Comments Add Comment

दलाललाई खुल्लामञ्चबाट च्यालेञ्ज दिन्छौं

 पूर्वपर्यटनमन्त्री एवं विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर बिक आइतबार अपरान्ह बुद्ध एयरको पछिल्लो सीटमा भेटिए । बिराटनगरबाट काठमाडौं आइरहेका उनी प्लेनबाट ओर्लिएर भीआइपी कक्षमा छिरे ।

भीआइपी पक्षमा फुत्त पसेका एमाले नेता केशव बडालले बिकलाई ठाडो एवं हेपेको भावमा सोधे- ‘के छ हौ कामरेड ? फेरि बन्दूक बोक्ने भन्ने सुन्दैछु, क्या हो कुरो ?’

माओ दिवसको अवसर पारेर खुल्लामञ्चमा ११ गते विप्लव समूहले गर्न लागेको शक्ति प्रदर्शनको तयारी गरिरहेको छ । त्यसैको व्यवस्थापनका लागि पूर्वबाट राजधानी आएका प्रवक्ता बिकसँग अनलाइनखबरले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भीआइपी कक्षमा गरेको संक्षिप्त कुराकानी :

Khadka-bahadur-bk,-mao-leader
प्लेनमा भेटिनुभयो, कहाँ जानुभएको थियो ?

– यहाँहरुलाई थाहा छँदैछ, हामीले किरणजीहरुसँग विद्रोह गरेर अलग पार्टी बनायौं । यसलाई देशभरि व्यवस्थापन गर्ने र संगठनलाई सेटिङ गर्ने सन्दर्भमा मंसिर २७ गते पूर्वतिर गएको थिएँ, आज फर्किँदैछु । हामी पुस ११ गते माओ दिवस पारेर काठमाडौंमा ठूलो ‘डेमोस्ट्रेसन’ गर्दैछौं । त्यसैको तयारीका क्रममा म यता आउँदैछु ।

पुस ११ गते खुल्लामञ्चको प्रदर्शन कस्तो हुन्छ ?

– यो देशमा माओवादी विचार, माओवादी शक्ति र माओवादी क्रान्तिले अहिलेको राजनीतिक परिस्थिति खडा गरेको हो । यसलाई हामी क्रान्तिकारी परिस्थिति भन्छौं । यो परिस्थिति माओवादी क्रान्तिले खडा गर्‍यो । अहिले यसको विरुद्धमा यो देशका दलालहरुले षड्यन्त्र गर्न थाले त्यसैलाई च्यालेञ्ज गर्न, जनतालाई अपील गर्नका निम्ति त्यो कार्यक्रम आयोजना गरिएको हो ।

खुल्लामञ्चमा देशभरिका कार्यकर्ता उतार्नुहुन्छ कि ?

– प्रतिनिधिमूलक कार्यकर्ता त देशैभरिबाट आउँछन् । अलि बढी काठमाडौं र वरिपरिका जिल्लाबाट आउँछन् ।

नयाँ पार्टी बनाएपछि वैद्य र प्रचण्डपक्षबाट पनि आइरहेका छन् भन्ने सुनिन्छ, के छ तपाईहरुको स्थिति ?

– वैद्यजीका बारेमा त म धेरै भन्न चाहन्न । हामीले पहिले प्रचण्डजीको नेतृत्वमा क्रान्ति सफल होस् भन्ने चाहेको हो । प्रचण्डले गर्नुभएन । त्यसपछि हामी किरण दाइको नेतृत्वमा १० वर्षको जनयुद्धका उपलब्धिको रक्षा गर्न चाहन्थ्यौं । त्यसैकारण किरण दाइको नेतृत्वमा हामीले माओवादी पार्टीको पुनर्गठन गरेका हौं । तर अढाइ वर्ष भयो, किरण दाइले सक्नुभएन ।

प्रतिक्रान्तिका सबै हस्तक्षेपलाई रोक्ने माओवादी पार्टीको दायित्व र भूमिका थियो । यसमा लिडरसीपले पहल नलिएपछि हामीले किरणजीको नेतृत्वबाट सम्भव हुँदैन भन्यौं । विप्लवजी र हाम्रो दिमागमा नेपाली क्रान्तिको एउटा खाका छ । किरण दाइहरुले पनि सोचिरहनुभएको होला भन्ने हामीलाई लागेको थियो । हामी यसलाई निर्विवाद रुपमा नेपालमा एकपटक प्रयोग गर्न चाहन्छौं ।

यही कारणले हामी किरणजीहरुसँग अलग भयौं । अलग भएपछि देशैभरि माहौल सिर्जना भएको छ । किरण दाइहरुहरु सँग त अब हाम्रो तुलना हुँदैन । १० वर्ष जनयुद्ध लडेका र त्यसलाई साथ दिएका आम नेपाली जनतामा धेरै ठूलो उद्धेलन र आशा पैदा भएको छ । बाँकी त हाम्रो काँधमाा यस्तो जिम्मेवारी आएको छ कि हामीले यसलाई व्यवस्थापन गर्नुपर्ने छ । कसरी यसलाई इमान्दारितापूर्वक नेतृत्व गर्ने ? किनभने जनताले संघर्षबाट धोका पाएपछि केही प्रश्न र आशंकाहरु गरेका छन् ।

उसोभए वैद्य माओवादीभन्दा विप्लवको पार्टी ठूलो भयो भन्दा हुन्छ ?

– हामीलाई कत्रो होला भन्नु त छैन । तर, देशैभरि माहौल हाम्रो विप्लवजीको नेतृत्वमा नेकपा माओवादीमा खडा भएको छ ।

पूर्वी नेपालमा चाँहि तपाईहरु कमजोर हो ?

– पूर्वतिर हामी कमजोर हैन । अलिकति लिम्बुवानमा केही साथीहरुले गडबडी गर्दा थप हामीले मेहनत गर्नुपर्ने भएको छ । म अहिले भर्खरै पूर्व गएर आएँ, किरात प्रदेश टोटल हाम्रो कन्ट्रोलमा छ । कोचिलामा म तीनवटा कार्यक्रममा आफैं सहभागी भएर आएँ, त्यहाँ धेरै राम्रो छ । लिम्बुवानमा राम्रो बन्दै गएको छ । ११ गतेको कार्यक्रम भ्याएपछि म त्यहाँ जान्छु । विप्लवजीहरुलाई साथीहरुले ताप्लेजुङतिर छिर्नै दिएका छैनन् ।

तपाईले विप्लवको दिमागमा क्रान्तिको खाका छ भन्नुभयो, बाहिर ‘एकीकृत क्रान्ति’ भन्ने गर्नुभएको छ, के हो त्यो खाका ?

Khadka-bahadur-bk,-mao-leader-1– यो अलि ठूलो विषय हो । पत्रकार साथीहरुलाई उत्तर दिँदैमा यो पर्याप्त भइहाल्ने पनि होइन । तर, यसको सार के हो भने एक्काइशौं शताब्दी हाम्रो क्रान्तिले सेट ब्याक खानुका पछाडि केही कारण छन् । यसमा साम्राज्यवादले ९० को दशकपछि प्रयोग गरेको रणनीतिले काम गरेको छ । यसलाई क्रस गर्ने विचारको विकास गर्ने कम्युनिष्ट पार्टी निर्माणको च्यालेञ्ज छ ।

यो चुनौतीको सामना गर्न हामीले मार्क्सवाद लेनिनवाद माओवादमाथि नयाँ अनुसन्धान नगरिकन अहिलेको क्रान्ति सम्भव छैन भन्ने हाम्रो निश्कर्ष छ । यही निश्कर्षसहित विप्लवजीले अहिले पेश गरेको एकीकृत क्रान्तिको कार्यदिशा अगाडि आएको छ ।

के हो यो एकीकृत क्रान्ति ?

दश वर्षको जनयुद्धका उपलब्धीहरुको रक्षा गर्नुपर्छ । बाँकी क्रान्ति पूरा गर्नुपर्छ । मालेमावादको बेसमा टिकेको हुनुपर्छ । नेपाली विशेषता र मौलिकताको सम्बोधन गरेको हुनुपर्छ । फौजी र जनसंघर्षका पक्षहरु पनि एकाकार भएको हुनुपर्छ ।

अन्तरिम राष्ट्रियता र बाह्य राष्ट्रियता पनि यसमा अन्तरनिहीत हुनुपर्छ । वर्ग र समुदायको कुरा पनि एकाकार भएको हुनुपर्छ । हाइटेक र लो टेक पनि एकाकार भएको हुनुपर्छ । यसलाई हामीले यति भनौं कि राम्राज्यवादका विरुद्धको सर्वहारा रणनीतिका रुपमा हामीले यसलाई विकसित गर्न खोजेका छौं । यसमा नेपालका बुद्धिजीवीहरु र तपाई पत्रकार साथीहरुको पनि मिहेनत जरुरी छ ।

तपाईहरुको कार्यनीतिक नारा पनि संविधानसभा विघटन र सर्वपक्षीय सम्मेलन भन्ने नै देखिन्छ । वैद्य माओवादी र तपाईहरुमा के फरक भयो र ?

– यसमा त आकाश पातालको फरक छ । हामी सँगै हुँदा राष्ट्रिय राजनीतिक सम्मेलन भनेका थियौं । तर, वैद्यजीहरुको कार्यनीति त सरकारमा जाने र संविधानसभामा रहेका दलहरुसँग आफ्नो स्पेस खोज्ने दिशातिर गयो । हाम्रो त्यस्तो होइन । हाम्रो अभियान भनेको क्रान्तिको कार्यभार पूरा गर्ने आधार तयार पार्नेतिर सम्बन्धित छ ।
दशवर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमार्फत अभिव्यक्त जनताका नारालाई संवैधानिक स्वरुप दिने अनि त्यो संविधानमार्फत राज्य र शासन व्यवस्थालाई चेञ्ज गरिदिने भन्ने हाम्रो उद्देश्य थियो ।

हाम्रो भनाइ के हो भने कांग्रेस र एमालेले संविधान निर्माण विरुद्ध षड्यन्त्र गर्दैछ । हाम्रो कार्यनीतिले उनीहरु शान्ति र संविधानको लिकमा आउन् भन्ने हो ।

विप्लव समूहले हिजोको जस्तो जनयुद्ध पनि नगर्ने, जनविद्रोह पनि नगर्ने रे, त्यसैले तपाईहरुको लाइन नै स्पष्ट भएन भन्ने आरोप छ नि ?

– अहिले हामीले जुन एकीकृत क्रान्तिको कार्यदिशा अगाडि सारेका छौं, यो प्रारम्भिक छ । यो सम्वृद्ध भइसकेको छैन । हामी सँगै महाधिवेशन गरेर यसलाई फाइनल गर्न चाहन्थ्यो । तर, किरण दाइहरु आतंकित हुनुभयो । त्यतातिर जाने हिम्मत नै गर्नुभएन । अब हामी पुसको अन्तिम सातामा राष्ट्रिय सम्मेलन गर्दैछौं, त्यो राष्ट्रिय सम्मेलनमा पार्टी पंक्तिभित्र र बाहिर बहस गरेर त्यसलाई फाइनल गर्न चाहन्छौं । यो जुन कार्यदिशा हामीले प्रस्तुत गरेका छौं, हामीले एक्काइशौं शाताब्दीको क्रान्ति गर्दैछौं ।

उहाँ (वैद्य) हरु चाँहि कि लेनिनको मोडेलबाट हुनुपर्‍यो भन्नुहुन्छ, कि त माओको मोडेलबाट हुनुपर्‍यो भन्नुहुन्छ । हाम्रो भनाइ के छ भने त्यो मार्क्सवाद होइन, त्यो त यान्त्रिकता हुन्छ । त्यो जडता हुन्छ । त्यसको जगमा टेकेर नेपालको विशेषतामा क्रान्तिको विकास गर्नु नै मार्क्सवाद हो । जनयुद्ध वा विद्रोहमात्रै भन्नु अन्धानुकरण मात्रै हो ।

वैद्यजीहरु पनि राष्ट्रिय भेलाको तयारीमा हुनुहुन्छ, तपाईहरु एकै ठाउँ हुने सम्भावना सकियो कि बाँकी छ ?

छैन । त्यो त अहिले सम्भव छैन । भर्खरै हामी अलग भएका हौं । अब हामीले क्रान्तिको पहलकदमी अघि सार्दा नेपालका इमान्दार क्रान्तिकारीहरु एक ठाउँमा आउँछन् । त्यसभित्र एमाओवादी र वैद्य माओवादीका इमान्दार क्रान्तिकारीहरु हामीतिर आउँछन् । तर, नेताहरुको के हुन्छ भन्ने त हेर्नुपर्छ ।

तपाईहरु भूमिगत हुने भनेको हैन ?

– हामी अलग भइसकेपछि अलि बढीचाँहि किरणजीसँग भएका साथीहरुले हल्ला चलाउनुभयो । त्यसपछि एमाओवादीका साथीहरुले पनि चलाउनुभयो । त्यसपछि मिडियामा पनि गइहाल्यो । सरकार, कांग्रेस र एमाले अलि बढी ‘प्रोभोक’ पनि भए । अस्ति नाचघरमा पत्रकार सम्मेलन भइसकेपछि क्लियर भयो जस्तो लाग्छ । जहाँसम्म भूमिगत र खुल्लाको कुरा छ, यो सैद्धान्तिक विषय छैन । अहिले हामी टेबलमा छौं ।

फागुन १ गतेदेखि तपाईहरुले भाटे कारवाही सुरु गर्ने रे नि ?

यो अलि बढी प्रचार गरिएको छ । हाम्रो भनाइ के हो भने कांगेस र एमाले बाह्रबुँदे समझदारी र शान्ति सम्झौताको लिकमा आउनुपर्‍यो । त्यो भनेको कांग्रेस एमाले र माओवादीले संयुक्तरुपमा सहकार्य गर्ने भन्ने हो । राज्य रुपान्तरण गर्ने हो । अहिलेको संक्रमणमा कांग्रेस, एमाले र माओवादीको ५०/५० हुनुपर्छ भन्ने हो हाम्रो ।

तपाईहरुको पनि दुईचार वर्ष डाङडाङ डुङडुङ गरेर त्यसपछि सम्झौतामा जाने भन्ने छ रे नि ?

– यो त क्रान्तिको न्युनतम समझदारी नभएका मान्छेले भन्ने कुरा हो ।

कांग्रेस र एमालेले प्रचण्ड नेतृत्वको एमाओवादीलाई ‘किक’ हानेपछि अब प्रचण्डले के गर्लान् ? तपाईहरुकै भर गर्ने कि ?

– माओवादीले ०५२ सालमा जुन विचार अघि सारेको थियो, त्यसको असली प्रतिनिधि हामी हौं । माओवादीको ‘जीन’ हामीमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment