Comments Add Comment

ग्यास आपूर्ति बढाउन सरकारलाई व्यवसायीको १० दिने अल्टिमेटम

Gyas-Byabasi-Mahasngh

११ पुस, काठमाडौं । ग्यास बिक्रेता महासंघले बजार मागअनुसार खाना पकाउने एलपी ग्यास अपूर्तिको व्यवस्था गर्न सरकारलाई १० दिने अल्टिमेटम दिएको छ ।

ग्यास उद्योगीको लापरबाहीका कारण डिलर र वितरकहरु पसलमा बस्न नसक्ने अवस्था सिर्जना भएको भन्दै महासंघले सरकारलाई अल्टिमेटम दिएको हो । १० दिनभित्रमा ग्यासको सहज अपूर्ति नभएमा पसलको ताला-चाँवी सरकारलाई बुझाउने महासंघका अध्यक्ष किशोर कुमार केसीले चेतावनी दिए ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी महासंघले ४० वर्ष अगाडिदेखि प्रयोगमा आएको ग्यासको राम्रोसँग व्यवस्थापन गर्न नसकेको भन्दै आक्रोस पोखेको छ । ‘हामी ग्यास बिक्री बन्द गरेर उपभोक्तालाई मर्कामा पर्ने मनस्थितीमा छैनौं’ महासंघका निवर्तमा अध्यक्ष विश्व अर्यालले भने- ‘सरकारले हाम्रा मागहरु १० दिनभित्र सम्बोधन गरेर व्यवसायीक वातावरण तयार गरिदियोस ।’

बढ्दो जाडोसँगै बजारमा ग्यासको मागमा वृद्धि भएको, तर आपूर्ति घट्दै गइरहेको बताउँदै बिक्रेताहरुले आफुहरु उपभोक्ताको आक्रोसको सिकार बन्न लागेको गुनासो गरे ।

उपभोक्ताले ग्यास नपाउँदा जनकपुरमा बिक्रेता शन्तोषकुमार झा कुटिए भने पाल्पा, वीराटनगर लगायतका स्थानहरुमा पनि बिक्रेताहरु असहजता महशुस गर्नुपरेको थियो । यो अवस्था भोली देशैभर आउने सम्भवना देखेर तालाचाँवी सरकारलाई बुझाउन थालेको अर्यालको भनाई थियो ।

उद्योगीहरुले ग्यासको आपूर्ति कम भएको भन्दै बजारमा अभाव सिर्जन गरेको आरोप बिक्रेताहरुको छ । बजारमा अभाव सिर्जना भएपछि उद्योगीहरुले पुराना डिलर तथा बिक्रेतालाई ग्यास नदिई कृतिम डिलर खडा गरेर उनीहरुमार्फत महंगोमा ग्यास बिक्री गर्ने गरेको अर्यालले बताए ।

LP-gas-cilinder

‘यसो गर्दा उद्योगीहरुले डिलरलाई दिनुपर्ने कमिसन बच्छ’ अर्यालले भने- ‘त्यसैले उद्योगीहरु बजारमा अभाव सृजना गरेर कालोबजारमा उत्रिन्छन् ।’ डिलरसँग ५ सय ग्राहक हुन्छन, उद्योगले ५० वटा ग्यास उपलब्ध गराउँछ, यस्तो अवस्थामा उपभोक्ताको माग कसरी पुरा गर्न सकिन्छ, उनको प्रश्न थियो ।

अहिले बजारमा ग्यासको चरम अभाव देखिएको छ । ग्यास किन्न एक हप्तादेखि हिँडिरहेका बुद्धनगरबासी रुमानन्द घिमिरेले अहिलेसम्म ग्यास पाउन नसकेको गुनासो गर्दै थिए । उनीमात्र नभई अहिले कुनै पनि ग्राहकले सहज रुपमा ग्यास पाउन सकेका छैनन् ।

उद्योगीहरुले अभावको बेलामा नयाँ सिलिन्डर बिक्री गर्न तल्लिन हुने पनि बिक्रेताको आरोप छ । नयाँ सिलिन्डर बिक्री गर्न सकेमा राम्रो आम्दानी हुने हुँदा पुरानो डिलरलाई भन्दा पनि नयाँ डिलर खोलेर सिलिन्डर बिक्री गर्ने गरेको अर्यालले सुनाए ।

नेपाल आयल निगमले प्रतिसिलिन्डर २ सय ३२ रुपैयाँ उद्योगी तथा बिक्रेतालाई दिने गर्छ । जसमध्ये २ सय रुपैयाँ उद्योगीले राख्छन भने ३२ रुपैयाँ बिक्रेताले पाउँछन् । सिलिन्डर बिक्री गर्न सकेमा एउटैबाट ४ सय ५० रुपैयाँ पाइने अर्यालले बताए । उनका अनुसार उद्योगीहरुले कृतिम डिलर खडा गरि सिलिन्डर बिक्री गर्दा बिक्रेताले पाउने ३२ रुपैयाँ आफैसँग रहने हुँदा त्यसतर्फ लाग्छन् ।

जाडोको समयमा ग्यासको माग बढी हुन्छ भने ग्यासको उत्पादन कम हुने गर्छ । यस्तो अवस्थामा ग्यास उद्योगीहरु खेलिदिँदा आपूर्ति व्यवस्थापनमा निकै समस्या हुने गर्छ । सरकारले अहिले बजारमा मागको तुलनामा आपूर्ति ४० प्रतिशत कम भएको बताए पनि व्यवसायीहरुले भने ८० प्रतिशतले घटेको दाबी गरेका छन् ।

जाडोमा ग्यासको आपूर्ति कम हुने भएपछि स्टोर गरेर राख्नुपर्ने बिक्रेताहरुको माग छ । अहिले उद्योगीहरुसँग ग्यास स्टोर गर्ने क्षमता नभएको बताउँदै उद्योगीहरु जर्किनमा रक्सी ल्याएर गिलासमा बाँड्ने भट्टी पसलजस्ता भएको आरोप लगाए ।

सरकारले उचित नीति नियम बनाउन नसक्दा यस्तो अवस्था सिर्जना भएको अर्यालले बताए । ग्यासको सहज आपूर्ति गर्न नसक्ने उद्योगीहरुलाई च्यापेर नराख्न आग्रह गर्दै उनले नयाँ उद्योगीलाई लाइसेन्स दिन पनि आग्रह गरेका छन् ।

सरकारले लाइसेन्स दिएमा ग्यास उद्योगमा लगानी गर्न आफुहरु तयार रहेको अर्यालले बताए । सरकारी नीति राम्रो नहुँदा ग्यासका सिलिन्डर केही सिमित व्यक्ति तथा र्फमको कब्जामा रहने गरेको उनको आरोप छ ।

‘तपाईहरु कहिल्लै होटलमा अभाव भएको सुन्नुभएको छ, ग्यास नभएर टेम्पो गुड्न नपाएको सुन्नुभएको छ, खाली सर्वसाधारणको घरमा मात्र किन ग्यास पुग्दैन’ अर्यालले प्रश्न गर्दै भने- ‘उनीहरुलाई उद्योगीहरुलाई आफै सप्लाई गर्छन ।’

होटललाई ग्यास दिँदा उद्योगीहरुलाई फाइदा हुने बिक्रेताहरुको ठहर छ । उपभोक्ताले कम प्रेसर भएको रेगुलेटर चलाउँछन भने होटलले उच्च प्रेसर भएको रेगुलेटर चलाउँछन् । उच्च प्रेसर भएको रेगुलेटरले पुरै ग्यास नतान्ने बताउँदै अर्यालले एक/२ किलो सिलिन्डरमै बच्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment