Comments Add Comment

सभासदको निधन र आकस्मिक चिकित्सा

प्रा. डा. नारायणसिंह गुरुङ

केही साताअघि सभासद हरिबहादुर खड्काको जीप दुर्घटनामा परी उपचारका क्रममा निधन भयो । भनिन्छ, उद्धारका क्रममा ढिलाइ भयो । घटनास्थलबाट वाग्लुङ्ग अस्पताल पुर्‍याइँदा उहाँको अवस्था नाजुक देखेपछि काठमाण्डौं लैजाने सल्लाह दिइयो । गम्भीर अवस्थाका खड्कालाई प्रधानमन्त्रीको हेलिकोप्टरद्वारा काठमाण्डौं पुर्‍याइँदा पाँच घण्टा व्यतीत भैसकेको थियो । बेलैमा उचित उपचारको ब्यवस्था हुन नसक्दा सभासद् खड्काको दुखद निधन हुन गयो ।

Dr. Narayansing Gurung
प्रा. डा. नारायणसिंह गुरुङ

खड्काजीको मात्र होइन, सभासद् पोष्टबहादुर बोगटीजीको अप्राकृतिक निधनले पनि यही तीतो तथ्यको पुष्टि गर्दछ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी उच्च रक्तचापबाट पीडीत बोगटीजीमा छाती दुख्ने, पसीना आउने हृदयाघातका प्रारम्भिक लक्षण देखिइसकेपछि सहभागी मित्रहरुको सल्लाह तथा आफ्नो निर्णयअनुसार तत्कालै स्वास्थ्य परीक्षण गराउनुको साटो आराम गर्न घरतिर लाग्नुले बोगटीजीको मात्र होइन, राज्य सञ्चालनको अभिभारा बोकेका अन्य उच्चस्तरीय ब्यक्तित्वहरुको समेत स्वास्थ्यप्रतिको ज्ञान कति न्यून रहेछ भन्ने यथार्थ स्पष्ट बुझ्न सकिन्छ ।

बाँच्ने वा बचाउन सकिने सम्भावनाहरु हुँदाहुँदै पनि हुने मृत्युअप्राकृतिक हो । अप्राकृतिक मृत्युलाई न्यूनीकरण गर्दै जनताको सुस्वास्थ्य एबं दीर्घायूका लागि हर संभव प्रयास एवं व्यवस्थापन गर्ने दायित्व राज्यको हो । यही मापदण्डले कुन देश कति समृद्ध छ भन्ने निक्र्यौल गर्दछ ।

सामान्य भाषामा त्यो देश जहाँ खान, लाउन, बस्न तथा स्वास्थ्य र शिक्षा निःशुल्क वा न्यूनतम मूल्यमा उपलब्ध हुन्छ, त्यो देश समृद्धशाली हो । दुर्भाग्य, ठीक विपरीत छ हाम्रो मुलुकको अवस्था । महङ्गो मात्र होइन, स्वास्थ्य र चिकित्सा शिक्षा सर्वसाधारण जनताको पहुचभन्दा बाहिर छ भन्दा अत्युक्ति नहोला ।

श्रद्धाञ्जली सभाहरुमा व्यक्त गरिने अभिव्यक्तिहरुमा दुर्घटनामा चालकको लापर्वाही, सडकको दुरावस्था आदि बिभिन्न पक्षहरुमा थुप्रै टीका टिप्पणीहरु गरिन्छन् । तर, गम्भीर अवस्थाका बिरामीको मृत्युको मूलकारण एबं उपचारको विषयमा बिरलै मात्र चर्चा गरेको पाइन्छ ।

आर्थिकरुपले सम्पन्न हुदँाहुँदै पनि पद र प्रतिष्ठका आडमा गरिब निमुखा जनताको गाँस काटेर उपचारका लागि विदेश धाउन गर्व गर्नेहरुले स्वदेशमै उपचार सेवा उपलब्ध गराउन तदारुकता देखाएको पाइँदैन । आर्थिक उपार्जनलाई मूल लक्ष्य बनाएर मेडिकल कलेज, अस्पताल स्थापना गर्न लागिपर्नेहरुले जीवन रक्षार्थ गुणस्तरीय सेवा दिन नसक्ने हो भने त्यसको शिकार आफैं पनि भइन सक्छ भन्ने यथार्थ तर्फ ध्यान दिएको देखिँदैन ।

ढीलासुस्ती एबं लापर्वाहीको प्रमुख कारक तत्व अज्ञानता हो । काल आएपछि मरिहालिन्छ भन्ने मानसिकताले ग्रसित हाम्रो समाजको सबै तह र तप्कामा स्वास्थ्य चेतनाको नितान्त अभाव देखिन्छ । परिणामस्वरुप बेकालै मृत्युको काखमा पुग्नुपर्ने बाध्यात्मक स्थिति श्रृजना हुन्छ ।

समय आफैमा उपचारको विधि हो । समय बलवान हुन्छ । अझ ज्यान नै जोखिममा पर्न सक्ने आकस्मिक अवस्थामा उपचारमा जति ढिलाइ हुँदै जान्छ, मृत्यको सम्भावना त्यति नै बढ्दै जान्छ । यी दुवै घटनामा अज्ञानता, उचित व्यवस्थापनको अभाव एवं समयमै उपचार पाउन नसक्नु अर्थात समयको भूमिका महत्वपूर्ण रहेको देखिन्छ ।

आकस्मिक चिकित्सा सेवा प्रणाली

स्वास्थ्य सेवालाई सर्वोच्च प्राथमिकतामा राखिएका प्राय सबै मुलुकहरुमा ज्यानै जान सक्ने जोखिमपूर्ण अवस्थाका बिरामीहरुको जीवन रक्षार्थ अवलम्बन गरिने अति शीघ्र चिकित्सा सेवा प्रणालीलाई आकस्मिक चिकित्सा सेवा प्रणाली भनिन्छ ।

विकसित मुलुकहरुमा आजभन्दा ५०/६० बर्ष पहिले नै आकस्मिक चिकित्सा सेवा प्रणालीको विकास भइसकेको देखिन्छ ।

कुनै पनि नाजुक अवस्थामा भएको बिरामीलाई जीवित राख्न ४ तहको शिघ्र चिकित्सा सेवाआवश्यक पर्दछ ।

१. शिघ्र जानकारीः दुर्घटना होस् वा हृदयाघात वा मष्तिस्काघात वा अन्य कुनै आकस्मिक गम्भीर अवस्था होस् प्रत्येक ब्यक्तिलाई यस्तो अवस्थामा कहाँ, कसलाई, कसरी सम्पर्क गर्ने भन्ने बारेमा जानकारी हुनु पर्दछ । आकस्मिक चिकित्सा सेवा प्रणाली अवलम्बन गरिने मुलुकहरुमा सम्पूर्ण नागरिकहरुलाई यस बिषयमा आवश्यक जानकारी गराइएको हुन्छ ।

२. शिघ्र प्राथमिक उपचारः सम्बन्धित निकाय वा संस्थालाई जानकारी गराइएपश्चात आवश्यकताअनुसार हवाइ वा स्थलमार्गबाट तालिमप्राप्त स्वास्थ्यकर्मी तथा जीवन रक्षार्थ आवश्यक आधुनिक यन्त्रहरुद्वारा सुसज्जित एम्बुलेन्स घटनास्थलमा नपुगुन्जेल प्राथमिक उपचार गरिनु पर्दछ ।

३. शिघ्र डिफिब्रिलेसनः हृदयगति बन्द भएका बिरामीलाई विद्युतीय यन्त्रद्वारा झट्का दिएर हृदय गति पुनः सञ्चालन गरिने विधि हो डिफिब्रिलेसन । संयुक्त राज्य अमेरिकाको रेडक्रस सोसाइटी प्रत्येक अमेरिकी नागरिकलाई ४ मिनेट भित्र डिफिब्रिलेसन सेवा उपलब्ध गराउने अभियानमा लागिपरेको छ ।

४.शिघ्र उच्चस्तरीय चिकित्सा सेवाः सुबिधा सम्पन्न एम्बुलेन्स पुग्नासाथ स्वास्थ्यकर्मीहरुद्वारा घटनास्थलमै गर्न सकिने आवश्यक उपचार गर्दै बिरामीलाई सम्बन्धित उच्चगुणस्तरीय अस्पतालमा पुर्‍याइनु पर्दछ ।

आकस्मिक सेवालाई उच्च प्राथमिकतामा राख्दै आकस्मिक चिकित्सा सेवा प्रणाली अबलम्बन नगरिएसम्म अप्राकृतिक मृत्युका घटनाहरु दोहोरिरहनेछन् । दुर्गम, सुगम, घाम, पानी, दिन, रात केही नभनी जनताको घरदैलोमा पुगी सेवा प्रवाह गर्नुपर्ने जिम्मेवारी बोकेका सभासद्हरुको जीवन तुलनात्मकरुपमा बढी जोखिमपर्ण मानिन्छ ।

यसैले सभासद्ज्यूहरुले आकस्मिक गम्भीर अवस्थामा बिनाकुनै अन्यौल सम्पर्क स्थान वा ब्यक्ति, गरिनु पर्ने प्राथमिक उपचार, बोलाइनु पर्ने सबिधासम्पन्न गुणस्तरीय एम्बुलेन्स, पुर्‍याइनु पर्ने सम्बन्धित उच्चस्तरीय अस्पतालको पूर्व जानकारीका लागि आकस्मिक चिकित्सा सेवा प्रणाली सञ्चालनमा ल्याउन पहल गर्नु ढिलो भइसकेको छ ।

सम्पूर्ण जाति, लिंग, धर्म, पेशा, क्षेत्रका सारा नेपाली तथा साझा नेपालको प्रतिनिधित्व गर्ने मुलुकको सबैभन्दा शक्तिशाली जनप्रतिनीधिमूलक संस्था हो संविधान सभा । बेकालै मर्नु नपर्ने सुखी दीर्घ जीवनयापन गर्न पाउने अवस्था नै समृद्धि हो । समृद्धि संविधान सभाको दायित्व हो । आपद् बिपद् सबैकालागि समान हुन्छ ।

जनताको स्वास्थ्य सुरक्षित हुने पद्धतिको विकास नभएसम्म ब्यक्तिगत पद, प्रतिष्ठा र आर्थिक सम्पन्नताले जीवन रक्षाको ग्यारेण्टी गर्न सक्दैन ।

असामयिक निधन भएका सभासद्ज्यूहरुको हृदयबिदारक घटनालाई अद्योपान्त गम्भीरतापूर्वक विश्लेषण गरेर वर्तमान सभासद्ज्यहरुबाट अर्थात संविधान सभाबाट आफ्नो कार्यकालमा आफ्नो स्वास्थ्य सुरक्षाका लागि आफैबाट परिवर्तनको शुरुवात गर्दै आकस्मिक चिकित्सा सेवा प्रणालीको विकास एबं ब्यवस्थापन हुन सक्यो भने कालान्तरमा क्रमैसँग सर्वसाधारण जनतासम्म आकस्मिक चिकित्सा सेवाको पहुँच स्थापित हुनेछ ।

यही नै दिवंगत सभासद्ज्यूहरु प्रति सच्चा श्रद्धाञ्जली एवं देश र जनताका लागि गरिएको अति महत्वपूर्ण योगदान ठहरिनेछ ।

(लेखक गण्डकी मेडिकल कलेज, पोखराका आकस्मिक सेवा विभागका प्रमुख हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment