Comments Add Comment

माधव नेपाल पनि केपी ओलीकै लाइनमा ?

kp oli and Madhav nepal

  • फाइल फोटो

९ पुस, काठमाडौं । नेकपा एमालेभित्र अध्यक्ष केपी ओलीभन्दा माधवकुमार नेपाल सहमतिप्रति सकारात्मक रहेको एमाओवादी नेताले विश्लेषण गर्दै आएका छन् । तर, बुधबार नयाँबानेश्वरको इन्द्रेणी फुडल्याण्डमा आयोजित कार्यक्रममा एमाले नेता नेपालको अभिव्यक्ति ओलीसँग मिल्दोजुल्दो देखियो ।

नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा उपस्थित एमाले नेता नेपालले जातीय सवालमा एमाओवादीभित्र समस्या रहेको बताए । उनले जातीय आधारमा संघीयता बनाउँदा देश टुक्रिने आशंका व्यक्त गरे ।

पूर्वी नेपाल र मधेसमा त्यसका संकेत देखिएको नेता नेपालले बताए । ‘नेपालको संवेदनशीलतालाई ध्यानमा राख्नुपर्छ, त्यसैले जातीय आधारमा नगरौं,’ नेता नेपालले भने- ‘पहाडलाई मधेसबाट विस्थापन गर्ने सोच नराखौं ।’

एमाले नेता नेपालले समानुपातिक निर्वाचन प्रणालीको पनि आलोचना गरे । ‘समानुपातिकले पैसाको विकृति ल्यायो,’ उनले भने,’पैसा भएपछि नेताको श्रीमतीले पनि पाउनुहुन्छ, नेताको श्रीमती हुनोस् पाइहाल्नुहुन्छ । मेहनत नगरी सांसद बन्ने, माथि-माथि पुग्ने ?’

शासकीय स्वरुपमा हकमा एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा रहे पनि मिल्नका लागि कांग्रेससँग सहमति गरेको नेता नेपालले बताए । तर, चार पक्षवीच यसबारे सहमति गरेर निकास निकाल्न तयार रहेको उनले बताए ।

न्याय प्रणालीका हकमा खासै ठूलो विवाद नरहेको तर, बलात्कारका घटना बढिरहेका बेला सरकारले बलात्कारको सजायँ घटाउने गलत काम गरिरहेको नेता नेपालले बताए ।

बाह्रबुँदे समझदारीमा महत्वपूर्ण भूमिका खेलेका एमाले नेता नेपालले ०४७ सालको संविधान बनाउँदा एमालेले आफ्ना असहमति प्रेससमक्ष राखेको स्मरण गराउँदै एमाओवादीले पनि असहमति थाती राखेर संविधान निर्माणमा सहमति जनाउन नेपालले आग्रह गरे । नेता नेपालले एमाओवादी नेताहरुलाई जातीय विषयमा आफ्नो दृष्टिकोण सच्याउन आग्रह गरे ।

Madhab nepal, sitaula and Baburam

माघ ८ मा संविधान नबने वर्षदिनमा पनि नबन्ने र चार वर्षमा नबने तेस्रो संविधानसभाले पनि बनाउन नसक्ने नेता नेपालले ठोकुवा गरे ।

एमाले नेता नेपालको प्रस्तुतीले उनी र केपी ओलीवीच संविधानका अन्तरवस्तुमा कुनै मतभेद नरहेको स्पष्ट संकेत गर्दथ्यो । नेता नेपालले सबै चिजको परीक्षण निर्वाचनले गर्छ भन्दै दोस्रो संविधानसभाको मतादेशको स्मरण गराए ।

सिटौलाले के भने ?

कार्यक्रममा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले बाह्रबुँदे समझदारी, शान्ति सम्झौता र अन्तरिम संविधानको भावनालाई समेत संविधान निर्माणमा ख्याल गर्नुपर्ने स्वीकारोक्ति व्यक्त गरे । तर, यसमा दोस्रो संविधानसभाको जनादेशलाई पनि विचार गरेर सहमति खोज्नुपर्ने उनले बताए ।

अहिले पहाड र तराईलाई मिलाएर प्रदेशहरु बनाए पनि पछि संविधानमा सच्याउन सकिने सिटौलाले बताए । संविधान जड नभई समयअनुसार परिवर्तन हुँदै जाने दस्तावेज रहेको सिटौलाको तर्क थियो ।

बाबुरामले भने- सिटौलाजीको भनाइ ठिकै हो

पत्रकार महासंघको कार्यक्रममा सहभागी एमाओवादी नेता डा. बाबुराम भट्टराईले बाह्रबुँदेको भावना र संविधानसभाको मतादेश दुबैलाई ख्याल गर्नुपर्ने सिटौलाको भनाइ ठिकै रहेको भट्टराईले बताए ।

तर, माओवादीले जुन मुद्दाका लागि बलिदानी गरेको थियो, त्यसलाई छाडेर सहमति गर्न नसकिने भट्टराईको अडान थियो । आफूहरुले ती अडान र मुद्दा छाडेको अवस्थामा विप्लवले त्यसलाई उठाउने डा. भट्टराईले बताए ।

एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति सुशील कोइराला बाह्रबुँदे समझदारीको विरुद्धमा रहेका र अहिले उनीहरु नै नेतृत्वमा रहेकाले पनि सहमति जटिल बनेको डा. भट्टराईको संकेत थियो ।

सहमति बन्नेमा आशंका

नेपाल, सिटौला र डा. भट्टराई तीनैजनाले सकेसम्म माघ ८ भित्रै सहमतिका आधारमा संविधान जारी गरिनुपर्ने बताए । तर, संविधानका अन्तरवस्तुमा एमाले नेता माधवकुमार नेपालको अडान केपी ओलीसँगै मिल्दोजुल्दो देखिएकाले संघीयता, समानुपातिक निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सहजै सहमति बनिहाल्ने देखिएन ।

यद्यपि सोही कार्यक्रमको सुरुमा बोलेका सभामुख सुवासचन्द्र नेम्वाङले चाँहि नेताहरुले आफूलाई दुई घण्टामा कुरा मिल्न सक्छ भनेको स्मरण गराउँदै सबैले सहमतिका लागि दबाव दिएको अवस्थामा माघ ८ मा सहमतिका आधारमा संविधान बन्ने आशा व्यक्त गरे ।

नेपाल पत्रकार महासंघले आयोजना गरेको ‘राष्ट्र निर्माणमा मिडियाको भूमिका’ विषयक अन्तरक्रियामा सभामुख सुवासचन्द्र नेम्वाङका साथै डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल र कृष्णप्रसाद सिटौलाले आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment