Comments Add Comment

नेपालगञ्जमा कमल थापाको पुत्ला जलाइयो

putla१२ पुस, नेपालगञ्ज । हिन्दू राष्ट्रका नाममा जनतालाई धोका दिएको र व्यापार गरेको भन्दै नेपालगञ्जमा राप्रपा नेपाल (लावती समूह)का कार्यकर्ताले राप्रपा नेपालका अध्यक्ष कमल थापाको पुत्ला जलाएका छन् ।

रथ यात्राका नाममा देशव्यापी चन्दा उठाएर भ्रष्टाचार गरेको भन्दै शनिबार नेपालगञ्जको त्रिभुवन चोकमा थापाको पुत्ला दहन गरिएको पदमसुन्दर लावती नेतृत्वको राप्रपा नेपाल सुदृढीकरण अभियानका सहसचिव रामु राईले बताए ।

थापाको नेतृत्वमा राप्रपा नेपालले हिन्दु राष्ट्रको माग गर्दै मेची-काली रथयात्रा अभियान चलाउँदै आएको छ । थापाको रथायात्रा नेपालगञ्ज पुग्नुभन्दा एक दिन अगाडि शनिबार राप्रपा नेपाल सुदढीकरण अभियान बाँके जिल्ला कार्यसमितिले थापाको फोटोको पुत्ला बनाई जलाएको हो ।

पुत्ला जलाउने क्रममा सुदढीकरण अभियानका कार्यकर्ताले हिन्दू राष्ट्र जिन्दावाद ‘भ्रष्ट कमल थापा मुर्दावाद’ भन्दै नाराबाजीसमेत गरेका थिए । भगवान कृष्ण र अर्जुनभन्दा ठूलो आफ्नो फोटो राखेर प्रचार गर्दै कमल थापाले भगवान र धर्मको अपमान गरेको पुत्ला जलाउने नेताहरुले आरोप लगाए ।

संविधान लेखन प्रक्रिया महत्वपूर्ण चरणमा प्रवेश गरेका बेला संविधानसभा छलेर बाटोबाटो हिन्दू राष्ट्र पुनःस्थापन गर्छु भन्नु हास्यास्पद भएको, नेता सगुनसुन्दर लावतीले बताए । पुत्ला दहन कार्यक्रम अभियानका जिल्ला संयोजक दीपेन्द्र सिंहको अध्यक्षतामा भएको थियो ।

पुत्ला जलाउनुपूर्व सम्पन्न कोणसभामा केन्द्रीय तथा जिल्ला तहका नेताहरुले कमल थापाले बाटो बिराएको र राप्रपा नेपालको मूलभूत सिद्धान्तमा सम्झौता गरेको आरोप लगाए । अध्यक्ष थापाले २४ सभासद चयन गर्दा व्यापार गरेजस्तै हिन्दू राष्ट्रको नाम बेचेर फेरि भ्रष्टाचार गरेको भन्दै प्रल्हाद साहले आपत्ती जनाए ।

kamal thapa-rath nyatraथापाको रथयात्रा बुटवल पुग्यो
यसैवीच कमल थापाको नेतृत्वमा हिन्दु राष्ट्रको माग गर्दै झापाबाट सुरु भएको राप्रपा नेपालको रथयात्रा शनिबार हेटौंडाबाट चितवन हुँदै बुटवल पुगेको छ ।

रथ यात्राका क्रममा हालसम्म ५५ भन्दा बढी सभासहरु सम्पन्न गरिएको राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले अनलाइनखबरलाई बताए ।

रथ यात्रामा हजारौं कार्यकर्ता र जनताको सहभागिता रहेको र जनतामा हिन्दु धर्मको रक्षाप्रति उत्साह देखिएको राप्रपा नेपालका नेताहरुले दाबी गरेका छन् ।

चारपाङ्रे गाडीमा गाई र घोडाको प्रतिमासहितको आकर्षक रथको आकृति बनाएर अध्यक्ष थापाले झापादेखि नै अभियानको नेतृत्व गरिरहेका छन् । बृुधबार झापादेखि सुरु भएको रथयात्राका क्रममा १०८ स्थानमा सभा गर्ने राप्रपा नेपालको कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment