Comments Add Comment

विप्लवको हतियार र सभासदको सुरक्षाबारे गृह मन्त्रालयमा छलफल

१३ पुस, काठमाडौं । माघ ८ नजिकिँदै गर्दा संविधान जारी भए पनि नभए पनि राजधानीलगायत देशका संवेदनशील क्षेत्रमा गडबडी हुने आशंकामा उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले सुरक्षा अधिकारीहरुसँग अनौपचारिक छलफल गरेका छन् ।

आइतबार तीन घण्टासम्म नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागन तथा सीमा सुरक्षाका अधिकारीहरुको गम्भीर बैठक बसेको स्रोतले जनाएको छ ।

Home-ministry

गृहमन्त्रालयको आपतकालीन उद्धार केन्द्रमा तीन घण्टा लगातार बसेको बैठकमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि सामेल थिए । बैठकमा सीमा क्षेत्रका प्रजिअहरुलाई बोलाइएको स्रोतले जनाएको छ ।

केन्द्रीय सुरक्षा समितिको अनौपचारिक बैठकमा मोहन वैद्यबाट फुटेका विप्लबको हतियार र सैन्य तयारीको सम्भावनादेखि भारत चीन सिमा जोडिएका क्षेत्रमा हुन सक्ने धार्मिक र जातीय वितण्डाका बारेमा समेत छलफल भएको एक सुरक्षा अधिकारीले बताए ।

विप्लवसँंग कति हतियार होलान् ?

बैठकमा यसबारे छलफल हुदै गर्दा गृहमन्त्री गौतमले हतियार कति छन् भन्दा पनि कसरी नियन्त्रण गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने आशय व्यक्त गरेका थिए । ‘हतियार त जोसँग पनि छ । चलाउन पो दिनुभएन त ।’ गौतमको भनाइ उधृत गर्दै एक सहभागीले भने ।

धार्मिक अतिवादीहरुका कारण पनि सुरक्षास्थितिमा खतरा हुने भन्दै बैठकमा कमल थापा र खुमबहादुर खड्काको अभियानको बारेमा पनि चासो व्यक्त भएको थियो ।

बैठकमा प्रहरीका तर्फबाट सुरक्षा अवस्था अहिलेसम्म स्थिर रहेको र माघ ८ लाई केन्दि्रत गरेर अलग्गै रणनीति बनाइँदै गरेको जानकारी दिएका थिए । सशस्त्र प्रहरीले भने भारतीय सीमावर्ती क्षेत्रमा हतियारधारीहरुको आवत-जावत बढेको रिपोर्ट दिएको स्रोतले जनाएको छ ।

नेपाली सेनाले भने आन्तरिक सुरक्षा व्यवस्थापनमा केही समस्या परेमा र सरकारले निर्देशन दिएमा नेपाली सेना हरदम तयार रहेको जानकारी बैठकमा गराएको स्रोतले जनाएको छ ।

सभासदलाई थ्रेट ?

यसैबीच संविधानसभा भवन र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती बढाउने योजना पनि बैठकमा बनेको छ ।

संविधानसभा भवन बानेश्वर परिसरमा हाल नेपाल प्रहरी र सशस्त्रको युनिट तैनाथ छ । केही दिनमै त्यहाँ दुबै निकायबाट थप जनशक्ति पठाउने योजना गृह मन्त्रालयले बनाएको छ ।

माघ ८ को आसपासमा विभिन्न समूहले त्यस क्षेत्रमा धर्ना जुलुस गर्ने र सभासदमाथि हातपातका घटना समेत हुने सम्भावनालाई मध्यनजर गर्दै सभासदको सुरक्षामा पनि ध्यान दिइने भएको छ ।

सुरक्षा खतरा भएका र हुन सक्ने सभासदको थ्रेट विश्लेषण गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाउने बारेमा छलफल भएको स्रोतले जनाएको छ ।

माघ ८ को आसपासमा नेपाली सेनाका उपत्यकास्थित सबै युनिट हाई अलर्टमा बस्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment