Comments Add Comment

हामीलाई टुक्रा-टुक्रा पारेर सिध्याउन खोजियो : प्रचण्ड

Prachanda११ पुस, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले संविधान निर्माण प्रक्रियामा नेतृत्व लिने अवसर आएको भन्दै सबै कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन अपिल गरेका छन् ।

कम्युनिष्ट पार्टीलाई टुक्रा टुक्रा पारेर सिध्याउने षडयन्त्र भैरहेको भन्दै उनले त्यसबाट सचेत रहन सबैलाई आग्रह गरे ।

१२१ औं माओ दिवसको अवसरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘म माओवादी पार्टीबाट बिभाजित सबै माओवादीका धाराका नेता साथीहरुलाई एउटै केन्द्रमा आउन विशेषरुपले अपिल गर्न चाहान्छु ।’

बिभाजित कम्युनिष्ट पार्टीहरुले देशको नेतृत्व गर्न नसक्ने भएकाले सबभन्दा पहिले माओवादी पार्टीहरु एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए ।

‘जसले सँगसँगै लड्यौं, जजसको अपिल र आह्वानमा हजारौंले बलिदान गरे, ति पहिला एकताबद्ध हुनुपर्छ,’ प्रचण्डले भने, ‘अनि इमान्दार कम्युनिष्टहरुलाई एकताबद्ध पार्ने प्रयास थाल्नुपर्छ ।’

आगामी बैठकमा सबै कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध बनाउने प्रस्ताव पेश गर्न लागेको प्रचण्डले जानकारी दिए ।

आफूहरुमा यो देश र विश्व क्रान्तिको नेतृत्व गर्ने अवसर आएको प्रचण्डले दाबीसमेत गरे । उनले सबै कम्युनिष्टहरु मिलेमा विश्व क्रान्तिको नेतृत्व गरेर उदाहरण प्रस्तुत गर्न सकिने सम्भावना औंल्याए ।

‘चाहे त्यो संविधान निर्माण होस्, चाहे त्यो शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने कुरामा होस् या समाजवाद निर्माणको क्रममा होस्, हामी नेतृत्व गर्छौं,’ प्रचण्डले भने, ‘हामी सबै कम्युनिष्टहरुले गम्भीररुपले बिचार गर्ने हो भने विश्व क्रान्तिको नेतृत्व गर्ने सम्भावना पनि छ ।’

यो सम्भावना र अवसरलाई नगुमाउन एमाओवादीबाट अलग भएका र अरु सच्चा देशभक्त कम्युनिष्ट नेताहरुलाई उनले आग्रह गरे ।

सबै कम्युनिष्ट पार्टी एकताबद्ध भएर अघि बढे मात्रै माओप्रति सच्चा श्रद्धान्जली हुने उनको भनाइ थियो ।

लिलामणि पोख्रेललाई बेवास्ता !

प्रचण्डले सबै नेपाली कम्युनिष्ट पार्टी र एमाओवादी भित्रको आन्तरिक एकता मजबुत पार्न भनिरहेको बेला नेता लिलामणि पोख्रेललाई भने बेवास्ता गरेको थियो ।

मन्चमा प्रचण्डसहित नेताहरु अग्नी सापकोटा, पासाङ, देवेन्द्र पौडेल, दिनानाथ शर्मा बसेका थिए । तर, एकताप्रक्रियाबाट एमाओवादीमा आएका नेता लिलामणि पोख्रेल भने मन्चमा थिएनन् । उनी पार्टी केन्द्रीय कार्यालयको मूल ढोकाको छेउँमा भित्तामा आडेस लागेर किताब पढिरहेका थिए । उनलाई आसन ग्रहण पनि गराइएन ।

Lilamani Pokhrel
लिलामणि पोख्रेल (कालो टोपीमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment