Comments Add Comment

वैद्यको दस्तावेज भन्छ : ‘मानिसको इच्छाले मात्रै क्रान्ति हुँदैन’

Mohan baidhya kiran

१२ पुस, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले मानिसको इच्छाले मात्रै क्रान्ति नहुने निश्कर्ष निकालेका छन् ।

विगतमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पनि वस्तुगत परिस्थिति तयार नभई कसैको इच्छाले मात्रै क्रान्ति नहुने बताउँदै आएका थिए । वैद्यको दस्तावेज मोहनविक्रमको नजिक देखिएको छ ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय भेलामा बैद्यले आफैं प्रश्न सोध्दै आफैं जवाफ दिँदै अन्तरवार्ताको शैलीमा २४ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका छन् । दस्तावेजको २१ औं पृष्ठ प्रश्नोत्तर शैलीमा छ ।

दस्तावेजमा वैद्यले जनविद्रोहमा जान नसक्नुका कारण उल्लेख गरेका छन् । मानिसको इच्छाले मात्रै क्रान्ति हुन नसक्ने भन्दै त्यसका लागि वस्तुगत अवस्था तयार हुनुपर्ने वैद्यको निश्कर्ष छ ।

वैद्यले आफ्नो दस्तावेजमा विद्रोह हुन नसक्नुको कारण आफ्नो पार्टीभित्रै रहेको बताएका छन् । पार्टी नेतृत्वपंक्तिबाट उदारवादी कमजोरी भएको उल्लेख गर्दै बैद्यले दस्तावेजमा ‘पार्टी कामको संक्षिप्त समीक्षा’ शीर्षकमा लेखेका छन्-‘अहिले हाामी पार्टी विभाजनको पीडामा छौं । यस विभाजनले पार्टीलाई ठूलो क्षति पुर्‍याएको छ ।’

तर, संगठनको मूलशक्ति आफूसँगै रहेको र असवरवादवाट मुक्त हुँदै गएपछि पार्टी सुदृढ बन्दै जाने दाबीसमेत दस्तावेजमा गरिएको छ । दस्तावेजमा भर्खरै पार्टी फुटाएर बाहिरिएका विल्लवको चर्को आलोचना गरिएको छ । विप्लव समूहको कार्यदिशा रहस्यवाद र शून्यवादमा फसेको बैद्यको निष्कर्ष छ ।

kiran-doc

वैद्यले आफ्नो दस्तावेजमा पार्टी फुटअघि विप्लव पक्षले लगाएका आरोपहरुको प्रश्न-उत्तर शैलीमा जवाफ दिएका छन् । अनलाइनखबरलाई प्राप्त वैद्यको दस्तावेजमा उल्लेखित प्रश्नोत्तर छ :

पहिलो प्रश्न : कार्यदिशा सारसंग्रहवादी छ किनभने यसमा एकसाथ जनयुद्ध र जनविद्रोह उल्लेख गरिएको छ । के सारसंग्रहवादी कार्यदिशा अवलम्बन गर्न सकिन्छ ?

-जनयुद्धको जगमा जनविद्रोह उल्लेख गर्दा एकैसाथ जनयुद्ध र जनजविद्रोह दुई परस्पर भिन्न अर्थ सम्वहन गर्ने पदावली प्रयोग हुन गएको छ । यसरी हेर्दा कतै यो सारसंग्रहवादी कार्यदिशा त होइन भन्ने भ्रम पैदा हुन पनि सक्छ । परन्तु, कुरा त्यसो होइन ।

एउटा अर्धसामन्ती तथा नव-औपनिवेशिक मुलुकमा दश वर्षसम्म सञ्चालित जनयुद्धका अनुभव र त्यसको जगमा नउभिइकन जनविद्रोहको कल्पना पनि गर्न सकिँदैन । अर्को कुरा जनयुद्धको जगमा जनविद्रोहको कुरा गर्दा प्रष्टत : जनविद्रोहलाई नै प्रधानता दिने कुरा स्वतःसिद्ध छ । यसरी यहाँ पदावलीको प्रयोगमा भ्रमित हुनुपर्ने कुनै कारण देखिँदैन ।

दोस्रो प्रश्न : जनयुद्धको जग भनेको के हो ? यो प्रष्ट छैन ।

– जनयुद्धको जगमा जनविद्रोह भनेको जनयुद्धको प्रक्रियामा पार्टी, जनसेना तथा जनताद्धारा हासिल गरिएका अनुभव, त्यस प्रक्रियामा विकसित वर्ग तथा जनचेताना र तीन साधन पार्टी, जनसेना तथा संयुक्त मोर्चाको समग्रता हो ।

तेस्रो प्रश्न : जनयुद्धको जगमा भनेको असली अर्थमा पहिलेकै तरिकामा जनयुद्धमा जाने र त्यसपश्चात जनविद्रोहमा र्फकने हो । तर, किन त्यसो गरिएन ?

– वस्तुत कुरा त्यसो होइन । यदि कुरा त्यसो हुन्थ्यो भने जनयुद्धको कार्यदिशा भने भइहाल्यो । त्यसमा जनविद्रोह जोड्नै पर्दैन ।

चौथो प्रश्न : के नेतृत्वद्वारा गम्भीरतापूर्वक जनविद्रोहको तयारीमा लाग्ने काम भएको छ ?

– हो । सक्दो प्रयास गरिएको छ । यहाँ भन्नैपर्ने कुरा के छ भने एकातिर तयारीका काममा भित्रैबाट गम्भीर प्रकारको अवरोध हुँदै आएको छ भने अर्कोतिर कयौं जटिलताहरुको सामना गर्दै जानुपर्ने स्थिति पनि छ ।

पाँचौं प्रश्न : जनविद्रोहको कार्यदिशा सुधारवादी हो । अतः यसलाई परित्याग गरेर जनयुद्धको क्रान्तिकारी कार्यदिशा अवलम्बन गर्नुपर्छ । के सुधारवादी कार्यदिशाद्धारा क्रान्ति हुनसक्छ ?

– यो अत्यन्त गलत हो । यदि जनविद्रोहको कार्यदिशा सुधारवादी हो भने माक्र्स, एङ्गेल्स र लेनिनलाई पनि सुधारवादी भन्नुपर्ने स्थिति आउन सक्छ । किनभने जनविद्रोहको कार्यदिशालाई विकसित गर्ने श्रेय उहाँहरुलाई नै छ ।

छैठौं प्रश्न : कतिपय मानिसहरु के ठान्छन् भने नयाँ जनवादी क्रान्तिको राजनीतिक कार्यदिशाले फौजी कार्यदिशासँग मेल खान्छ ? राजनीतिक कार्यदिशा एउटा र फैजी अर्को कसरी संगतिपूर्ण हुन सक्छ ?

– कुरा त्यसो होइन । पहिलो जनवादी क्रान्ति जनविद्रोहद्वारा नै सम्पन्न हुने गर्दथे । रुसमा पनि जनवादी क्रान्ति जनविद्रोहद्वारा नै भएको थियो । भियतनाममा सुरु भएको जनविद्रोहद्वारा नै जनवादी क्रान्ति सम्पन्न भएको थियो ।

सातौं प्रश्न : अहिले जनविद्रोहको जग भत्किएको छ । जनसेना, जनसत्ता केही पनि छैन । अनि कसरी जनयुद्धको जगमा जनविद्रोह हुन सक्छ ?
– अहिले सनसेना र जनसत्ता छैन । तर, जनयुद्धमा संलग्न योद्धा र जनता, जनयुद्धको अनुभव र शिक्षा, जनचेतना, र वर्गचेचतनाका लागि समृद्ध सामग्री त छन् । लेनिनले भन्नुभएको थियो-१९०५ को पूरा पूर्वाभिनय -रिहर्सल) विना १९१७ मा अक्टुबर क्रान्तिको विजय असम्भव थियो ।’ यहाँ लेनिनको भनाइ विशेष स्मरणीय छ ।

आठौं प्रश्न : नवसंशोधनवादीसँग विद्रोह गरेको डेढ वर्ष भइसक्यो । यति लामो समयसम्म पनि क्रान्ति गर्न सकिएन । अनि फुटको औचित्य के हो त ?

– फुटको औचित्य सिद्धान्त तथा राजनीतिबाट पुष्टि भएको छ । जहाँसम्म क्रान्तिको प्रश्न हो, त्यो मानिसको इच्छा मात्रमा होइन, वस्तुगत र आत्मगत परस्थितिको समग्र परिपक्वतामा आधारित हुन्छ । क्रान्ति सीधा होइन, बक्र रेखामा चल्ने गर्दछ । क्रान्ति उभार र उतार हुँदै विकसित हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment