेर नजरअन्दाज पनि गरिन्छ । बढी नै गर्‍यो भने कि झापड खान्छ, कि तल झर्नुपर्छ ।

मैले धेरैलाई झापड लगाएकी छु । यात्रा गर्दा धेरैले कुटाइ खाएका छन् । तर, सभासद भएपछि झापड हान्न अलिकति मर्यादाले दिएन । गाली गरियो, सहचालकलाई भनेर गाडीबाट ओराल्नसम्म लगाइयो ।

गाडीमै संविधानको प्रश्न

सार्वजनिक सवारीमा यात्रा गर्दा सार्वाधारणले चिने भने ‘सभासद ज्यू माघ ८ मा आउँछ त संविधान ? भनेर प्रश्न गर्छन् । पहिले खासै चिन्दैनथे । तर, अहिले त धेरैले चिन्न थाले । सोधिरहन्छन् ।

तर, यो प्रश्न घरबाट निस्किएपछि सुरु हुन्छ । हामीलाई देख्यो कि एउटै प्रश्न हुन्छ । उ कुन हालतमा छ ? सञ्चो बिसञ्चो केही कुरा हुँदैन । यतिसम्म कि आफ्नै भाइबहिनीहरुले फोन गर्दा समेत दिदी संविधान बन्छ त ? भनेर प्रश्न गर्छन् ।

मैले माघ ८ मा आउँछ आउँदैन भन्दिँन । यो कार्यकालमा आउँछ भन्छु । किनकि मैले त्यसबेला नै माघ ८ मा संविधान आउने सुनिश्चिता देखेको थिइँन, जतिबेलाबाट जब गणितीय हुँकारहरु आउन थाले । हुन त कतिपय ठाउँमा हामीले पनि हिजो गल्ती गरेका थियौं । तर, यो अहिले त्यो बढेर आएको छ । यसले माघ ८ मा संविधान आउँदैन भन्नेमा म प्रष्ट थिए ।

मैले यो कार्यकालमा आउँछ भन्नुको कारण चाहिँ के हो भने एउटा दलहरुबीच अझै पनि सहमतिको सम्भावना छ ।

तर, बढी सम्भावना भनेको पेलेरै जाने सम्भावना छ । हिजो माओवादीलाई आतंककारी घोषणा गर्नेहरु चुप लागेर बस्ने बाला छैनन् । भोलि के होला नहेरी पेलेर जाने सम्भावना छ । तर, म के भन्न सक्छु भने त्यो धेरै दिन टिक्दैन ।

सार्वजनिक यातायातमा सुधारको कुरा

मलाई सरकारले सित्तैमा गाडी दियो भने म चाँही धान्न सक्दिँन

एउटा सडक सुशासनको कुरा हो । तर, मलाई के लाग्छ भने महिलालाई शोखको साधनका रुपमा हेर्ने कल्चर रहेसम्म समाधान हुँदैन । न्यूनीकरण भने गर्न सकिन्छ ।

म सभासद नहुँदा नै नेपाल प्रहरीले काठमाडौंमा सादा पोसाकमा गाडीमा सुरक्षाकर्मीहरु पठाएको सुनिएको थियो । अहिले फेरि महिला, अपाङको आरक्षण सिटबारे प्रहरीले छड्के गर्न थालेको छ । यसले पनि केही सुधार देखिएला ।

तर, मुख्य भनेको सिट क्षमताभन्दा बढी यात्रु राख्न रोक्नु नै समाधान हो । एउटा व्यक्तिसँग जवरजस्त टाँसिने परिस्थिति अन्त्य भयो भने पाकेटमारको समस्या पनि अन्त्य हुन्छ । महिलालाई हात लगाउने विभिन्न दाउपेच पनि रहन्न ।

यसका लागि राज्यले साझा जस्ता यातायातहरु बढीभन्दा बढी चलाउनुपर्छ ।

उभिएर यात्रा गर्नु बाध्यता !

सबैलाई हतार हुन्छ । मलाई बैठकहरुमा आउन हतार होला । कसैलाई कार्यालय जान होला, कसैले डाक्टरसँग टाइम लिएका होलान् । समयको चापमा रहन्छन्, अनि बाध्य भएर खुट्टा टेक्ने ठाउँ नभए पनि चढ्छन् । दुर्घटना हुन्छ कि, मैले दुव्र्यवहार सहनुपर्छ कि भन्ने सोच्दैनन् । आफू जुन कामले घरबाट हिँडेको छु, त्यो हुन्छ कि हुन्न भन्ने मात्र सोच्छन् ।

सभासदलाई गाडी …

नेपाल सरकारको के कुरा गर्ने ? हामी (महिला सभासदहरु)ले यातायात मागेपछि भन्सार छुट गर्ने कुरा भयो । तर, विगतको यर्थाथ हामीसँग थियो, यद्यपि अहिलेका सभासहरु विगतको जस्तो बदनाम छैनन् ।

तर, अहिले भन्सार छुट दिँदा भोलि सभासदहरुको व्यापार नै त्यही होला भन्ने कुरा भयो ।

अर्कोतिर यो सबैले त्यो धान्न सक्दैनन् । मेरो हकमा भन्नुहन्छ भने म सक्दिँन । ड्राइभरलाई दिने तलब र तेल किन्न सक्दिँन ।

जति तलब आउँछ, त्यसमा पार्टीले लेबी लिन्छ । म महिला भएकाले महिला संगठनले लिन्छ । दलित भएकाले दलित दिने । मलाई सरकारले सित्तैमा गाडी दियो भने म चाँही धान्न सक्दिँन ।

पछि गाडी होइन, बानेश्वन नजिक आवास खोज्ने कुरा भयो । हाउजिङको कुरा भयो । तर, सबै कम्युनतिर जान चाहेनन् ।

बजेटमा महिला सभासदहरुलाई आवासका लागि भनेर रकम छुट्याइएको छ । भाषण अर्थमन्त्रीले गर्नुभएकै हो । तर, के भइरहेको छ, मलाई थाहा छैन । मैले सुनेकी छु कि तलबमा थपेर दिउँ र नजिक आउन सक्नुहुन्छ भन्ने । घरभाडा भनेर ६ हजारमा कर कटाउँदा साढे ५ हजार आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment