Comments Add Comment

खै कहाँ छ आज माओवादी ?

उदयबहादुर चलाउने (दीपक)

नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा नेकपा माओवादी जब पुनर्गठित भयो, तब नेपाली राजनीतिमा बहसको एउटा नयाँ तरंग शुरु भएको छ । विभिन्न कोण प्रतिकोणाट तर्क वितर्क शुरु भएका छन् ।

उदय चलाउने
उदय चलाउने

सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो टेलिभिजन सबैतिर बहसको एउटा प्रमुख विषय नवगठित माओवादी र उसले अघि सारेको क्रान्तिको अवधारणा बनेको देखिन्छ । बहस र प्रतिक्रियाको बिभाजनलाई दुई कित्तामा राखेर हेर्ने हो भने आशावादिता र आशङ्का प्रष्ट देखिन्छ । विशेषता र विशेषणका दृष्टिले हेर्ने हो भने केही त गालीगलौज र तुच्छ टिप्पणीहरु पनि छन् ।

विप्लवसहितको टिमले गरेको यो विद्रोह माओवादी आन्दोलनभित्र फुटको पछिल्लो एउटा कडी मात्रै हो कि यो माओवादीको साँच्चै पुनर्गठन ? यो विद्रोह माक्र्सवाद सम्मत छ या ‘विप्लववादी’ ? यो विद्रोह सामाजिक न्याय र अग्रगमनमा आधारित छ या युद्धउन्मादमा ? विद्रोहको नेतृत्वमा आवेग, मनोगत आकांक्षा र असन्तुष्टिको स्थान प्रमुख छ या यसको मूल नेतृत्व विवेक, जिम्मेवारीबोध र स्पष्ट दृष्टिकोणले गरेको छ ? यसको जवाफ मूलतः हाम्रो पार्टीका प्रमुख नेता नेत्रविक्रम चन्द(विप्लव)ले दिनुपर्छ ।

खै कहाँ छ आज माओवादी ?

माओवादी नामको कुनै पार्टी गठन गर्दैमा त्यो माओवादी भइहाल्ने भन्ने हुदैन । माओवादी भनेको कुनै व्यक्ति होइन । त्यो त प्रवृत्ति हो । वास्तविक माओवादी त त्यो थियो जो हिजो जनताको बिचमा, जनताका अधिकारहरुको रक्षाका लागि, जनताको नुन खाएर स्वयम्सेवा गर्दैथियो । जसले आफूलाई सम्पूर्ण रुपले जनताको सेवामा समर्पित गरेको थियो ।

भ्रष्टाचारीलाई कालो मोसो दलेर चारपाटा मुडेर जनअदालतको मान्यता अनुसार सजायँ गथ्र्यो । बहुविबाह गर्ने, रक्सिवाजी गर्ने, सामाजिक विभेद गर्ने, शोषण गर्ने तत्वहरुसँग जसले जनतालाई लड्न सिकाउँथ्यो र त्यसको नेतृत्व गथ्र्यो, त्यो थियो सच्चा माओवादी ।

आज माओवादी आन्दोलनमा लागेकाहरु सबै आआफ्ना घरमा फर्किसकेका छन् । निजी जिन्दगीको जंजिरमा उनीहरु दिनप्रतिदिन कैदी बन्दैछन् । यसरी हेर्ने हो भने माओवादी स्वत्व र प्रवृत्ति नै कहाँ बचेको छ र ? अझैं विडम्बनाको कुरा त के भने हिजो निजी विद्यालयहरुमा आगो झोस्दै हिँड्ने नेताजी र नेतृहरु आज रुझेको बिरालो झैं म्याउँ गर्दै महंगा बोर्डिङहरुमा आफ्ना छोराछोरीहरु पढाउन हारगुहार गर्नपुग्दा ती कसरी माओवादी हुन सक्छन् ?

घुसमा माओवादीकै नाम, कमिशनमा माओवादीकै नाम, रक्सीवाजीमा माओवादीकै नाम । लुटपाटमा माओवादीकै नाम अनि कसरी भन्ने कि यहाँ माओवादीहरु छन् ?

हो, एकीकृत नामको एउटा पार्टी छ नेपालमा । त्यसको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्छन् । ड्यास चिनारी भएको अर्को एउटा पार्टी छ । त्यसका नेता मोहन बैद्य(किरण) छन् । कोष्ट भित्र र बाहिरका अरु केही माओवादी पार्टीहरु पनि छन् यहाँ । सारमा ती कोही पनि माओवादी पार्टी होईनन् ।

आज माओवादीको स्वत्व हराएको छ । साख गुमेको छ । यी सबै धक्का र प्रतिधक्काहरुको समीक्षासहित नेत्रविक्रम चन्द(विप्लव) को नेतृत्वमा हामीले माओवादी पार्टीको पुनर्गठन अभियान थालेका मात्र हौं । हामी यो दावा गर्दैनौं कि हामी खाँटी माओवादी नै हौं ! हामी यो पनि भन्दैनौं कि प्रचण्ड, बाबुराम, किरण र वादलहरुबाट हामीले माओवादको बर्को खोसेर ल्याएकाछौं, त्यसैले हामी माओवादी हौं ।

हामी विनम्रतापूर्वक भन्न चाहन्छौं कि हामी सच्चा माओवादी बन्ने कोशिस गर्दैछौं । हामी फेरि जनताकै मानो खाने र उनको सेवामा निस्वार्थ लाग्ने प्रण गर्न चाहन्छौं । निजी जिन्दगीको जंजिर तोड्ने प्रतिवद्धता गर्न चाहन्छौं । यसर्थ, हाम्रो उद्देश्य माओवादी आन्दोलन र प्रवृत्तिको पुनर्गठन अभियान हो । यो कुनै फुट र विभाजनको कुरै होइन ।

हाम्रो अभियान माओवादी प्रवृत्ति र आन्दोलनको मात्रै पुनर्गठन पनि होइन । बरु, अर्को अर्थमा यो नेपालको जनपक्षीय, अग्रगामी र राष्ट्रवादी धाराको समेत पुनर्गठन हो ।

विद्रोह किन ?

हामी जतिबेला शान्ति र सहमतिमा प्रवेश गरेका थियौं, त्योबेला केही सामान्य प्रश्नका बाबजुद मुलतः हामी निकै आशावादी र उत्साहित थियौं । त्यो उत्साह केवल माओवादीको मात्र नभएर आम जनताको उत्साह थियो । त्यसकै परिणामस्वरुप जनताले माओवादीलाई पहिलो पार्टीको हैसियत दिएका थिए ।

माओवादी पार्टीको त्यो चुनावी विजय कोही कोहीले भनेजस्तो माओवादी फेरि जंगल नपसोस् भनेर या फेरी रोटी(चन्दा) दिन नपरोस् भन्ने डरले जनताले भोट दिएका थिए भन्ने विल्कुल होइन । यथार्थ यो थियो कि नेपाली इतिहासको एउटा अद्भुत विद्रोहमा जनताले गरेको त्याग र वलिदानी, आशा र अपेक्षा तथा उत्पीडित आवाज साँच्चै संस्थागत हुनेछ र नेपालले नयाँ काँचुली फेर्नेछ भन्ने बुझाइ नै आम बुझाइ थियो । यदि डरको स्थान कतै थियो भने त्यो शोषणको आलिशान महलमा मात्र थियो र उसले कसैगरी माओवादीलाई वुर्जुवा संसदीय मायावी जालबाट उम्कन दिनुहुँदैन भन्ने सोचकासाथ गहिरो षडयन्त्रको तानावाना बुन्दै थियो ।

आफ्नो प्रिय र आदरणीय सुप्रिम कमाण्डरको अनुहारै नदेखेर पनि वलिदानका ठूल्ठूला शिखर चढ्न तयार हुने जनमुक्ति सेनाको जत्थाबन्दी त्यही आधारभूत विश्वासकै कारणले नै आफ्ना सहयोद्धाहरु र जनताको रगत पसीनासँग साटिएका जीपीएमजी र एलएमजी अनि कोल्ट कमाण्डो र गलिलहरु कन्टेनरमा ताला लगाउन सहर्ष तयार भयो ।

तर, विडम्वना ! दिल्लीका चौरासिला कोठाहरुमा जनमुक्ति सेना र नेपाली जनताको घाँटी रेट्ने गोप्य सम्झौताहरुमा हाम्रा आदरणीय कमाण्डरले सहीछाप गरिसक्दा पनि त्यसलाई बेलैमा चिन्न नसक्नु इमान्दार माओवादी कार्यकर्ता र जनमुक्ति सेनाको बरु गल्ती त्यहाँ पो भयो कि ? समयले कठोर समीक्षाको माग गरेको छ । बरु, त्यो पो माक्र्सवादसम्मत थिएन कि ? एउटा बहसको साँच्चै जरुरत छ ।

शान्ति प्रक्रियाको सरासरी मर्म भनेको नेपाली समाजको आर्थिक सामाजिक रुपान्तरण नै थियो । विगत दशवर्षे जनयुद्धमा माओवादी पार्टीको नेतृत्वमा जनताले कब्जा गरेको जमिन्दारहरुको जमिन सेना प्रहरीको बलमा जमिन्दारलाई खुरुक्क फिर्ता गर्नु पर्ने, अझ त बाठो भएर जमिन्दारसँग मिलेर जमिन बेचेर खाने, शिक्षा र स्वास्थ्यमा भएको निजीकरण, व्यापारीकरण र माफियाकरण कायमै रहने । जबकि त्यही कुराको विरोधमा हिजो दशकौं लामो युद्ध अवधिमा जनताको मुक्ति र देशको स्वाधीनताका लागि भनेर लडेको जनमुक्ति सेनाको सिपाही खाडी राष्ट्रको लाहुरे या थोत्रो शहरको रिक्सा चालक बन्नुपर्ने विडम्बनाको दोषी को ?

के कांग्रेस, एमाले र प्रचण्ड-बाबुरामहरुले त्यति सजिलै यो प्रश्नबाट छुटकारा पाउन सक्छन् ? यसको समीक्षा माओवादी वृत्तवाटमात्र होइन कि बरु सिङ्गो नेपाली राजनीतिको सीमा समस्याको स्तरबाट गर्न जरुरी छ ।

आर्थिक सिद्धान्तको दृष्टिकोणबाट हेर्ने हो भने नेपालमा जमिनको मामला राज्यको रुपान्तरणसँग जोडिएको र परिवर्तनका प्रयासहरुमा थाती रहेको सबैभन्दा प्रमुख विषय हो । के नेपाली कांग्रेस र एमालेले कुनैबेला ‘जसको जोत उसको पोत’ भन्ने नाराकै आधारमा हतियार उठाएको इतिहास सजिलै नामेट हुन सक्छ ? त्यो दायित्वबाट काँग्रेस, एमाले र प्रचण्ड बाबुरामहरु भाग्दै जाँदाको परिणति आज हामी जे व्यहोर्दैछौं त्यो कसरी अग्रगामी हुन सक्छ ?

हो, देशमा पञ्चायतको ठाऊँमा संसदीय व्यवस्था आयो । संसदीय व्यवस्थाको ठाऊँमा आज गणतन्त्रको बहस भइरहेको छ । यो त सामान्य सुधार मात्र हो । त्यो पनि राजनीतिको तहमा मात्र । यसले नेपाली समाजको उत्पादन पद्धति र सम्बन्धमा झन् जटिलताहरु थपिरहेको छ । जर्जर बनिसकेको सामन्ती उत्पादन सम्बन्ध र दलाल राजनीतिक प्रणाली नेपाली समाजको अग्रगमनका मुख्य पहाडहरु हुन् ।

पिछडिएको उत्पादन प्रणालीअन्तर्गत उत्पादक शक्तिहरुको चरम असन्तुलन नै क्रान्तिको आधारभूत कारक हो भन्ने माक्र्सवादको सामान्य कखरालाई नजरअन्दाज गरेर जमिनको मामलाबाट भाग्न खोज्ने एमालेको ‘जनताको बहुदलीय जनवाद’ एवम् प्रचण्ड-बाबुरामहरुको ‘लोकतान्त्रिक गणतन्त्र’सामाजिक न्याय र अग्रगमनको सिद्धान्तअन्तर्गत पर्दछ या जमिनमाथिको वैज्ञानिक पुनर्विभाजन(या राष्ट्रियकरण) गर्नुपर्दछ भन्ने ‘एकिकृत क्रान्ति’को माओवादी अवधारणा सामाजिक न्याय र अग्रगमनको सिद्धान्त अन्तर्गत पर्ला ? यो बहस बुद्धिविलासको कुरा मात्र होइन । लाखौं लाख घरबार विहीन र सम्पत्ति विहीन नेपाली जनताको जीन्दगीको प्रश्न हो । नेपाली राजनीतिको केन्द्रीय विषय नै यही हो ।

आज बैंकहरु आधुनिक सुदखोरीका केन्द्र बनिरहेका छन् । न्यायालय माफियातन्त्रको गुँड बनिरहेको छ । प्रशासन लुटको अखडा बनिरहेको छ । के त्यो माओवादीको आडमा हो ? आफुलाई प्रजातन्त्रका मसिहा र राजनीतिका मुलधार ठान्ने शक्तिहरुकै आडमा होइन यो ब्रम्हलुट भएको, विगत सयौं बर्षदेखि ? नेपालको राज्यसत्ता पालैपालो भोग गरिरहेका शक्तिहरु पञ्च, कांग्रेस र एमाले नै त हुन् । एकपछि अर्को गरी भ्रष्टाचार, कमिशन, माफियागिरी, महंगी, बेरोजगारी इत्यादिको अन्त्य नभएपछि काँग्रेस, एमाले र अरुहरु छोडेर जनता माओवादी बनेका हुन् ।

यो त बाध्यता एवं विकल्पको खोज यात्रामा प्राप्त एक अर्को अवसर मात्र थियो । माओवादी पनि त्यस्तो कुनै निर्विकल्प बस्तु होइन कि जो एकपटक चिप्किएपछि छोड्नै नमिल्ने ।

माओवादीका बडेबडे भनिएका नेताहरु आज माओवादी आन्दोलनको वास्तविक जिम्मेवारीबाट भाग्दैमा जनताले नयाँ विकल्प खोज्नै नहुने भन्ने कहाँ हुन्छ र ? त्यसको ठाऊँमा नयाँ माओवादी जन्मनु या अर्को कुनै नयाँ क्रान्तिकारी शक्ति जन्मनु वस्तुगत आवश्यकता र सामाजिक अग्रगमनको नियम नै हो । अनि यहि त हो माक्र्सवाद !

हामी फुटेका होइनौं । दावाका साथ भन्छौं, यो हाम्रो पुनर्गठन अभियान हो । प्रथमतः यो माओवादी आन्दोलनको पुनर्गठन हो । दोस्रो, नेपालको जनपक्षीय, अग्रगामी र राष्ट्रवादी धाराको पुनर्गठन हो ।

वीपी र मदन भण्डारीदेखि माओवादीसम्म

नेपाली राजनीतिको विडम्बना नै भन्नुपर्छ, स्वाधीनताको विषयलाई आत्मबोध गरेर तत्कालीन राजसंस्थासँग ‘घाँटी जोड्न’ भनेर आएका विपी कोइराला उल्टो राजसंस्थाबाटै अपमानित गरिए । जेलमा सडाइए ।

महाकाली सम्झौता राष्ट्रघाती भयो भन्ने मदन भण्डारीहरु नदीमा डुबाइए । माओवादीको राष्ट्रवादी भावनालाई केही स्थान दिन सकिन्छ कि भन्ने पूर्वराजा वीरेन्द्रको वंश विनासै भयो ।

नेपाली कांग्रेसले आफ्नो विगतको गहिरो समीक्षा गर्नुपर्छ भन्ने बुझाइ सहित विपीको ०३०/०३५ को कदम राजसंस्थाले बुझ्न सकेन । मदन भण्डारीको हत्या प्रकरण तत्कालीन दरवार, काँग्रेस र अझ त एमाले भित्रकै भण्डारीका व्यक्तिगत प्रतिश्पर्धीहरुका लागि ‘कुचोले बढार्नुपर्ने कसिंगर’भनेजस्तै भयो ।

त्यसैगरी विगतका गल्तिहरुको समीक्षा सहित ०५५/०५७ वरिपरिको तत्कालीन राजा वीरेन्द्रको ब्यवहार संसदवादी दलहरुले बुझ्न सकेनन् । जनमुक्ति सेनाका हतियार कण्टेनरहरु नेपाली सेनाले जुरुक्क उठाउदा काँग्रेस, एमालेहरुलाई आनन्द त भयो नै । प्रचण्ड-बाबुरामहरु समेत त्यसको श्रेय लिन तँछाड र मछाडको दृश्य झन् दर्दनाक थियो । यही दुरदृष्टिको अभावका कारण नै नेपाली राजनीतिले ठूल्ठूला दुर्नियतहरु व्यहोर्दै आइरहेको छ ।

यि त भए मरेका, मारिएका र पछारिएकाहरुका कथा-व्यथा । जिउँदा भनिएकाहरु हामी सबैको स्थिति रोमाञ्चकारी भन्ने कि विष्मयकारी भन्ने ? प्रधानमन्त्रीदेखि सभासदसम्मको सुचि, सचिवदेखि प्रमुख सचिवसम्मको सुचि, कर्णेलदेखि सेनापति सम्मको सुचि, एस्एस्पी देखि आइजीपीसम्मको सूचि हामीले बनाउनु पर्दैन ।

माथि भनिएका तमाम् घटना परिघटनाहरुको नेपाली सत्ता राजनीतिसँग कुनै सम्बन्ध छैन ? किन मारिन्छन् भीमदत्तहरु पटक-पटक नेपाली इतिहासमा ? किन हुन्छन् पटक-पटकका सम्झौता र धोका ? के नेपाली राजनीतिले यसको समीक्षा गर्नुपर्दैन ?

स्वाधीनता र समृद्धि भन्नेकुरा विश्व इतिहासमा त्यति सहज विषय रहेको छैन । अझ त नेपालको इतिहासमा यो असाध्यै महंगो र कष्टसाध्य भईसकेको छ । त्यसकै जवाफस्वरुपको एउटा इमान्दारीपूर्ण प्रयास हो हाम्रो ‘विद्रोह’ !

यसर्थ, माओवादी आन्दोलनमा देखा परेको गम्भीर प्रकारको विचलन र नेपाली समाज र राजनीतिमा व्याप्त विसंगतिहरुका विरुद्ध हामिले विद्रोह गरेकै हौं । हाम्रो विश्वास यो हो कि असल माओवादीहरुको वास्तविक ध्रुवीकरण शुरु भइसकेको छ ।

नेपाली राजनीतिका कुँडाकर्कटहरु एकातिर र नेपाली जनताको स्वाधिनता एवं स्वतन्त्रता चाहनेहरु अर्कोतिर वास्तवमै कित्तावन्दि शुरु भयो अब । यो नै आजको वास्तविक क्रान्ति हो र यो नै नेपाली जनताको विजय अभियान हो । नेपाली जनताको विजय नै माओवादीको विजय हो ।

(लेखक राष्ट्रिय युवा जनस्वयम्सेवकका केन्द्रीय अध्यक्ष तथा नेकपा माओवादीका केन्द्रीय सदस्य हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment