Comments Add Comment

देशले चाहे राजनेता बन्न सक्छु

jiwan-luitel

नेपाली चलचित्र क्षेत्रमा नायक जीवन लुइटेल चर्चित नाम हो । एकपछि अर्को चलचित्र हिट हुँदा जीवन पनि एकाएक चम्किए र आज स्थापित नायक बनेका छन् । चलचित्र क्षेत्रमा जीवन लुइटेल भलाद्मी र कुरा गर्न सिपालु नायकको रुपमा चिनिन्छन् । बिहे गरेर छोराको बाबु समेत बनेका जीवनसँग अनलाइनखबरले कफी गफ गरेको छ ।

तपाईको नजरमा प्रेम ?
प्रेम एउटा भुत हो । जसलाई मानिस महसुस गर्न सक्छ, तर देख्न सक्दैन ।
जीवन कसैसँग साट्न पाए समकालीन संसारमा कोसँग साट्न चाहनुहुन्छ ?
मलाई बाराक ओबामा मन पर्छ । उनको व्यक्तित्व र शैली मनपर्छ । म उनीसँग नै जीवन साट्न चाहन्छु ।
बाराक ओबामा मनपर्ने मानिस त राजनीतिमा पनि झुकाव राख्नुहुन्छ होला ?
पक्कै पनि म राजनीतिमा झुकाव राख्छु । परी आएको खण्डमा म देशको बागडोरसमेत हाँक्ने खुबी राख्छु । कलाकार त म यसै पनि छु । तर, देश हाँक्नका लागि राजनीति नै गर्नुपर्छ भन्ने छैन । देशले आवश्यकता गरेको खण्डमा हाँक्न सक्छु भन्ने लाग्छ ।
तपाई आफ्नो जीवनमा सबैभन्दा बढी खुशी भएको कुनै क्षण ?
म जब सन् २००२ मा मिस्टर नेपाल भएँ, म सबैभन्दा धेरै खुशी थिएँ ।
बाबु बन्नुभन्दा पनि मिस्टर नेपाल बन्दा बढी खुशी हुनुभयो ?
अँ, तपाईले मलाई त्यो पल पनि सम्झाइदिनुभयो । बाबु बन्दाको खुशी त्यो बेग्लै हुन्छ ।

 समय र फुर्सद पाए नेपालको कुन ठाउँमा गएर समय बिताउन चाहनुहुन्छ ?
मैले खप्तडको नागबेली परेका पहाडहरु हेरेको छु । उपल्लो डोल्पाका भिडियोहरु पनि हेरेको छु । मलाई यी ठाउँमा जान मन छ । रारामा गएर गीतको छायांकन गर्न मन छ ।

किचेनमा भाडा माझ्न कि खान पकाउन मन लाग्छ ?
म त्यति साह्रो किचेनमा अभ्यस्त छैन । तर, म चियाको सोखिन हो । यसैले बारम्बार आफैले पकाएको चिया पिउन मन लाग्छ । भाँडा मोल्न नै दिमाग लगाइन्छ । खान पकाउँदा  दिमाग लगाउनुपर्छ । यसैले, भाँडा मोल्नतिर नै गइन्छ ।
 आफ्नै नजरमा तपाईका तीन कमजोरी ?
म साधारण कुरामा विश्वास गर्छु । तर, यो क्षेत्रमा बसेर मेरो साधारण बानी कहिलेकाहीँ फेल खान्छ । मलाई जनतासँग मिलिजुली गरेर अगाडि बढ्न मन लाग्छ, कहिलेकाहीँ यो  पनि फेल खान्छ । मलाई कसैले कुरा काट्दैछ भने पनि म उसलाई आफ्नो पक्षमा झुकाउन लागिपर्छु । म अरुलाई धेरै विश्वास पनि गर्छु । यसले कहिलेकाहीँ विश्वासघात पनि भएको छ ।
कुनै बेला रुनुभएको छ ?
जुन मानिसको आँखाबाट आशु आउँदैन, त्यो मानिसले  जीवनलाई बुझ्दैन । यसैले आँशु आउन आवश्यक छ ।
ठट्टा रमाइलो कतिको गर्नुहुन्छ ?
ठट्टा रमाइलोमा म हाँस्छु । तर, अरुलाई आफूले भनेर हँसाउन सक्दिँन । भेज, ननभेज जोक्स मलाई भन्न आउँदैन ।
रिस कत्तिको  उठ्छ ?
मलाई त्यति रिस उठ्दैन । तर, कहिलेकाहीँ आवेशमा आएर भड्किनु आफ्नो ठाउँमा छ ।
रिस उठेका बेला मनलाई कसरी शान्त बनाउनुहुन्छ ?
म सजिलोसँग मानिसलाई सम्झाउन सक्छु । म रिसाएर भड्किनेतिर लाग्दिँन ।
आफ्नो जीवन र कर्मको मूल्यांकन एक वाक्यमा गर्नुस् न ?
मेरो सपनाको बाटाको एउटा मीठो लय, जसलाई मैले समाइरहेको छु । मेरो हिरो बन्ने सपना थियो, म त्यो बाटोमा छु ।
मद्यपान, धुम्रपान गर्नुहुन्छ ?
मैले कुनै बेला गर्थें । तर, अहिले मेरो यो बानी छुटेको छ । यसैले पनि म भाग्यमानी छु ।
त्योबेला खाएको कुराले पश्चाताप लाग्छ ?
मलाई कुनै पश्चाताप छैन । त्यो एउटा रमाइलो पल थियो । मेरो संघर्षको दिनमा मैले खाएँ, तर अहिले म छैन । अहिले कलाकार भएपछि मलाई सबैले चिन्नुहुन्छ । अहिले त्यसरी खान पनि मिल्दैन । ५० बर्षसम्म हिरो बनिराख्न धुम्रपान, मद्यपान गर्नु राम्रो होइन ।
मनले चाहेर पनि अहिलेसम्म पूरा नभएको कुरा के छ ?
मलाई बच्चैदेखि नायक बन्ने सपना थियो । तर, मेरो समय अनुसार चाहना पनि फरक भए । मेरो परिवार लोकसेवा आयोगमा व्यस्त भएँ । म पनि लोकसेवा पास गर्छु भनेर किताबका ठेली लिएर बस्न थालियो । तर, अब यो पनि होइनजस्तो लाग्यो । बीचमा कहिले कवि बन्छु भनेर दौडिएँ, कहिले समाचार वाचक बन्नेतिर पनि लागें ।
हिरो बनेपछि पनि त पूरा नभएका कुरा होलान् नि ?
चलचित्र समाजको एउटा पाटो हो । जसबाट हामी मनोरञ्जनका खुराक पस्किरहेका छांै । यो एउटा पाटो हो । अब, म राष्ट्रको लिडर बन्ने सपना त बाँकी नै छ ।
प्रेम र सेक्सवीचको सम्बन्धमा तपाईको दृष्टिकोण ?
यी दुई पाटो नै फरक छन् । प्रेम उत्तरी र सेक्स दक्षिणी धु्रवमा छ । प्रेम नभई सेक्स हुन पनि सक्छ । सेक्सले गर्दा प्रेम पनि मीठो हुन्छ । म यसलाई एउटै पाटोमा ल्याउँदिन । हामीले जुन शारीरिक सम्बन्धको कुरा गर्छौं, त्यसमा प्रेम आवश्यक छ ।
प्रेममा सेक्स आवश्यक कि सेक्समा प्रेम आवश्यक ?
सेक्समा प्रेम आवश्यक छ ।
तपाई भगवान मान्नुहुन्छ ?
भगवान त म शंकरलाई मान्छु । सबैलाई सम्भिmराखेको हुन्छु । म थाहा नपाई पशुपति पनि पुग्छु । एउटा आस्थाको शरणमा जाने हो, जहाँ तपाइलाई आनन्द र शक्ति मिल्छ, तपाई जाने नै त्यहीँ हो ।
तपाईको पहिलो फोटो कहिले छापिएको थियो पत्रिकामा ?
म बिराटनगरमा हुँदा, मेरो मोडलिङ इन्चिच्यूट थियो । त्यतिखेर बिराटनगरका लोकल पेपरमा छापिएको थियो । त्यतिबेला काठमण्डौमा नेपाल समाचारपत्रमा छापिएको थियो ।jiwan
मिडियामा आउने गसिप र समाचारले डर लाग्छ ?
मलाई लाग्दैन । किनभने, मैले मेरो सोच र चेतनाले म आफ्नो नियममा हिँड्छु । गसिप र स्क्यान्डलाई कलाको रुपमा स्वीकार्छु ।
तपाईको पहिलो डेटिङ ?
डेटको शब्द पनि मलाई याद थिएन । स्कुल पढ्दाखेरि पिकनिक जाने भन्थे ।
तपाईलाई पठाइएको पहिलो प्रेमपत्र ?
मलाई यही नै हो भनेर याद छैन । तर, एउटा प्रेमपत्र आएको थियो, त्यसलाई मैले सम्हालेर पनि राखेको थिएँ ।
तपाईको पहिलो कमाइ ?
मैले बिराटनगरमा नै पहिलोपटक कमाएको थिएँ । तर, चलचित्र आएपछि भने मैले पहिलो पटक ३५ हजार कमाएको थिएँ ।
तपाईको  विचारमा राजनीति के हो ?
यो प्रश्न नै नसोध्नुहोस् । राजनीतिका बारेमा जति भने पनि सकिँदैन ।
राम्रो क्षमता भएर पनि माथि जान नसकेका राजनीतिज्ञहरुको नाम लिनुपर्दा ?
महेश आचार्य, प्रदीप गिरी, प्रदीप ज्ञवाली ।
कलाकारहरु धमाधम राजनीतिमा लागिरहेका छन् । तपाई के सोच्दै हुनुहुन्छ ?
कुनै पनि पार्टीको झण्डामुनि गएर राजनीतिमा  लागिन्छ भन्ने मलाई लाग्दैन ।
देशमा आज नै चुनाव भए, कसलाई भोट हाल्नुहुन्छ ?
यो गोप्य कुरा हो ।
तपाईले प्रयोग गर्ने ब्राण्ड ?
घडी : राडो
जुत्ता : ह्यूगोवोस,
मोबाइल : ३ देखि नै आइफोन बोक्दैछु ।
क्रिम : यस्तो नै भन्ने छैन । टेबलमा श्रीमतीले जुन राखिदिन्छिन् त्यही नै हो ।
साबुन : इम्पेरियल

हेरेका मध्ये सबैभन्दा बढी तपाईले मन पराएको चलचित्र ?
दर्पण छाँया र दक्षिणा
आफूले नै अभिनय गरेकामध्ये सबैभन्दा बढी मन परेको चलचित्र ?
यही नै भन्ने छैन ।
तपाईलाई खेल्न र हेर्न मन पर्ने खेलहरु के-के हुन् ?
क्रिकेट र फुटबल ।
मनपर्ने नायक-नायिका ?
आर्यन सिग्देल र रेखा थापा
तपाईको प्रतिस्पर्धा कोसँग हो ?
मेरो प्रतिस्पर्धा जीवन लुइटेलसँग नै हो
आफूले बिताएका पुराना दिनमध्ये कुनै एक पल पुनरावृत्ति हुने भए कुन समय वा दिन दोहोरियोस् भन्ने चाहनुहुन्छ ?
मैले त्यस्तो कुनै पल नै बिताएको छैन । मैले राम्रो जीवन बिताएको भनेको कलाकार भएपछि हो । त्यो त म अहिले पनि छु ।
यी  दुईमध्ये एक छान्नुहोस्……
आर्यन कि भुवन केसी : आर्यन सिग्देल
प्रेमिका कि श्रीमती : श्रीमती
समय र अवसर मिले कोसँग कफी पिउन मन छ ?
बाराक ओबामा
संसारमा प्रलय आयो र तपाईमात्र बाँच्नुभयो भने के गर्नुहुन्छ ?
म त नांगै नाच्छु । आखिर, मलाई देख्ने कोही हुँदैन ।
सडकमा अर्धनग्न नारी देख्दा ?
म एकछिन रोकिएर हेर्छु होला ।
के प्राप्त भएको खण्डमा कलाकारिता छाड्न तयार ?
म केही पाए पनि छाड्दिन ।
बदल्न मन लागेको बानी ?
म झुटो छैन । मलाई सिक्स प्याक्स बनाउन मन छ ।
तपाई सेलिब्रेटी कि कलाकार ?
म दुबै हो । सेलिब्रेटीसहितको कलाकार ।
सेलिब्रेटी भनेको के हो ?
मेरो विचारमा चर्चा-परिचर्चा भैरहने मानिस जसमा ग्लायर, सुन्दरता र व्यक्तित्व छ । उसलाई अरुले विश्वास पनि गर्छन् ।

-प्रस्तुती : विजय आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment