Comments Add Comment

राप्रपा नेपालको रथयात्रा भक्तपुरमा, थानकोटमा कमल थापाको पुत्ला दहन

१७ पुस, काठमाडौं । हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्दै राप्रपा नेपालको मेची-महाकाली रथयात्रा विहीबार काठमाडौं आइपुगेको छ । ९ पुसमा झापाबाट सुरु भएको रथयात्रा सुदूरपश्चिमको कन्चनपुर पुगेर काठमाडौं उपत्यका भित्रिएको हो ।

RATH-YATRA-OF-RPP-NEPALरथयात्रा विहीबार भक्तपुर पुगेको छ । भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा आयोजित सभालाई सम्वोधन गर्दै अध्यक्ष कमल थापाले नेपालमा हिन्दु राज्य पुनःस्थापना गराएरै छाड्ने दाबी गरे । विदेशी शक्तिहरुको चलखेलबाट दलहरुले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएको आरोप लगाउँदै उनले नयाँ संविधानमा सनातन हिन्दु राज्य उल्लेख गर्नुपर्ने बताए ।

रथयात्राको टोली शुक्रबार विहान भक्तपुरमा पूजापाठ गरी काठमाडौं आउने छ । काठमाडौंको खुलामन्चमा जनसभा गरी रथयात्राको औपचारिक समापन गरिनेे राप्रपा नेपालले जनाएको छ । समापन पछि पशुपतिनाथ मन्दिरमा विशेष धार्मिक अनुष्ठानसहित पूजाआजा गरिने राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

KAMAL-THAPA-KO-PUTLA-DAHAN

  • थानकोटमा कमल थापाको पुत्ला जलाउँदै असन्तुष्ट पक्षका कार्यकर्ता

कमल थापाको पुत्ला दहन

यसैबीच राप्रपा नेपालको असन्तुष्ट समुहले भन रथयात्रा काठमाडौं भित्रिएकै दिन पार्टी अध्यक्ष कमल थापाको पुत्ला जलाएको छ । पद्मसुन्दर लावति नेतृत्वको असन्तुष्ट समुहले गठन गरेको ‘राप्रपा नेपाल सुदृढीकरण अभियान’ले काठमाडौंको थानकोटमा कालो झण्डा देखाउँदै पुत्ला जलाएको हो ।

रथयात्रा काठमाडौं प्रवेश गर्ने समयमा सो समुहले कमल थापा विरुद्ध नाराबाजीसमेत गरेका थिए । थापाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रमा सम्झौता गरेको असन्तुष्ट समुहले आरोप लगाउँदै आएको छ ।

विरोध प्रदर्शनको क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै सुदृढीकरण अभियानका नेता प्रल्हाद साहले भने, ‘२४ सभासद चयन गर्दा करौंडो भ्रष्टाचार गरेका कमल थापाले हिन्दू राष्ट्रको नाममा व्यापार गरिरहेका छन् । थापा असली राजावादी होइनन्, हिन्दू राष्ट्रवादी पनि होइनन् उनी त केवल अवसरवादी मात्र हुन् जो कुरा रथयात्राको क्रममा सार्वजनिक गरिएको संकल्प प्रस्तावबाट पनि पुष्टी हुन्छ ।’

रथयात्राको बेला जारी संकल्प प्रस्तावमा थापाले संवैधानिक राजतन्त्र उल्लेखै नगरेर पुरानो अवसरवादी मुसा प्रवृति प्रदर्शन गरेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment