Comments Add Comment

यस्तो रहेछ वैद्यको जनवादी क्रान्तिको ‘प्लान’

१८ पुस, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य यतिबेला बिरामी छन् । वैद्यलाई क्रान्तिकारी नेता चे ग्वेभारालाई जस्तै दमको रोगले समातेको छ ।

तर, बिरामी अवस्थामै भए पनि वैद्यले जनवादी क्रान्ति अघि बढाउने प्रतिवद्धता दोहोर्‍याउन छाडेका छैनन् ।  आखिर कस्तो छ त वैद्यको जनवादी क्रान्तिको योजना ? यसैसाता राजधानीमा सम्पन्न राष्ट्रिय भेलामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा माओवादी नेता वैद्यले नेपालमा जनवादी क्रान्ति कसरी गर्न सकिन्छ भन्नेबारे व्याख्या गरेका छन् ।

वैद्यले पार्टीको गोप्य भेलामा महासचिव रामबहादुर थापा वादल र पम्फा भुसालको समेत आलोचना गरेका छन् । माओवादी अध्यक्ष वैद्यले भेलामा गरेको व्याख्याको सम्पादित अंश उनकै शब्दमा :

Mohan baidhya kiran

जनविद्रोह र जनयुद्धबारे

साथीहरुले जनविद्रोहमा सशस्त्र जनविद्रोह शब्द राख्नुपर्छ भन्नु भो । ठीकै छ, यो कुनै आपत्तिको विषय नै होइन । जनविद्रोह भनेको सशस्त्र विद्रोह नै हो । सामरिक हटाएर फौजी शब्द राख्नुपर्छ भन्नेमा पनि केही आपत्ति छैन ।

तपाईहरुले ‘जनयुद्धको निरन्तरतामा जनविद्रोह’ राख्नुपर्छ भन्नुभो, ‘जनयुद्धको निरन्तरता’मा हुँदैन । जनयुद्धको निरन्तरता भनेपछि जनयुद्धमा जानुपरिहाल्यो नि ।

जनविद्रोह विकसित हुन्छ, पुरानो तरिकाले हुँदैन । रुसको यान्त्रिक नक्कल गरेर हुँदैन । जनयुद्ध पनि पुरानै तरिकाले हुँदैन । अहिले जनयुद्धको सम्भावना छैन । सम्भावना नै छँदैछैन भन्नेखालको कुरा होइन, देव गुरुङजीले जे भन्नुभएको छ, त्यही हो ।

अब कसरी अगाडि बढ्ने त ?

अब हामीले नयाँ तरिकाले जान खोजेको हो । यो अलि मौलिक प्रकारको छ । एउटा के हो भने गाउँ र शहरका वीचको सम्बन्ध । लेनिनको मान्यता अनुसार हो भने गाउँमा ध्यान दिनुहुन्न, मुख्यतः सहरमा ध्यान दिनुहुन्छ । तर, गाउँ छाड्नुहुँदैन, गाउँलाई जग बनाएर अघि बढ्नुपर्छ । अहिले गाउँमा जाऔं भन्न खोजेको होइन कि गाउँमा जग बनाएर जाऔं । शहरमा पनि थुप्रै कामहरु छन् । त्यसकारण गाउँ र सहरको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ ।

सत्ताबारे के गर्ने ?

सत्ता भन्नासाथ केन्द्रीय सत्ता र स्थानीय सत्ता हुन्छन् । हामीले नयाँ जनवादी सत्ताको नारा प्रचारात्मकरुपमा भए पनि लगाइरहनुपर्छ । र, हामीले केन्द्रीय सत्ता र स्थानीय सत्तावीचको सम्बन्धलाई पनि बुझ्नुपर्ने हुन्छ ।

वैधानिक र अवैधानिक संघर्ष

तेस्रो, बैधानिक र अवैधानिक संघर्षवीचको सम्बन्ध पनि ख्याल गर्नुपर्छ । शान्तिपूर्ण तरिकाले मात्रै हुन्छ भन्न खोजेको होइन । शान्तिपूर्ण पनि गरिरहनुपर्छ, अवैधानिक संघर्ष पनि गरिरहनुपर्छ । र, लास्टमा मुख्यतः के हो भने अवैधानिक संघर्ष नै हो । किनभने हतियार नबोकिकन हुनेवालै छैन । त्यसकारण हामी सर्तक रहनुपर्छ अहिलेदेखि नै । यसका लागि पार्टी, सेना र संयुक्त मोर्चा यी तीन जादुगरी हतियार चाहिन्छ । यो नभइकन हुँदैन ।

संयुक्त मोर्चा गाह्रो कुरा रहेछ

यो संयुक्त मोर्चाको निर्माण असाध्यै गाह्रो कुरा हो । त्यसैले संयुक्त मोर्चा भन्नाले हाम्रा जनवर्गीय मोर्चाहरुलाई संगठित गरेर लैजानुपर्छ । यसलाई जोडेर विगतमा जस्तो संयुक्त जनपरिषद बनाउने । आवश्यकता अनुसार संयुक्त मोर्चा कस्तो हुन्छ, कस्तो हुन्छ, अहिल्यै भन्न सकिँदैन ।

सेना निर्माण कसरी हुन्छ भन्दा गाउँमा पनि र शहरमा पनि सेना हुनुपर्‍यो ।

अन्तरराष्ट्रिय सहयोग नभई हुन्न

पाँचौं, राष्ट्रिय र अन्तरराष्ट्रिय कामको समन्वय हुनुपर्छ । हामीलाई राष्ट्रियले मात्रै पुग्दैन । बाहिरी मुलुकको कतै न कतै, केही न केही सहयोग जरुरी छ । त्यसैले हामीले अन्तरराष्ट्रिय समर्थन जुटाउने प्रयास गर्नुपर्छ ।

हामीलाई भारत र चीनमा मात्रै होइन, विश्वका भाइचारा वामपन्थीहरुको पनि संगठन चाहिन्छ । हामीले त्यस प्रकारको संगठनका साथै साम्राज्यवाद विरोधी मोर्चाहरु पनि बनाउनुपर्छ । यसरी राष्ट्रिय र अन्तरराष्ट्रिय दुबै किसिमका तयारी हामीले गर्नुपर्छ ।

चिनियाँ कम्युनिष्ट पार्टीबारे दोहोरै कुरा हो । सैद्धान्तिक वैचारिक रुपमा त हाम्रो मिल्दैन । तर, ब्यालेन्स नमिलाइकन हामी सक्दैनौं । ब्यालेन्स गर्नुपर्छ भन्न खोजेको हो । यो आइएसआइको बारेमा अलि अध्ययन गरेरै लेख्नुपर्ला भनेर नलेखेको हो ।

अरुलाई पनि तान्नुपर्छ

आजको जमाना टोटल वारको जमाना हो । जनयुद्धको तयारी गरेर जाने हो भने हामीले अरु पार्टीमा रहेका मान्छेलाई पनि तान्नुपर्छ । सरकारमा रहेका मान्छेलाई पनि तान्नुपर्छ ।

कर्मचारीलगायत विभिन्न संयन्त्र छन्, तिनीहरुलाई पनि तान्नुपर्छ । यसका लागि उनीहरुका मागलाई लिएर हामीले अगाडि बढ्नुपर्छ । जनजिविकाका कुराहरुलाई हामीले सशक्तरुपमा लैजानुपर्छ ।

यिनै छ वटा बुँदामा विचार गर्नुपर्छ भनेर हामीले राखेका छौं । यी ६ वटा बुँदाले जनयुद्ध र जनविद्रोह दुबैका विशेषतालाई जोडेका छन् ।

क्रान्तिको खाका

जनविद्रोहको खाका कस्तो हुन्छ भन्दा क्रान्तिका लागि वस्तुगत पक्ष र आत्मगत पक्ष मिल्नुपर्छ । यो मिल्यो भने क्रान्ति हुन्छ । जनता भनेका किसानहरु हुन्, उनीहरुलाई पसिन तान्नुपर्छ ।

जनता दुस्मनको सत्तामा रहन नचाहने र दुस्मनले पनि तिनीहरुलाई कन्ट्रोल गर्न नसक्ने अवस्था आउनुपर्छ । त्यो बेलामा विद्रोह हुन्छ । त्यसका लागि हामीले तयारी गर्नुपर्छ । यसका लागि हामीले वर्ग संघर्ष, राष्ट्रियताका लागि संघर्ष र कार्यक्रम अप गर्दै गर्दै अभियानका रुपमा परिचालित गर्दै जानुपर्छ । गाउँ पनि छाड्नु हँदैन, सहर पनि छाड्नु हुँदैन ।

अहिले यिनीहरुले जनताको संविधान बनाउँदैनन् । यसवीचमा हामी जनताको वीचमा राम्रो तरिकाले जानुपर्छ ।

हामी ०४६ /०४७ सालमा असाध्यै साना थियौं । सात-आठ वर्षसम्म एउटा मोर्चा बनाइयो । त्यसबेला हामीले गरेको के हो भने कांग्रेस एमालेको भण्डाफेर गरेको हो । अहिले पनि हामीले यो संविधानसले जनताको समस्या समाधान गर्दैन भन्दै कांग्रेस र एमालेको भण्डाफोर गर्नुपर्छ ।

यसो गर्दै गएपछि हामीले आधार तयार पार्छौं । यो चिज हामीले हेर्नुपर्छ । हेरिरहनुपर्छ । आफ्नो संगठनलाई तयारी गर्दै जानुपर्छ ।

हाम्रो कमजोरी कहाँ छ ?

अनुशासन भंग भएका बेलामा हामीले अनुशासनको कारवाही गर्न सकेका छैनौं । हैरान परिसक्यौं, तैपनि कारवाही गर्न सकिन्न ।
अर्को के हो भने पार्टीभित्र आत्मालोचना आलोचनाको पद्दति पार्टीभित्र खस्किएको छ ।

माओले आत्मालोचना आलोचनाको पद्दतिलाई पार्टीभित्रको अन्तरविरोध हल गर्ने पद्दति हो भन्नुभएको थियो । आत्मालोचना आलोचनाको माध्यमबाट थुप्रै कुराहरु हल गर्न सकिन्छ ।

बादलजीको सन्दर्भमा पनि कुराहरु आएको छ । गुरुङजी पम्फाजीको सन्दर्भमा पनि कुरा आएको छ । कमजोरीको कुरा गर्नुहुन्छ भने उहाँहरुले पूरै तलसम्म गएर भन्नुभएको छ । यहाँभित्र भन्ने हो नि त । पार्टीभित्र नभन्ने हेर्नोस् । तलसम्म गएर भन्ने । हाम्रा पनि अभिव्यक्तिमा अलिअलि बिगि्रएका छन् । त्यसकारण लिडरसीपका साथीहरुले बोल्दाखेरि ख्याल गर्नुपर्छ । ख्याल नगर्ने हो भनेदेखि बडा बर्बाद हुन्छ । अब यी कमजोरी नदोहोर्‍याउने प्रतिवद्धता जाहेर गर्छु ।

हामीले पार्टीभित्रै यति यति छ भनेर गरेका छौं, त्यही नै ठीक होला ।

विप्लवलाई बढी महत्व दिएको भनिएको छ, उनी कस्सिएका कस्सिएकै छन् । उनले नयाँ प्रवृत्ति बोकेर आए । बढी क्षति भन्ने शब्द हटाएर केही भन्ने राख्नु पर्ला ।

राष्ट्रिय संयुक्त सरकारको के हो भन्दा उनीहरुले संविधानसभा विघटन गर्न तयार भएको अवस्थामा जान सकिन्छ । यो तात्कालीन नारा हो । भूपू गोर्खाका बारेमा हामीले अध्ययन गर्छौं । यसबारे कार्यदल गठन गर्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment