Comments Add Comment

‘ठूलाबडा’को फेसबुक : कोही जिस्किने, कोही गाई दुहुने !

१२ पुस, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लाल सुदुर पश्चिमका न्यायाधीशलाई ध्यान सिकाउने कार्यक्रममा सहभागी बन्न धनगढी पुगे । त्यहाँ न्यायाधीशले एयरक्राफ्ट म्युजियमको अवलोकन गर्नेक्रममा केटाकेटीले जस्तै पाइलटको सीटमा बसेर तस्वीर खिचाए ।

Girish-chandra-lal

सम्मानित न्यायाधीशले ‘चकचक’ गरेको तस्वीर वेद उप्रेतीको फेसबुकमार्फत सार्वजनिक भयो ।

त्यसो त गिरीशचन्द्र लाल देश विदेश घुमिरहने न्यायाधीशमा पर्छन् । न्यायाधीशहरुले सार्वजनिक गतिविधिमा कमै सहभागिता जनाउने प्रचलन भएता पनि फेसबुकजस्तो सामाजिक सञ्जालको प्रवेशले अब उनीहरुको गतिविधि पनि ‘गोप्य’ रहन छाडेको छ ।

न्यायाधीश लालले विदेश जाँदा समुद्रतिर फर्केर संख फुक्दै गरेको तस्वीर पनि फेसबुकमा देख्न पाइन थालेको छ । उनले लेखेका कवितादेखि मोदी प्रधानमन्त्री हुँदा दिएका शुभकामना पनि अब गोप्य नरहने अवस्था छ ।

समाजले सम्मानित स्थानमा राखेका व्यक्तिहरुले सामाजिक सञ्जाल वा अन्य सार्वजनिक क्षेत्रमा प्रदर्शन गर्ने व्यवहार कस्तो हुनुपर्छ भन्नेबारे पर्याप्त बहस भएको छैन । अझ फेसबुक भीआइपीहरुको आचरण कस्तो हुने भन्ने विषयमा त हामीकहाँ खासै बहस नै सुरु भएको छैन ।

न्यायाधीश गिरिशचन्द्रलाल जस्तै फेसबकुमा रमाउने र आफ्नो अनुभूति एवं दृष्टिकोण जनसमक्ष ल्याउने क्रम नेताहरुमा बढ्न थालेको छ ।

प्रायः नाम चलेका व्यक्तिहरुले फेसबुकलाई आफू घुमेको स्थान, व्यवसाय र मनमा लागेका कुरा व्यक्त गर्ने माध्यम बनाउने गरेका छन् ।
विदेशमा पनि सार्वजनिक पदमा रहेका व्यक्तिहरु सामाजिक सञ्जालमार्फत जनतासँग निरन्तर सम्वादमा रहने गर्दछन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराई फेसबुक र टि्वटरमा निकै सक्रिय देखिन थालेका छन् । पत्रपत्रिकामा आफूलाई मन छुनेखालका कार्टूनहरु आए भने डा.भट्टराईले शेयर गर्न थालेका छन् ।

Baburam-facebook

हालै डा. भट्टराईले नेपालमा प्रकाशित रवीन्द्रको कार्टून आफ्नो फेसबुकमा शेयर गर्दै ‘एकछिन हाँसौं है ??’ भन्ने छोटो स्टाटस लेखेका छन् ।
एमाओवादी नेता डा. भट्टराईले शेयर गरेको कार्टुनमा आफ्नै पार्टीका अध्यक्ष प्रचण्डलाई हिन्दी चलचित्रको ‘पीके’ बनाएर व्यंग्य गरिएको छ । डा.भट्टराईले हलमै गएर पीके हेरिसकेका छन् ।

कांग्रेस नेता एवं अर्थमन्त्री डा. रामशरण महतले आफ्नो फेसबुकलाई पत्रपकिामा छापिएको समाचारको खण्डन र स्पष्टीकरण दिने माध्यमका रुपमा प्रयोग गर्न थालेका छन् । साथै आफ्ना व्यक्तिगत विषयहरु पनि डा. महतले फेसबुकमा पोष्ट गर्ने गरेका छन् । आफू युवाअवस्थामा हुँदा वीपी जयन्ती मनाएको तस्वीर मन्त्री महतको फेसबुकमा देख्न पाइन्छ ।

पूर्वअर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डेले फेसबुकमा जुत्ता प्रदर्शनीको तस्वीर पोष्ट गरेका छन् ।

एमाले नेता शंकर पोखरेल पत्रपत्रिकामा छापिएका आफ्ना अन्तरवार्ता, भनाइ र कार्यक्रममा सम्बोधन गरेका तस्वीरहरु फेसबुकमा राख्छन् । अर्का एमाले नेता तथा सभासद रवीन्द्र अधिकारीले कतिपय अवस्थामा ग्राफिक्सको समेत प्रयोग गरेर तस्वीर र भनाइहरु फेसबुकमा राख्छन् ।

फेसबुक चलाउने प्रायः सबै नेताहरुले आफूसँग सम्बन्धित कार्यक्रम, समाचार र लेख रचनाहरु फेसबुकमा शेयर गर्ने गर्दछन् ।

कांग्रेसका युवा नेता गगन थापाले फेसबुकलाई आफ्ना लेख रचना सम्प्रेषण गर्ने माध्यमका रुपमा समेत प्रयोग गर्दै आएका छन् । थापाले कतिपय बेलामा आफ्ना छोरी र पत्नीको पारिवारिक तस्वीर पनि फेसबुकमार्फत सार्वजनिक गर्ने गरेको पाइन्छ ।

नायिका विनिता बराल कृषि र पशुपालनमा लागेकी छन् । उनले आफ्नो फेसबुक पेजमा ‘गाई दुहुँदै’ भन्ने स्टाटस र तस्वीर पोष्ट गरेकी छन् ।

Binita-baral

नायिका रेखा थापा लगायतका धेरै चलचित्रकर्मीहरुले फेसबुकलाई आफ्नो फिल्मको व्यापार व्यवसाय बढाउन प्रयोग गर्ने गरेको पाइन्छ । रेखाले यमरी खान मन लाग्यो, कहाँ पाइएला भन्नेसमेत फेसबुकमा स्टाटस लेख्ने गरेकी छन् ।

बीबीसीका चर्चित पत्रकार रवीन्द्र मिश्रले आफ्नो अभियान ‘परोपकार पत्रकारिता’लाई फेसबकुमार्फत बढावा दिने गरेका छन् ।

फेसबुक पेजलाई नेता र भीआइपीहरुले विदेश भ्रमण गरेको दम्भ देखाउन प्रयोग गर्ने गरेका छन् भने लेख्ने र अन्तरवार्ता दिनेहरुले मिडियामा आएका विचारलाई फेसबुकमा प्रचार गर्ने गरेको पाइन्छ । यसका अतिरिक्त व्यक्तिगत रुची र मनको ढाडस पोख्ने माध्यमका रुपमा नेताहरुले फेसबुकलाई प्रयोग गर्ने क्रम बढेको छ ।

सम्माननीयको व्यवहार सधैं सम्मानीय हुनुपर्छ

न्यायाधीश लगायत सम्मानित पदमा बसेका र सार्वजनिक छवि बनाएका व्यक्तिहरुले ख्याल ठट्टा गरेका तस्वीरहरु फेसबुकमा सार्वजनिक गर्नु कत्तिको जायज होला ?

यो प्रश्नमा सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार श्रीप्रसाद पण्डित भन्छन्-‘मलाई फेसबुकप्रति घृणा लाग्छ । अझ जिम्मेवार पदमा बसेका मानिसको आचरण २४ सै घण्टा सम्मानित हुनुपर्छ । न्यायाधीशहरुले गम्भीर हुनुपर्छ ।’

तर, न्यायाधीशले पाइलटको सीटमा बसेर तस्वीर खिचाउनु कुनै आपत्तिजनक कार्य नभएको पण्डितले अनलाइनखबरलाई बताए । उनले भने-‘मलाई त्यो आपत्तिजनक कार्य लाग्दैन । अश्लील पनि होइन । उहाँले त्यसबाट केही सिक्नुभयो होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment