Comments Add Comment

एमाओवादी यथास्थितिमा कायम रहे पतन निश्चित : डा. भट्टराई

१२ पुस, बनेपा । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले माघ ८ मा संविधान निर्माणका लागि प्रमुख चार पक्षका बीचमा सहमति अनिवार्य रहेको बताएका छन् ।

BABURMA-BHATTARAI-AT-BANEPAकांग्रेस, एमाले, एमाओवादी र मधेशवादी दलहरुले विगतका सहमति-सम्झौतामा टेकेर संविधानमा साझा अवधारणा बनाउनैपर्ने भट्टराईको भनाइ छ ।

क्रान्तिकारी पत्रकार संघ काभ्रे शाखाको जिल्ला सम्मेलन शनिबार उदघाटन गर्दै सभापति भट्टराईले भने, ‘नियमावली परिवर्तन गर्नुपर्ने अवस्था त छ तर यी चार शक्ति मिले भने अहिले पनि माघ ८ भित्र संविधान जारी गर्न सम्भव छ ।’

संविधानमा महिला, दलित, जनजाति, उत्पीडित वर्गका मागलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । ‘त्यसो भएन भने जनताले फेरि अर्को विद्रोह गर्ने स्थिति पैदा हुन्छ, त्यसलाई कसैले पनि रोक्न सक्दैन,’ सभापति डा. भट्टराईले भने ।

संविधान बनेपछि दलहरुबीच ध्रुवीकरण हुन सक्ने भन्दै उनले त्यसतर्फ सबै सचेत हुनुपर्ने बताए ।

संघीयताका सन्दर्भमा पहिचानका ५ आधार, सामर्थ्यका ४ आधार र राज्य पुनःसंरचना आयोगले प्रतिपादन गरेको १ प्रतिशत जनसंख्या भएका भाषिक, जातीय समुदायलाई एक प्रदेश दिने सिद्धान्तका आधारमा सहमति गर्न सकिने उनले धारणा राखे ।

प्रत्यक्ष निर्वाचित कार्यकारी भएको शासकीय स्वरुप, समावेशी समानुपातिक प्रतिनिधित्व हुने निर्वाचन प्रणाली र संवैधानिक अदालतसहितको न्याय प्रणालीमा सहमति गर्न सकिने पनि उनले स्पष्ट पारे ।

एमाओवादीले क्रान्ति र परिवर्तनको चेतना अगाडि बढाउन सकेन भने अर्को शक्ति पैदा हुने उनले चेतावनी दिए । ‘जनताको समानता, न्यायको आन्दोलनको नेतृत्व गर्न सकेनौं, वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनविरुद्धको आन्दोलनको नेतृत्व गर्न सकेनौं भने हाम्रो पनि पतन अनिवार्य छ,’ डा. भट्टराईले भने ।

समाज-विकासको क्रममा एउटा कालखण्डमा एउटा शक्ति क्रान्तिकारी रहने र विस्तारै त्यो शक्ति यथास्थितिवादी बन्दै गएपछि पुनः नयाँ क्रान्तिकारी शक्ति अगाडि आउने क्रम चलिरहने उनको भनाइ थियो ।

पत्रकारलाई सुझाव

डा. भट्टराईले पत्रकारहरुमा कुनै पार्टीप्रति वैचारिक आस्था हुनु स्वाभाविक भए पनि पेशागतरुपमा भने पत्रकारिताको मर्म र सिद्धान्तबमोजिम एकरुपता कायम राख्न सक्नुपर्ने बताए । उनले शासन-सत्तामा रहेकाहरुको आलोचना गर्न सक्नुपर्ने पनि बताए । पत्रकारले सँधै बहुसंख्यक उत्पीडित वर्गको पक्षमा कलम चलाउनुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment