Comments Add Comment

दाङमा ५ पक्की पुल बन्ने, कटुवा खोलामा शिलान्यास

BIMALENDRA-NIDHI,-DANG
कटुवाखोलामा पुल शिलान्यास गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि

निमुसंगम घर्ती
१२ पुस, घोराही । दाङका विभिन्न खोलाहरुमा पाँचवटा पक्की पुल बन्ने भएका छन् ।

घोराही-लमही सडकखण्डमा पर्ने कटुवाखोलामा शनिबार पुलको शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री विमलेन्द्र निधिले पुलको शनिबार शिलान्यास गरे । शिलान्यास कार्यक्रममा मन्त्री निधिले सरकारको प्राथमिकता भौतिक पूर्वाधार विकास भएको बताए ।  उनले भौतिक संरचनाहरुमा गुणस्तरीयता ल्याउन सम्वद्ध निकायलाई निर्देशन दिए ।

पुलको लम्बाई ४० मिटर र ९ मिटर १० सेन्टीमिटर चौडाई रहने मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङले जनाएको छ । पुलको दुबैतिर ६० सेन्टिमिटरको फुटपाथ छुट्टाइने छ ।

सो पुल निर्माणका लागि शंकरमाली निर्माण सेवाले ४ करोड १० लाख रुपैयाँमा निर्माणको जिम्मा लिएको सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कल्पना अधिकारीले जानकारी दिइन् । सम्झौता अनुसार सो पुल १० असोज २०७३ मा निर्माण सम्पन्न भैसक्नु पर्ने छ ।

यसैगरी बबई खोलामा, घोराही-तुलसीपुरको पत्रे, गुर्जे र संक्राम खोलामा पनि पक्की पुल बन्नेछन् । पत्रे खोलामा निर्माण हुने पुलका लागि रातो किताबमा १ करोड ५० लाख बजेट परेको छ ।

त्यस्तै बबई खोलामा पुल निर्माणका लागि ४० लाख, गुर्जे खोलाका लागि ४० लाख र संक्राम खोलामा पुल निर्माणका लागि १३ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ ।

बबई, गुज्रे र संक्राम खोलामा बन्ने पुलका लागि सडक विभागको पुल महाशाखाले सर्भे डिजाईन गरिरहेको र त्यसको रिपोर्ट आएपछि यसै बर्षमा ठेक्का जाने छ ।

यसअघि ति खोलाहरुमा ‘कचवे’ निर्माण गरिएको थियो । ‘कचवे’ लेउ जमेर गाडीहरु चिप्लने र पुल नहुँदा यात्रुहरु जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता थियो । प्रत्येक वर्ष ति खोलाहरुमा आउने बाढीले मान्छे र यातायातका साधन समेत बगाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment