Comments Add Comment

प्रचण्डलाई नारायणकाजीको प्रश्न : के अहिले हडताल गर्ने बेला हो ?

Narayan-kaji-with-prachanda

८ पुस, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा हुन लागेको १९ दलीय मोर्चाको हडताल र नेपाल बन्दको कार्यक्रमप्रति एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) ले आपत्ति जनाएका छन् ।

अहिले आम हडतालको घोषणा गर्नु गल्ती भएको भन्दै नेता प्रकाशले पार्टी निर्णयविनै हडताल घोषणा गरिएकोमा लिखित असहमति जनाउने तयारी गरेको बुझिएको छ ।

प्रचण्ड नेतृत्वको मोर्चाले आम हडताल लगायतका कार्यक्रम घोषणा गरेको सुनेपछि आक्रोशित बनेका उपाध्यक्ष श्रेष्ठ मंगलबार बिहानै लाजिम्पाटस्थित प्रचण्ड निवास पुगेका थिए । नेता श्रेष्ठले हडताल घोषणा गरिनु गल्ती भएको भन्दै सच्याउन प्रचण्डसँग आग्रह गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

‘तपाईहरुले प्रादेशिक हड्ताल र आम हड्ताल गरेर के गर्न खोज्नुभएको ?’ श्रेष्ठले बिहानै लाजिम्पाट पुगेर प्रचण्डलाई भने, ‘आम हडतालप्रति मेरो गम्भीर असहमति छ, पहिले पनि छ दिने आम हडताल गरेर पछि गल्ती महसुस गर्नुपरेको थियो, अहिले पनि कुबेलामा हडताल गरेर पार्टीलाई संविधानविरोधी देखाउन खोज्नुभयो ।’

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रक्रियामा लगेर पेल्न खोजेको भए हडतालमा जाँदा हुने थियो भन्दै उपाध्यक्ष श्रेष्ठले प्रचण्डसँग अहिले हड्ताल गर्नु उचित नहुने बताएको स्रोतले भन्यो ।

‘अहिले त गाउँ तहसम्म बहस र अन्तरक्रियात्मक कार्यक्रमहरु गर्नुपर्थ्यो,’ श्रेष्ठले प्रचण्डलाई भनेका छन्, सहमति नभए आन्दोलन गर्छौं भन्दै देशव्यापी उत्पीडित सभाहरु गर्नै सकिन्थ्यो, आम हड्ताल गर्नु उचित हुँदैन ।’

सोमबार राति नै श्रेष्ठलाई प्रचण्डले टेलिफोन गरेर आम हडतालबारे जानकारी दिएका थिए । त्यसपछि श्रेष्ठले तत्कालै जनाउँदै डा. बाबुराम भट्टराईलाई समेत फोन गरेर मोर्चाको निर्णय गलत भएको बताएका थिए । डा. भट्टराईले तीन नेता बसेर यसबारे छलफल गर्ने प्रस्ताव गरेका थिए ।

पार्टीमा छलफल भएन

त्यसो त प्रचण्ड नेतृत्वको मोर्चाले आम हडतालबारे निर्णय गर्ने बेलामा एमाओवादीका देशैभरिका केन्द्रीय सदस्यहरु पनि राजधानीमै छन् । हडताल घोषणा गर्नुअघि केन्द्रीय सदस्य त के, पदाधिकारीसँग पनि परामर्श नगरिएको श्रेष्ठको गुनासो रहेको बुझिएको छ । हाल स्थगित भएको पार्टीको केन्द्रीय समितिको बैठक पुस १३ गते बस्दैछ ।

उपाध्यक्ष श्रेष्ठले हडतालको विरोध गर्दै पार्टीमा लिखित असहमति दर्ता गर्ने तयारीसमेत गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

नारायणकाजीलाई यसरी झुक्याइयो

सोमबार दिउँसो दुईबजे सोल्टी होटलमा उद्योग वाणिज्य महासंघको कार्यक्रममा नारयणकाजीलाई पठाएर त्यसको केहीबेरपछि प्रचण्ड मोर्चाको बैठक बसेको थियो । वाणिज्य संघको कार्यक्रममा प्रचण्ड सहभागी हुने भनिए पनि दाँत दुखेको भन्दै प्रचण्डले बाबुराम भट्टराईलाई सोल्टी होटलमा पठाउन खोजेका थिए ।

तर, बाबुरामले पनि जान नमानेपछि दिउँसो २ बजिसकेपछि प्रचण्डले फोन गरेर नारायणकाजी श्रेष्ठलाई सोल्टी होटलको कार्यक्रममा पठाएका थिए । बन्द र हडताल गर्नु हुँदैन भन्दै आएका श्रेष्ठलाई सोल्टी होटलमा पठाएपछि मोर्चाले आम हडताल लगायतका कार्यक्रम घोषणा गरेको हो । श्रेष्ठले यसबारे साँझ निवासमा पुगेपछि मात्रै थाहा पाएको स्रोतले बतायो ।

जनजातिको बेग्लै गुनासो

यसैवीच विपक्षी मोर्चाको हडतालको कार्यक्रमप्रति एमाओवादी उपाध्यक्ष श्रेष्ठले आपत्ति जनाएजस्तै आदिवासी जनजाति नेताहरुले पनि अर्कोतर्फबाट आशंकाको नजरले हेरेका छन् । सोमबार बसेको मोर्चाको बैठकमा जनजाति नेता पासाङ शेर्पाले केपी ओलीले गाली गरेपछि मात्रै आन्दोलनको घोषणा गरिएको भन्दै गुनासो पोखेका थिए ।

अघिल्लो दिन नारायणकाजी सहमत थिए !
प्रचण्ड पक्षका एक नेताले भने आइतबार बसेको १९ दलको बैठकमा नारायणकाजीसमेत सहभागी रहेको र आन्दोलनबारे उनको समेत सहमति रहेको बताए ।

‘अघिल्लो दिनको बैठकले कृष्णबहादुर महराजीको नेतृत्वमा १२ सदस्यीय कार्यदल बनाएको हो, स्रोतले भन्यो, ‘त्यतिबेलासम्म नारायणकाजी पनि सहमत हुनुहन्थ्यो, भोलिपल्ट किन विरोध गर्नुभयो थाहा भएन ।’

साथै उद्योग वाणिज्य संघको कार्यक्रममा प्रचण्डले पठाएको नभई डा. बाबुरामले पठाएको स्रोतले भन्यो । ‘अध्यक्षले बाबुरामजीलाई जान भन्नुभएको थियो, उहाँले नभ्याएर श्रेष्ठलाई पठाउनुभएछ, स्रोतले भन्यो, ‘अध्यक्षले उद्योग वाणिज्य संघको कार्यक्रममा पठाउनुभएको होइन ।’

यो पनि पढ्नुहोस्

‘केपीले लञ्च खुवाउँदा सुत्ने, हप्काउँदा उठ्ने यो कस्तो आन्दोलन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment