११ पुस, काठमाडौं । भारतीय जनता पार्टीको विधायक दलको बैठकले झारखण्डको मुख्यमन्त्रीका रुपमा रघुवर दासको नाम अनुमोदन गरेको छ ।
उनी झारखण्डको पहिलो गैरआदिवासी मुख्यमन्त्री हुनेछन् । यसअघि मुख्यमन्त्रीको दावेदारको रुपमा पार्टीका राष्ट्रिय उपाध्यक्ष रघुवरसँगै वरिष्ठ नेता सरयू रायको नाम पनि चर्चामा थियो ।
जमशेदपुर पूर्वी क्षेत्रबाट लगातार पाँच पटक विजयी रघुव दास पूर्वउपमुख्यमन्त्री समेत हुन् ।
झारखण्ड विधानसभाको कुल ८१ सिटमा भाजपाले ३७ सिट जितेको छ । जेएमएमले १९, कांग्रेसले ६, जेवीएमले ८ र अन्य पार्टीको ११ सिट छ ।
पाँच सिट जितेको आजसूले भाजपा सरकारलाई समर्थन गर्ने बताइसकेको छ । कुन स्वतन्त्र विधायकले पनि भाजपालाई समर्थन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।