Comments Add Comment

‘विप्लवमात्रै माओका असली अनुयायी’

सुदर्शन मंगोल
आजभन्दा १२० वर्षअघि अर्थात् डिसेम्बर २६, सन् १८९३ मा माओ चिनियाँ धर्तिमा जन्मे । माओ जन्मँदा चीन साम्राज्यवाद र सामन्तवादको चंगुलमा थियो । यस्तो चीनलाई मुक्ति दिलाउनु कम्ति चानचुने थिएन । तर, चीनलाई मुक्त पार्ने काम माओको नेतृत्वमा मात्र भयो ।

चीनमा माओको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीले घरेलु सामन्तवाद  र वैदेशिक साम्राज्यवादका दुईवटा पहाडसँग एकैचोटि संघर्ष छेडेर चिनियाँ जनता र राष्ट्रलाई मुक्ति दिलायो । अझ त्यो भन्दा लामो आन्तरिक र वाह्य उपनिवेशका विरुद्ध सन् १८४० को अफिम युद्धदेखि १९४९ सम्म चिनियाँ जनताले लामो लडाइँ लडेर चीनले मुक्ति पायो ।

SUDARSHAN mANGOL
सुदर्शन मंगोल

खासमा सन् १९१७ को रुसी अक्टोबर क्रान्तिको प्रभावबाट चीनमा माओसहित करिब आधा दर्जन नेताहरुको सहभागितामा सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको  स्थापना भयो । कम्युनिस्ट पार्टीको स्थापना त भयो, तर चीनजस्तो अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकमा कसरी क्रान्ति गर्ने ? क्रान्तिको बाटो के हुन सक्छ ?  यसबारे पार्टीमा माओको आन्तरिक संघर्ष सन् १९२१ देखि १९३५ सम्म चल्यो । १४ वर्षको लामो अन्तरसंघर्षपछि १९३५ को चुनई सम्मेेलनपछि मात्र माओको नीति र नेतृत्व दुवै स्थापित भयो ।

यस बीचमा माओले पार्टीभित्रको जटिल दुई लाइन संघर्ष, घरेलु सामन्तवाद र जापानी साम्राज्यवादका विरुद्ध एकैसाथ संघर्ष चलाउनु भयो । माओको नेतृत्व र आफ्नै मौलिकतामा सिर्जनात्मक अनि बलियो सशस्त्र संघर्षले नै चीनमा सन् १९४९ मा जनवादी क्रान्ति सम्पन्न हुन पुग्यो ।

माओलाई सम्झनुपर्ने कारण

आजको समयमा माओलाई स्मरण गर्नुमा केही मुलभुत कारणहरु छन् । खासगरी माओले रुसी अक्टोबर क्रान्ति भन्दा निकै बेग्लै ढंगबाट चीनमा नयाँ जनवादी क्रान्ति गर्नुभयो । रुस पुँजीवादी मुलुक थियो । चीन अर्धसामन्ती र अर्ध औपनिवेशक मुलुक थियो । रुसभन्दा निकै पिछडिएको मुलुक चीनमा क्रान्तिको स्वरुप र मोडल नयाँ ढंगबाट निर्माण गर्नमा माओले ठूलो संघर्ष गर्नुपर्‍यो ।

चीनमा सन् १९२१ मा कम्युनिस्ट पार्टीको स्थापनापछि चिनियाँ क्रान्तिको मोडल कस्तो हुने भन्नेबारे ठूलो अन्तरसंघर्ष चल्यो । छन तु स्युको दक्षिणपन्थी अवसरवादले १९२१ देखि १९२६ सम्म चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा)लाई गोलचक्करमा फसाइदियो । उसले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनेबारे कुनै पहल गरेन ।

छन तु स्युको अवसरवादका विरुद्ध माओलगायतको टीमले वैचारिक संघर्ष तीव्र बनायो । करिब ५ वर्षपछि छन तु स्युको अवसरवादलाई परास्त गरियो । तर, फेरि अर्को समस्या पैदा भयो, त्यो थियो- वामपन्थी अवसरवाद ।

सन् १९२७ को अन्त्यतिरबाट छु छु पाइको नेतृत्वमा पैदा भएको वामपन्थी दुस्साहसवादले चीनका मुख्य शहरहरुमा सशस्त्र विद्रोहबाट केन्द्रीय सत्तामा हस्तक्षेप गर्ने कार्यदिशा अगाडि सार्‍यो । यो अवधि मुलत ४/५ महिनाको रह्यो । यस्ता गलत कार्वाहीका विरुद्ध माओलगायतका क्रान्तिकारी टीमले फेरि पनि भन्डाफोर गर्‍यो ।

चीनमा जहाँ भर्खरै मात्र क्रान्तिकारी युद्धले ठूलो पराजय भोगेको थियो । खासगरी सन् १९२४ देखि १९२७ सम्म चलेको क्रान्तिकारी युद्धलाई पहिलो पटक कम्युनिस्ट पार्टीको नेतृत्वमा संचालन गरिएको थियो ।  तर, चिनियाँ कम्युनिस्ट पार्टीको मुख्य नेतृत्वले सही ढंगले संचालन गर्न नसक्दा त्यो युद्धले पराजय भोग्नुपर्‍यो । योबेला कम्युनिस्ट पार्टीको नेतृत्व छन तु स्युजस्ता अवसरवादीको हातमा थियो ।

यसरी भर्खर क्रान्तिकारी युद्धले असफलता भोगेको बेला नयाँ ढंगबाट क्रान्तिकारी आन्दोलनलाई अघि बढाउनुको साटो छु छुपाइले उग्र रुपमा सञ्चालन गरेको सशस्त्र विद्रोहका कारण चिनियाँ कम्युनिस्ट पार्टीले ठूलो क्षति व्यहोर्नुपर्‍यो ।

परिवर्तनको जगमा  टेकेर अब नयाँ शिराबाट क्रान्तिलाई अघि बढाउने जिम्मेबारी नेपाली माओवादीहरुको काँधमा आएको छ । अब उही रुसी विद्रोह र चिनियाँ जनयुद्धको अन्धनक्कल गरेर होइन

छु छु पाईको उग्रवामपन्थी अवसरवादलाई सच्चाइसकेपछि चिनियाँ कम्युनिस्ट पार्टीभित्र अर्को वामपन्थी अवसरवाद प्रकट भयो । त्यो लिलि शानको नेतृत्वमा पैदा भएको उही वामपन्थी अवसरवाद थियो । यसले पनि ठूल्ठूला शहरहरुमा सशस्त्र आक्रमण गर्ने उही रुसी मोडलको सशस्त्र विद्रोहको बाटो प्रयोग गर्‍यो । यो अवधि सन् १९३० को जुन महिनातिर थियो । यसले पनि चिनियाँ कम्युनिस्ट पार्टीलाई असफलता मात्र दिलायो । अनावश्यक क्षतिले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनायो ।

सप्टेम्बर १९३० मा पार्टीको केन्द्रीय समिति बैठकले यो कार्यदिशालाई संशोधन गर्‍यो । त्यसपछि पनि फेरि पनि चिनियाँ कम्युनिस्ट पार्टीभित्र अर्को सबैभन्दा ठूलो र लामो वामपन्थी अवसरवाद पैदा भयो । वाङमिङको नेतृत्वमा पैदा भएको यो अवसरवादले १९३१ देखि १९३४ सम्म चिकपालाई निकै ठूलो असर पुर्‍यायो ।  वाङमिङको नेतृत्वमा पैदा भएको यस अवसरवादले ठूला ठूला शहरमा आम हडताल गर्न लगायो । राष्ट्रव्यापी आक्रामक नीति अख्तियार गरेर केन्द्रीय सत्तामा दख्खल पुर्‍याउने उद्देश्यका साथ सुरु गरिएको यो उग्रवामपन्थी अवसरवादले पार्टीलाई ठूलो नोक्सानी मात्र हात लाग्यो ।

सन् १९३४ को अक्टोबरबाट सुरु गरी १९३५ मा समापन भएको लङमार्च अभियानले यसलाई सच्चायो । मुख्यतः सन् १९३५ मा चुनइमा सम्पन्न केन्द्रीय समितिको राष्ट्रिय विस्तारित बैठकले वाङमिङ लाइनलाई पूर्णतः खारेज गर्‍यो । यसपछि मात्र माओ चिनियाँ कम्युनिस्ट पार्टीभित्र सर्वाधिकार र निर्विल्प नेताका रुपमा उदाउनुभयो ।

यही बीचमा माओले सन् १९३८ तिर दीर्घकालीन जनयुद्धको मोडल प्रतिपादन गर्नुभयो । सन् १९४० मा नयाँ जनवादबारे सिद्धान्त प्रतिपादन गरेका माओले १९४९ मा पुगेर जनवादी क्रान्तिलाई पूर्णता दिने काम भयो । वास्तवमा माओले चीनमा कसरी क्रान्ति गर्ने भन्ने सिद्धान्त मात्र प्रतिपादन गर्नु भएन, क्रान्तिपछि प्रतिक्रान्ति कसरी रोक्ने भन्ने निरन्तर क्रान्तिको सिद्धान्त समेत प्रतिपादन गर्नु भयो । त्यो नयाँ जनवादी क्रान्तिपछि सन् १९६६ देखि १९७६ सम्म संचालन गरिएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त थियो  ।

माओको निरन्तर क्रान्तिको सिद्धान्तले वर्ग विलोप नहुँदासम्म समाजवादी सत्तामा निरन्तर क्रान्ति गर्नुपर्ने जोड दिएको छ ।

आजको नेपालमा यति धेरै परिवर्तनपछि हामी माओवादीहरुले नेपाली क्रान्तिको बाटो तय गर्दैछौं । खासमा दश वर्षे लामो जनयुद्धले नेपाली समाजमा ल्याएको ठूलो परिवर्तन हाम्रा लागि एउटा गतिलो सबक हुनेछ

नेपालको सन्दर्भमा माओको योगदान

आजको विश्व  र आजको नेपालमा ठूलो परिवर्तन आएको छ  । खासगरी विश्व भूमण्डलीकरणको तीव्रताले सिंगो विश्व एउटा गाउँमा खुम्चिएको छ । विज्ञान प्रविधि र सूचना प्रविधिमा आएको ठूलो परिवर्तनले दुनियाँमा अभुतपूर्व परिवर्तन ल्याएको छ । रुसमा लेनिनले क्रान्तिको बाटो तय गर्दाको हामी आज ९९ वर्षपछिको समयमा छौं । माओले चिनियाँ क्रान्तिको खाका कोर्दाको हामी आज ६५ वर्षपछिको स्थितिमा छौं । ९९ वर्ष र ६५ वर्षको विश्व  र नेपालमा यति धेरै परिवर्तन आएको छ, जसलाई हामीले स्वीकार्नै पर्छ ।

रुसमा लेनिनले तय गरेको सशस्त्र विद्रोहको मोडल र चीनमा माओले प्रतिपादन गरेको जनयुद्धको मोडल आ-आफ्नै विशेषतामा तय गरिएको मोडल थियो । ती कतैबाट आयातीत गरिएको मोडल थिएन । जसरी फ्रान्सको पेरिस कम्युन (सन् १८७१) विद्रोह आफ्नै मौलिकतामा भएको थियो, त्यो रुसमा आउदा थप मौलिक र विकसित भएर आयो । त्यसैगरी चीनमा आउदा त झन् नयाँ ढंगबाट विकसित भएर आयो ।

आजको नेपालमा यति धेरै परिवर्तनपछि हामी माओवादीहरुले नेपाली क्रान्तिको बाटो तय गर्दैछौं । खासमा दश वर्षे लामो जनयुद्धले नेपाली समाजमा ल्याएको ठूलो परिवर्तन हाम्रा लागि एउटा गतिलो सबक हुनेछ ।

दश वर्षे  नेपाली जनयुद्धले नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा जुन यति धेरै परिवर्तन ल्यायो, त्यो परिवर्तनको जगमा  टेकेर अब नयाँ शिराबाट क्रान्तिलाई अघि बढाउने जिम्मेबारी नेपाली माओवादीहरुको काँधमा आएको छ । अब उही रुसी विद्रोह र चिनियाँ जनयुद्धको अन्धनक्कल गरेर होइन कि थप विकास गरेर नयाँ क्रान्तिको मोडलको विकास गर्नै पर्ने भएको छ ।

रुसी मोडल, चिनियाँ मोडल, त्यो बाहेक अरु विश्वमा क्युबाली क्रान्तिको मोडललगायतका मोडलहरु हाम्रा लागि हुबहु नक्कल होइन, सिर्जनात्मक रुपले सबक लिन सकिने मोडल हुन सक्छन् ।

अहिले नेपालमा नेकपा माओवादीका संयोजक कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा प्रक्षेपण गरिएको ‘एकीकृत क्रान्ति’को कार्यक्रमले आफ्नै मौलिकतामा नेपाली क्रान्ति गर्ने दिशानिर्देश गरेको छ । यसले रसियन विद्रोह र चिनियाँ जनयुद्धलाई विकास गरेर आजको विश्वमा आएको परिवर्तनलाई संवोधन गरी नयाँ उचाइबाट क्रान्तिकारी मोडल विकास गर्ने साहस गरेको छ । यो एकीकृत क्रान्ति नेपाली मौलिकतामा विकास गर्न खोजिएको नयाँ कार्यक्रम हो । यसलाई थप विकास र मूर्त गर्न बाँकी छ । त्यो आन्दोलन र संघर्षबाट मात्र संभव छ ।

हामी यति भन्न सक्छौं यही मोडलबाट नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुनेछ । कामरेड माओको १२० औ जन्मजयन्तीका अवसरमा माओलाई स्मरण गर्नु माओका क्रान्तिकारी विचार र सिद्धान्तलाई इमान्दार भएर लागु गर्नु हो । माओका विचार छाडेर संशोधनवादी बाटो हिँड्नेहरु माओवादी हुन सक्दैनन् ।

आज नेपालमा कमरेड माओका असली अनुयायी विप्लव कमरेडको नेतृत्वमा रहेको नेकपा माओवादी मात्र हो ।

(लेखक विप्लव समूहका कार्यकर्ता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment