Comments Add Comment

संविधान नबन्दा सबैभन्दा घाटा प्रचण्ड र बाबुरामलाई : डा. भट्टराई

baburam-1
९ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादी नेता डा. बाबुराम भट्टराईले माघ ८ मा नयाँ संविधान नबन्दा सबैभन्दा बढि घाटा एकीकृत नेकपा माओवादीलाई हुने बताएका छन् । उनले प्रचण्ड र बाबुरामले संविधान बनाउन नदिएको भन्ने सत्ता साझेदार दलको आरोपको खण्डन समेत गरे ।

नेपाल पत्रकार महासंघले बुधबार गरेको कार्यक्रममा डा. भट्टराईले भने, ‘संविधान नबनाउँदा सबैभन्दा धेरै घाटा प्रचण्ड र बाबुरामलाई हुन्छ, एमाओवादीलाई हुन्छ, त्यसैले हामी माघ ८ मै संविधान बनाउन चाहान्छौं ।’

उनले कांग्रेस र एमालेप्रति संकेत गर्दै विगतमा १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने नेताहरु नेतृत्वमा नहुँदा समस्या आएको बताए । कांग्रेसको तर्फबाट तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र एमालेबाट माधव नेपालले हस्ताक्षर गरेका थिए ।

‘अहिले कांग्रेसको नेतृत्वमा सुशील कोइराला हुनुहुन्छ र एमालेको नेतृत्वमा माधव नेपाल हुनुहुन्न त्यही भएर पनि समस्या आएको छ,’ भट्टराईले भने, ‘एमाले आफ्नो अडानबाट पछि हट्दा तुलो ९० प्रतिशत ढल्क्यो ।’

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका डा. भट्टराईले १२ बुँदे समझदारी, शान्तिप्रक्रिया र अन्तरिम संविधानको भावना अनुसार संविधानका अन्तरबस्तुमा सहमति जुटाउनुपर्नेमा जोड दिए ।
सहमतिको नाममा आदिवासी जनजाति, अल्पसंख्यक, पिछडीएका समुदायका मुद्दा भने आफूहरुले नछाड्ने उनले स्पष्ट पारे ।

madhav nepal

जातियता स्वीकार्दैनौं : नेपाल

कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले संघीयताबाट पछि नहट्ने तर जातियता नस्वीकार्ने स्पष्ट पारे । उनले राज्य पुनसंरचना र शासकीय स्वरुपमा एमालेले अघि सारेको प्रस्तावमा थप छलफल गर्न तयार रहेको प्रष्ट पारे ।

‘एमालेले आघि सारेको ७ प्रदेशको प्रस्तावमा थप छलफल गर्न तयार छौं,’ नेता नेपालले भने, ‘कांग्रेससँग मिलेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनेका छौं, यसमा पनि चार पक्षबीच छलफल गर्न सकिन्छ ।’

जातिय मुद्दालाई हेर्ने कुरामा समस्या रहेकाले यसबारे एमाओवादीलाई गम्भीर भएर सोच्न उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment