Comments Add Comment

संसदीय समितिमा बम पड्काउने कुराले हंगामा

१३ पुस, काठमाडौं । महिला बालबालिका समितिले आइतबारको बैठकमा पत्रकारहरुलाई छलफलका लागि बोलाएको थियो । छलफलको विषय थियो-नेपालको शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिकाहरुको अवस्था । तर पत्रकारहरुले समितिलाई दिएको सुझाव भन्दा सभासदहरुको अभिव्यक्ति रोचक थियो बैठकमा ।

Agni_Spktaएमाओवादी सभासद अग्नी सापकोटाले बैठकमा बोल्न सुरु गरे । उनले नेपालका सरकारी अस्पतालको दयनीय अवस्थाको चर्चा गरे । शिशाले हात काटेपछि उपचारको लागि बीर अस्पताल पुगेको आफ्नो भतिजोलाई चिकित्सकहरुले आईसीयूमा राखेर उपचार गरेको प्रसंग निकाले । त्यतिमात्रै होइन, आफू दाँतको उपचारको लागि जाँदा पनि चित्तबुझ्दो उपचार नपाएको गुनासो सुनाए सापकोटाले ।

‘बम पड्काउँदा पनि भएन अब के पड्काउने होला ?’ मुलुककै जेठो बीर अस्पतालमा उपचार गर्न जाँदाको अनुभव बैठकमा सुनाउँदै सापकोटाले भने, ‘अब आफै बुझ्नुस् सरकारी अस्पतालको हालत कस्तो छ होला ।’

सापकोटाले यसो भन्दा कतिपय सभासदहरुले अस्पतालमा बम पड्काउने कुरा गरेको भनेर आलोचना पनि गरे ।

rajendra-pandey
राजेन्द्र पाण्डे

डा. गोविन्द केसीलाई पागलको संज्ञा

मेडिकल कलेजलाई जथाभावि सम्वन्धन नदिन माग गर्दै बेला बेला अनसनमा बस्ने शिक्षण अस्पताल महाराजगन्जका डा. गोविन्द केसीलाई एमाले सभासदहरुले भने पागलको संज्ञा दिए ।

एमाले सभासदद्वय राजेन्द्र पाण्डे र वंशिधर मिश्रले डा. केसी अनसन बस्दा सरकार निरीह बनेको भन्दै आलोचना गरे । ‘पागल डाक्टर अनसन बसेकै कारण सरकारले मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिएको छैन,’ डा. मिश्रले बैठकमा भने, ‘सरकार पनि त्यही पागल डाक्टरको पछि कुदिरहेको छ ।’

डा. केसीले अस्पताललाई जभाभावि मेडिकल कलेजको सम्बन्धन दिन नहुने माग गर्दै आएका छन् ।

सभासद पाण्डेले सरकारी चिकित्सकहरुले अस्पताल भन्दा निजी क्लिनिकमा धेरै समय दिने गरेको भन्दै डाक्टरहरुलाई सर्पसँग तुलना गरे । उनले भने, ‘जसरी खुल्ला चौरमा सर्पलाई राख्यो भने प्वाल खोज्दै हिँड्छ, डाक्टर पनि त्यस्तै रहेछन्, अस्पतालमा त टिक्दै नटिक्ने ।’

Ganesh-thapa-1गणेश थापाले भने-संसदीय समिति नालायक

समितिको बैठकमा बोल्ने पालो आयो राप्रपा नेपालका सभासद गणेश थापाको । उनले आफू सदस्य रहेको महिला बालबालिका समितिबाहेक अरु सबै संसदीय समिति नालायक रहेको बताए ।

संसदीय समितिहरुले जथाभावि निर्देशन दिने तर, ति निर्देशन पालना गर्न लायक नै नहुने उनले जिकीर गरे । ‘संसदका अरु कुनै पनि समिति निर्देशन दिन लायक छैनन्, जथभावि निर्देशन दिँदा कार्यान्वयन पनि भएका छैनन्, सभासद थापाले प्रश्न गर्दै भने, ‘निर्देशन दिन लायक भएको भए त कार्यान्वयन हुनु पर्ने हो । किन भएन त ?’

यसअघि सार्बजनिक लेखा समितिले थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षबाट हटाउन खेलकुद मन्त्रालयलाई निर्देशन दिएको थियो । यद्यपी खेलकुद मन्त्रालयले हटाउनु अघि नै उनले पद त्याग गरेको घोषणा गरेका थिए । सायद उनले महिला बालबालिका समितिको बैठकमा त्यही आक्रोश पोख्दै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment