Comments Add Comment

आधारातमा संविधानसभाभित्र जे देखियो

Nepal-Ca-Todfood-3

मात्रिका पाैडेल

६ माघ, काठमाडौं । सोमबारको रात सकिएर मंगलबारको प्रहर शुरु हुँदै गर्दा मध्यराति साढे १ बजे संविधानसभाको बैठक शुरु हुनासाथ बोल्ने समय पाएका डा. बाबुराम भट्टराईले नेपालमा धेरै अप्रिय घटनाहरु मध्यरातमै भएको बताएर अनिष्टको संकेत गरिसकेका रहेछन् ।

उनले कोतपर्वदेखि बिभिन्न काण्डहरु मध्यरातमा भएको भन्दै आफूले बोलिसकेपछि संविधानसभामा पनि महाभारत हुन सक्ने बताउनु र लगत्तै एमाओवादी पक्षबाट एकतर्फीरुपमा आक्रमण तथा तोडफोड हुनु संयोगमात्र थियो भन्न सकिन्न ।

एमाओवादी सभासदको आक्रमणबाट सामान्य चोट भेटेकी एमाले उपाध्यक्ष तथा सभासद विद्या भण्डारीको आरोप सिधै बाबुराममाथि सोझिनु आक्रोशको अभिव्यक्ति हो कि वास्तविकता ? यो प्रश्नको जवाफ सम्भवतः बाबुरामले दिनेछन् ।
विद्या भण्डारीले भनेकी छन्-हामीमाथि बाबुरामले अह्राएका सभासदले ताकी ताकी हमला गरे ।

जब संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली बनाउनका लागि विशेष समिति गठनको प्रस्ताव पेश गर्न कांग्रेस मुख्य सचेतक चीनकाजी श्रेष्ठलाई बोलाए, तब एमाओवादी सभासद दलजित सिरपाइली छापामार शैलीमा सभामुखमाथि आक्रमण गर्न रोष्टम नाघेर गए ।

राजनीतिक शिष्टता पनि रहेन

प्रचण्ड र बाबुरामकै सामुन्ने केही माओवादी सभासदले आफ्नो कुर्सी अगाडिको माइक भाँचेर एमाले अध्यक्ष केपी ओलीमाथि प्रहार गर्दा,एमाओवादी नेताहरुले सामान्य शिष्टता पनि देखाउन चाहेनन् वा सकेनन् ।
ओलीलाई हानेलगत्तै एमालेका सभासदहरु शेरधन राई, ऋषिकेश पोखरेल, धनबहादुर घले, कर्ण थापा, रामेश्वर फुयाललगायत आफ्ना नेतालाई बचाउन अगाडि सरे ।

तर, त्यसबीचमा अर्को माइकले एमाले उपाध्यक्ष विद्या भण्डारीको खुट्टामा लागिसकेको थियो । तेस्रो प्रहार रोक्न खोज्दा सभासद ऋषिकेश पोखरेल पनि सामान्य घाइते भए ।

‘हामीलाई आफू बसेको ठाउँबाट नउठ्ने निर्देशन थियो, हाम्रा नेतामाथि आक्रमण गर्लान् भन्ने सोचिएन’ सभासद विनोद श्रेष्ठले भने ‘हामी पनि प्रत्याक्रमणमा उत्रिएका भए जे पनि हुन सक्थ्यो’ ।

कांग्रेस र एमालेले एमाओवादी मोर्चाबाट सामान्य रोष्टम घेराउ गर्ने अनुमान लगाउँदै आफ्ना सभासदलाई उत्तेजित नहुन र बसेको ठाउँबाट नउठ्न निर्देशन दिएका थिए ।

आफ्नै कुर्सी तोडफोड

तर, उनीहरु हिंसात्मक ढंगले प्रस्तुत भएपछि सत्ता पक्षका सभासदहरु अलमल्ल परेका थिए । सभाध्यक्षले बैठक स्थगित गरेपछि झन् धेरै तोडफोड र मर्यादापालकमाथि आक्रमण भएको थियो ।

आक्रमणमा उत्रिएका सभासदहरुले अश्लील शब्दसमेत प्रयोग गरेका थिए, जुन सार्वजनिक रुपमा प्रयोग गर्न मिल्दैन । संविधानसभा बैठक स्थगनपछि आफैं बस्ने कुर्सी र माइक तोडफोड गर्दा सभासदहरु सभासद होइन, अराजक जत्थाजस्तै देखिन्थे ।

सामान्यतः बैठक स्थगनपछि रोष्टम घेराउ र बिरोधका कार्यक्रम सकिन्छन् । तर, यसपटक संविधानसभामा सबैभन्दा ठूलो क्षति बैठक स्थगनपछि भयो ।

तोडफोडबाट लाखौंको नोक्सानी भएको छ । यो नोक्सानी सम्बन्धित दलका सभासदको तलब भत्ताबाट क्षतिपूर्ति गराउन संविधानसभा अध्यक्ष नेम्वाङले सक्छन् कि सक्दैनन् ? यो अर्को प्रश्न हो ।

मर्यादापालकमाथि अमर्यादित व्यवहार

मर्यादापालकहरु आक्रमणमा उत्रिएका सभासदलाई नमस्कार गर्दै फर्काउन खोज्दै थिए । तर, माननीयहरु भने मर्यादापालकलाई नै झम्टिँदै सभामुखमाथि हमला गर्न अग्रसर थिए ।

विशेष गरी एमाओवादी सभासदहरुको निशानामा एमाले नेतृत्व देखिन्थ्यो । ओलीमाथि हमला भएपछि एमाले सभासद र मर्यादापालकको ठूलो संख्या एमाले नेतृत्वको सुरक्षामा खटिएको देखियो ।

सभासदहरुको आक्रमण र रोक्न खोज्दा भएको ठेलमठेलका कारण कम्तिमा आधा दर्जन मर्यादापालक घाइते भएका छन् । तीमध्ये तीन गम्भीर घाइतेलाई मध्यरातमै उपचारका लागि वीर अस्पतालमा लगिएको छ ।

मर्यादापालकहरु चरित्र तिवारीको टाउको फुटेको छ भने विष्णु तिवारीको हात भाँचिएको छ । त्यस्तै सुनिता सुब्बाको हात मर्किएको छ ।

संविधानसभामा भएको आक्रमण र तोडफोडको दृष्य शुरुदेखि अन्तिमसम्म प्रधानमन्त्री सुशील कोइराला र उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम हेरेर बसेका थिए ।

एमाओवादी अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराईलगायतका नेता सभासदको हर्कत बढ्दै जाँदा किकर्तव्यबिमूढ देखिन्थे ।
एमाओवादीका पाका सभासद मानिने लेखा समितिका सभापति समेत रहेका जनार्दन शर्मा आफैं मर्यादापालकसँग कुस्ती खेल्दै सभामुखको आसनतर्फ जान खोजेको दृश्य लज्जाजनक देखिन्थ्यो ।

रोक्न खोज्नेको हालत

सभासदलाई तोडफोड र आक्रमणमा नउत्रिन एमाओवादीका उपनेता टोपवहादुर रायमाझी र समाजवादी दलका प्रेमबहादुर सिंह भिडे पनि उनीहरुको केही जोर चलेन ।

संविधानसभाभित्र जुन घटना भइरहेको थियो त्यो देखेर मधेसी मोर्चाका शीर्ष नेताहरु गम्भीर मुद्रामा थिए । ‘यो संविधानसभामा कालो दिन हो, यस्तो हुनै हुन्नथ्यो’ मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले भने ‘यस्तो नगरेको भए पनि हुन्थ्यो’ ।

यस्तो नगर्दा के हुन्थ्यो ?

एमाओवादी मोर्चाले आफ्नो सभासदलाई शान्तिपूर्ण रुपमा रोष्टम घेराउ गर्न मात्र लगाएको भए पनि उसको उद्देश्य पूरा हुने थियो । आखिर नाराबाजीका बीच सभाध्यक्षले प्रश्नावली समिति प्रस्ताव गर्ने थिएनन् ।

त्यसमाथि बैठक नै स्थगित गरेर सभाध्यक्ष हिँडेपछि जसरी उद्दण्ड रुपमा सभासदहरुले तोडफोड र आक्रमण गरे, त्यो एमाओवादी नेतृत्वकै लागि पनि लज्जाजनक घटना हो ।

राजनीतिक संस्कार, सभासदको मर्यादा, संविधानसभाको गरिमा बिर्सेर जुन घटना भयो, त्यसले एमाओवादी नेतृत्वलाई एकपटक पुनः समीक्षा गर्न बाध्य पार्नेछ । अहिले आलोचना जस्तो लागे पनि एमाओवादी नेतृत्वले विगतमा जस्तै यो घटनामा पनि गम्भीर आत्मालोचना गर्ने दिन आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment