Comments Add Comment

दक्षिण एशियाली महिला भलिबलमा नेपाल उपविजेता

८ पुस, काठमाडौं । पहिलो दक्षिण एशियाली आमन्त्रण महिला भलिवल च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ ।

प्रतियोगिताको अन्तिम खेलमा श्रीलंकाबिरुद्ध रोमाञ्चक जित दर्ता गर्दै घरेलु टोली नेपाल प्रतियोगिताको दोस्रो स्थानमा रहन सफल भयो । दक्षिण एसियाली स्तरको प्रतियोगितामा नेपाल दोस्रो भएको यो पहिलो पटक हो ।
उपाधि भने भारतले जितेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा भएको अन्तिम खेलमा नेपाल श्रीलंका बिरुद्धको प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा जित निकाल्न सफल भयो ।

सुरुवाती दुई सेट आˆनो पक्षमा पारेको नेपालले त्यसपछिका दुई सेटमा कमजोर प्रदर्शन गर्दै गुमाउन पुग्यो । तर, अन्तिम सेटमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा श्रीलंकालाई हराउन सफल भयो

पहिलो र दोस्रो सेट क्रमशः २५-२३ र २५-२२ ले जितेको नेपाल तेस्रो र चौथो सेटमा कमजोर भयो र श्रीलंकाले २५-१९ र २५-१४ को जित हात पार्‍यो । दुई सेटमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीहरु बाँकी सेटमा भने केहि थकित देखिन्थे ।

तर, अन्तिम तथा निर्णायक सेटमा नेपाली टोलीले उत्कृष्ट पुनरागमन गर्दै १५-१० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि जितेको छ । राउन्ड राविन लिग प्रणालीमा खेलाइएको प्रतियोगितामा भारत एकमात्र अविजित टोली रहृयो । भारतले २५-१३, २५-०६ र २५-९ को सहज सेटमा जित हात पारेको हो ।

उपाधि विजेता भारतले नगद दुई हजार डलर पुरस्कार पाएको छ भने उपविजेता नेपालले १ हजार डलर र तेस्रो भएको श्रीलंकाले ५ सय डलर पाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी उपाधि विजेता भारतकी स्पाइकर टिजी राजु घोषित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment