Comments Add Comment

एमाओवादीमा पुराना र नयाँको विवाद बढ्यो

७ पुस, मोरङ । कोशी-हरैंचा नगरपालिकाको बिराटचौक बजारमा एमाओवादी नेता नवराज चापागाईको चारतले पक्की घर छ । घरैमा पार्टी कार्यालय छ ।

UCPN MAOIST CADERएमाओवादी अध्यक्ष प्रचण्डले यही घरमा केही महिनाअघि खाना खाएका थिए । कतिपयले कार्यकर्ताले यो घरलाई ‘पेरिसडाँडा’ भन्ने गरेका छन् । यो घरका घरपति नवराज एमाओवादीका नगर कमिटी इञ्चार्ज हुन् ।

नवराज जनयुद्धकालीन माओवादी होइनन् । तर, उनको परिवारका एक सदस्य जनयुद्धकालमै माओवादी थिए । नवराज भने घरजग्गा कारोबार लगायतका व्यवसायमा थिए । अहिले उनी पूर्वसभासद गोपी अछामीसमेत संलग्न रहेको कृषि व्यवसायको अध्यक्ष छन् । जनयुद्धपछि पार्टीमा लागेका भए पनि उनी पार्टीमा निकै सक्रिय र उर्जाशील देखिन्छन् ।

उता जनयुद्धकालमा जनमुक्ति सेनामा लागेका र जेलसमेत परेका केराबारी-९ देवीझोडाका खगेन्द्र बस्नेत (मौसम) चाँहि यतिबेला एमाओवादी पार्टीबाट निराश, जिम्मेवारीविहीन अनि निश्क्रिय बनेका छन् ।

मौसममाथि घडेरी कारोबारमा लागेको आरोप छ । तर, घरजग्गा व्यवसाय गरिसकेका नवराजको छवि भने राम्रो व्यवसायीका रुपमा स्थापित छ । नयाँ कार्यकर्ता भनिएका नवराज पार्टीमा सक्रिय छन् । पुराना भनिएका मौसम निश्क्रिय छन् ।

नयाँ र पुरानाको विवाद

मोरङका नवराज चापागाई र खगेन्द्र बस्नेत दुई प्रतिनिधि पात्र मात्रै हुन् । एमाओवादी पार्टीभित्र यतिबेला नयाँ र पुराना कार्यकर्तावीचको अन्तरविरोध तीब्र बनेको छ ।

जनयुद्धमा लागेका कार्यकर्ताले नयाँ कार्यकर्तालाई ‘चैते’ को आरोप लगाउने गरेका छन् । नयाँले चाँहि पुराना कार्यकर्ताको कार्यशैली सही नभएको र काम गर्ने ढंग नभएको बताउने गरेका छन् । यो अन्तरविरोधले मोरङमा एमाओवादी पार्टी आक्रान्त देखिन थालेको छ ।

‘कहिलेकाँहि त दिक्क लाग्छ, पार्टी सार्टी छाडिदिउँ कि जस्तो लाग्छ,’ नवराज भन्छन्, ‘तर समाज परिवर्तनको जिम्मेवारीले गर्दा पार्टीमा लाग्ने प्रेरणा मिलेको छ ।’

पुरानामाथि पेलाइ

पार्टीभित्र नयाँ कार्यकर्ताको सक्रियता बढेसँगै पुराना जनयुद्धकालीन कार्यकर्तामाथि विपक्षीको प्रहार बढ्न थालेको छ । स्थानीय वन समूहको आपूर्ति समितिमा बसेका मौसममाथि वन कार्यालयमा मुद्दा परेपछि  उनी गाउँबाट विस्थापित बनेका छन् ।

सामुदायिक वनमा भ्रष्टाचार गर्ने एमाले कार्यकर्ताहरुलाई पार्टीले संरक्षण गरे पनि निर्दोष एमाओवादी कार्यकर्तालाई नेताले संरक्षण नगरेको स्थानीयको गुनासो छ । नवराज भन्छन्- ‘आफू पनि त ठीक हुनुपर्‍यो नि ।’

तर, जनयुद्धमा योगदान दिएका कार्यकर्तामाथि विपक्षीले दुख दिँदा पार्टीले संरक्षण गर्नुपर्ने स्थानीय कार्यकर्ता बताउँछन् । ‘एमाले र कांग्रेसले माओवादीलाई अपराधी सावित गर्न खोज्दा पार्टीले मौसमजस्ता कार्यकर्ताको संरक्षण गर्न सकेन, केराबारी ९ का एमाओवादी कार्यकर्ता भगिरथ भट्टराई विवेककोे गुनासो छ ।

उता एमाओवादी मोरङका संगठन विभाग प्रमुख निर्मल किराती पार्टीभित्र नयाँ र पुरानावीचको अन्तरविरोध माओत्सेतुङकै पालादेखि हुने गरेको भन्दै दुबैवीच एकता हुनुपर्ने बताउँछन् ।

पुनर्जागरणको प्रयास

यसैवीच गाउँ गाउँमा निराश बनेर पलायनको स्थितिमा पुगेका कार्यकर्तामा आशा भर्न एमाओवादी मोरङले प्रयास सुरु गरेको छ । शनिबार उत्तरी मोरङको केराबारी बजारमा एमाओवादीले तीन गाविसको संयुक्त प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै एमाओवादी जिल्ला अध्यक्ष गोपी अछामीले पार्टीले निर्वाचनमा पराजय ब्यहोरे पनि पुनः शक्ति आर्जन गर्ने दाबी गर्दै कार्यकर्तालाई निराश नबन्न आग्रह गरे ।

प्रशिक्षणमा सहभागी कार्यकर्ताले माथिका नेताहरुलाई झगडा नगर्न र मिल्न सुझाव दिए । माथिका नेताहरु नमिल्दा तलका कार्यकर्तामा निराशा छाएको कार्यकर्ताले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment