Comments Add Comment

सभासद भन्छन्- तलबले खर्च धान्न गाह्रो भो !

BICC-Nepal

११ पुस, काठमाडौं । संविधानसभा सदस्यको मासिक कमाइ कति होला ? अवश्य पनि आम नागरिकको औसत कमाइ भन्दा सभासदको मासिक तलब धेरै गुणा बढी छ । तर, उनीहरुले मासिक खर्च धान्न मुस्किल परिरहेको गुनासो गर्न थालेका छन् ।

सभासदका गुनासा उनीहरुको संसदीय दलमा पुगेपछि बग्रेल्ती सुन्न पाइन्छ । पार्टी केन्द्रदेखि जिल्लासम्म लेवी बुझाउँदा र चन्दा दिँदा महिना टार्न गाह्रो भयो भन्दै सभासदहरु गुनासो गरिरहेका हुन्छन् ।

सभासदको तलब सुविधा कति छ ?

पछिल्लो बजेट वक्तव्यपछि बढेको समेत गर्दा ८० हजार रुपैयाँ एकजना सभासदका लागि मासिक तलब छ । त्यसमा करिव ८ हजार कर काटिँदा सभासदको भागमा ७२ हजार पर्छ ।

पीए राख्ने सभासदहरुले २२ हजार रुपैयाँ पीएका लागि छुट्याउँछन् । धेरैजसोले आफ्नै परिवारका सदस्यलाई पीए राखेका छन् । तर, कतिपयले पार्टी कार्यकर्ता नै राखेका छन् ।

मासिक तलब बाहेक सभासदले ६ हजार ५ सय घर भाडा, मसलन्द, टेलिफोन र पत्रपत्रिकाका लागि ३ हजार रुपैयाँ पनि पाउँछन् । तर, ०४८ सालमा तोकिएको घरभाडा अहिलेसम्म नबढेकोमा सभासदहरु असन्तुष्ट छन् ।

‘सभासद बस्ने भनेपछि कम्तिमा एउटा फ्ल्याट चाहिन्छ, अचेल ६ हजार ५ सयमा राजधानीमा कहाँ फ्ल्याट पाइन्छ ?’ एक सभासदले भने ‘कुरा गर्‍यो भने सभासदले आफ्नै सुबिधा बढाउन लागे भन्छन्, तर यो सबैको पीडा हो’ ।

salary

राज्यले दिन्छ, पार्टीले लिन्छ

राज्यले सभासदका लागि भनेर दिएको तलब केही पार्टीले संसद सचिवालयलाई पत्र पठाएरै निश्चित रकम काटेपछि मात्रै सभासदको खातामा पठाउने प्रणाली छ ।

त्यसपछि पनि बिभिन्न जिल्ला, क्षेत्र र भातृ संगठनलाई चन्दा बुझाउँदा ऋणमा डुब्नु परेको गुनासो गर्ने सभासद पनि धेरै भेटिएका छन् ।

‘बोल बोल मछली, मुखभरि पानी’

राजधानीको महँगो बसाइ र खचिर्लो राजनीति धान्नुपर्ने बाध्यतामा चेपिएका सभासदहरु सार्वजनिक रुपमा बोल्न सक्दैनन् । तर, पार्टीले धेरै लेवी काटेकोमा उनीहरु सन्तुष्ट छैनन् ।

संविधानसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलले सभासदबाट असुल्ने लेवीलाई पार्टीको मुख्य आम्दानीको स्रोत बनाएका छन् ।

थोरैमा ५ हजार काट्ने कांग्रेस र फोरम लोकतान्त्रिकदेखि सभासदको सबै तलब असुल्ने नेपाल मजदूर किसान पार्टीसम्मका सभासदको कथा एउटै छ ।

उनीहरुले लेवीका कारण काठमाडौंको बसाई गाह्रो भयो भनेर आन्तरिक रुपमा गुनासो गरे पनि बाहिर चाहिँ बिरोध गर्दैनन् । ‘पार्टी केन्द्रदेखि तलसम्म लेवी तोकेर सभासदको ढाड भाँच्ने काम भएको छ, तर बोल्यो भने आफ्नै आलोचना हुन्छ’ एक एमाले सभासदले भने ।

कांग्रेसको कम लेवी

संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सबैभन्दा कम लेवी काट्छ । कांग्रेस केन्द्रले एकजना सभासदबाट मासिक ५ हजार रुपैयाँ लिन्छ ।

पार्टी जिल्ला समिति, भातृ संगठनहरु सबैलाई बुझाउँदा बुझाउँदै खल्ती खाली हुने गरेको कांग्रेस सभासद रामहरि खतिवडा बताउँछन् ।

‘प्रत्येक दिनजसो कोही न कोही बिरामी आउँछन्, भातृ संगठनका अधिवेशन र भेला हुन्छन्, कोही दुःख पाएर बेखर्ची भएर आएको हुन्छ, सबैलाई सहयोग गर्दागर्दै माननीयको तलबले धान्न गाह्रो छ’ उनी भन्छन् ।

‘सभासदको पद गज्जब छ, यसैपटक सबै विकास चाहिन्छ, विद्यालय, चौकी, अस्पताल, बिजुली, पानी भए भरको बिकास अहिल्यै चाहिन्छ, भनेजस्तो नभए मूर्दावाद भन्न पाइन्छ’ सभासद खतिवडा भन्छन् ‘सभासदका पीडा आफ्नै ठाउँमा छन्’ ।

शुरुवातकर्ता एमाले

सांसदबाट लेवी काट्ने प्रचलनको शुरुवात नेकपा एमालेले ०४८ सालदेखि नै गरेको हो । एमालेले सांसदबाट मात्र होइन, पार्टीले राजनीतिक नियुक्तिमा पठाएका सबैसँग लेवी असुल्छ ।

एमालेले सभासदबाट केन्द्रमा १० हजार रुपैयाँ कटाउँछ । संसदीय समितिका सभापतिहरुबाट मासिक १५ हजार लेवी असुल्ने गरेको छ । सभामुख सुवास नेम्वाङले २० हजार मासिक लेवी बुझाउँछन् ।

एमाले सभासद कमला सुवेदीका अनुसार केन्द्रले काट्ने १० हजार बाहेक आफू आवद्ध पार्टी कमिटी र क्षेत्रमा पनि लेवी तिर्नुपर्छ ।

‘पार्टीले सभासद बनाएपछि पार्टी कमिटीलाई लेवी बुझाउनु परिहाल्छ नि’ सुवेदीले भनिन् ‘पार्टीको निर्णयमा असन्तुष्टि जनाउनुको अर्थ छैन’ ।

अधिकांश दलले सभासदको तलब सिधै सचिवालयमै कटाएर लेवी लिन्छन् । नेपाल मजदूर किसान पार्टी चाहिँ यस्तो पार्टी हो, जसले सबै सभासदको तलब पार्टीको खातामा हाल्छ

एमाओवादी पनि उस्तै

संविधानसभाको तेस्रो ठूलो दल एनेकपा माओवादीले प्रत्येक सभासदबाट मासिक १२ हजार रुपैयाँ लेबी काट्ने गर्छ । त्यस बाहेक आफू बसेको कमिटीमा २ हजार बुझाउनुपर्छ ।

‘केन्द्रदेखि तलसम्म पुग्दा २० हजार जति जान्छ, बाहिर हेर्दा सभासदको तलब ८० हजार देखिन्छ । तर, हातमा ३० हजार पनि पर्दैन’ एमाओवादी सभासद रुपा महर्जन भन्छिन् ‘भ्यालीभित्रका सभासदको हालत चन्दा र लेवीले खराब बनाएको छ, भ्याली बाहिरका साथीहरुको हालत त कोठाभाडा र पाहुनाले गर्दा के होला झन् ?’

कतिपय सभासदहरु महिना नसकिँदै ऋणका लागि झोली थापेर हिँड्ने गरेको महर्जन बताउँछिन् । ‘पार्टीको चर्को लेवी र सभासद भनेपछि के के न छ भन्ने सोचाइले गर्दा सभासदको हालत पातलो छ’ उनी भन्छिन् ।

कसरी काटिन्छ ?

तलब र भत्ताबाहेक सभासदले बैठकमा उपस्थित भएको दिनको २ सय रुपैयाँ भत्ता र १ सय ५० रुपैयाँ यातायात खर्च पाउँछन् । फर्निचरका लागि भनेर कार्यकालभर एकपटक ४२ हजार रुपैयाँ पाउँछन् ।

अधिकांश दलले सभासदको तलब सिधै सचिवालयमै कटाएर लेवी लिन्छन् । नेपाल मजदूर किसान पार्टी चाहिँ यस्तो पार्टी हो, जसले सबै सभासदको तलब पार्टीको खातामा हाल्छ ।

पार्टीको खातामा गइसकेपछि सभासदलाई पकेट खर्च वापत पार्टीले नै दिने गरेको छ । पूर्णकालीन नेता कार्यकर्ता भएकाले सबै तलब पार्टीले लिने गरेको त्यस पार्टीका सभासदहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment