Comments Add Comment

एमाओवादी अध्यक्ष ‘पीके’को रङ नम्बर !

अरुण बराल/समाचार टिप्पणी
एमाओवादीका नेता कार्यकर्ता यतिबेला एमाले अध्यक्ष केपी ओलीविरुद्ध खनिइरहेका छन् । सडकमा पुत्ला जल्दा पनि प्रधानमन्त्री पदमा नरहेका केपी ओलीकै जल्छन्, नेताहरुले भाषण गर्दा पनि ओलीकै नाम धेरै लिन्छन् । यसैवीच एमाओवादी अध्यक्ष पुष्पकमल (पीके)ले बुधबार बिहान अर्को खुलासा गरेका छन्, सहमति भाँड्ने प्रधानमन्त्री सुशील कोइराला हुन्, केपी ओली त्यति नकारात्मक देखिएका थिएनन् ।

CARTOON Magh 8, onlinekhaber

उसोभए के एमाओवादीका ‘पीके’ले अहिलेसम्म आमिर खान अभिनित चलचित्रले भनेजसरी ‘रङ नम्बर’ डायल गरिरहेका थिए ? कि बुधबारदेखि मात्रै प्रचण्डले रङ नम्बर डायल गर्न सुरु गर्दैछन् ?

एमाओवादीले आफ्नो आन्दोलनको निशानामा रङ नम्बर डायल गरिरहेको यतिबेला आएर खुलासा भएको छ, जतिबेला प्रचण्डले ओली त्यतिधेरै नेगेटिभ नदेखिएको तर प्रधानमन्त्री सुशील कोइरालालगायतले सहमति बिथोलेको बताएका छन् ।

एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच सोमबार बिहानै नयाँ बानेश्वरमा डेढ घण्टासम्म गोप्य कुराकानी भएको थियो ।

सुरक्षा गार्डलाई समेत निकै टाढा राखेर दुई नेताबीच डेढ घण्टासम्म के कुरा भयो भन्ने प्रचण्डले अहिलेसम्म जनतालाई जवाफ दिएका थिएनन् । ओलीले चाँहि प्रचण्ड आफ्नो प्रतिवद्धतामा एकैछिन नटिकेको प्रतिक्रिया दिएका थिए ।

दुई नेताको छलफल सकिएलगत्तै सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा शीर्ष नेताले छलफल गरेका थिए ।

रातिसम्म प्रयास गरे पनि सहमति नभएपछि सभाध्यक्ष नेम्वाङले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर प्रश्नावली समिति गठनको प्रक्रिया थालेका थिए । त्यसपछि आधा रातमा संविधानसभा बैठक बसेको थियो ।

संविधानसभामा तोडफोड र हुलहुज्जत हुँदा पनि एमाओवादीको तारो प्रधानमन्त्री सुशील कोइरालाको साटो केपी ओली नै बने । वर्ष दिनसम्म सरकारमा बसेर पनि केही गर्न नसकेका प्रधानमन्त्री सुशील कोइरालाप्रति एमाओवादीले ‘स’ पनि उच्चारण गरेन । मन्त्रीसम्म नरहेका ओलीको छातीमा एमाओवादीले माइक्रोफोन ‘डायल’ गरे ।

सुशील कोइरालाप्रतिको प्रचण्डको भक्ति अहिलेसम्म बझिनसक्नुको देखिँदै आएको छ ।

सुशीलप्रति प्रचण्डको भक्ति बझिनसक्नु देखिँदै आएको छ, तर के बुधबारदेखि प्रचण्डका आँखा खुलेका हुन् ? उनले प्रधानमन्त्रीको जिम्मेवारी र भूमिकालाई चिनेका हुन् ?

संविधानसभामा तोडफोड गरेपछि फड्दुल भागेका एमाओवादी शीर्ष नेताले सो रात बाहिर निस्केर मिडियालाई एक शब्द पनि बताउन आवश्यक ठानेनन् । मिडियासँग सम्वाद नगर्नु कमजोरी भएको बुधबार डा. बाबुराम भट्टराईले स्वीकार गरेका छन् ।

जबकि संविधानसभाको झडपपछि केपी ओली, वामदेव गौतम र  रामचन्द्र पौडेल मिडियासामु खुलेर बोलेका थिए । एमाओवादी नेताले चाँहि कसले सहमति बिथोल्यो भन्नेबारे चुइँक्क बाेलेनन् ।

उज्यालो भएपछि सडकमा ओलीको चर्को विरोध गरियो, पुत्ला जलाइयो । तर, प्रचण्डले बुधबार एकाएक सहमति भाँड्ने मुख्य पात्र प्रधानमन्त्री कोइराला रहेको बताए ।

पत्रकार सम्मेलनमा प्रचण्डले गरेको दाबीअनुसार सोमबारको बैठकमा मिलेका विषय मस्यौदा समितिमा पठाउँदै गर्ने विषयमा समेत एमाओवादी सहमत भइसकेको थियो, तर प्रधानमन्त्रीले नै हुँदैन, अब प्रक्रियामा जानुपर्छ भन्दै बनिसकेको सहमति बिगारेका थिए ।

प्रचण्डको यो ‘नयाँ’ दाबीबाट के प्रश्न उब्जेको छ भने अहिलेसम्म एमाओवादीका नेता र कार्यकर्ताले केपी ओलीमाथि जसरी प्रहार केन्द्रित गरेका छन्, के यो निशाना गलत थियो ?

जब निशाना नै गलत हुन्छ, त्यसले सही ठाउँमा लाग्दैन । जब डायल गरिएको नम्बर नै गलत हुन्छ, चाहेको मानिससम्म पुग्न सकिँदैन ।

नेपाली कांग्रेसका नेताहरुसँग एमाओवादीको विशेष प्रेम शान्ति प्रक्रियादेखि कै हो । पछिल्लो समयमा एमाओवादी नेताहरुले प्रधानमन्त्री सुशील कोइरालाको खासै आलोचना गरेका छैनन् । प्रधानमन्त्रीले सरकार पनि राम्रोसँग चलाउन सकेका छैनन्, तर विपक्षी दलका नेताहरु प्रधानमन्त्री कोइराला रिसाउलान् भनेर एक शब्द बोल्दैनन् ।

देशमा लोडसेडिङ बढेकाे छ, ग्यास नपाएर जनता आकुल ब्याकुल छन्, तर विपक्षी दलका नेता हुँ भन्ने प्रचण्ड यसबारे चुइँक्क बोल्दैनन्, सुशील कोइरालाको ध्यानाकर्षण गराउँदैनन् । उनी आफूलाई सत्तापक्षकै नेताजसरी प्रस्तुत गर्छन् । कांग्रेस र सुशील कोइरालाप्रतिको प्रचण्डको भक्ति अहिलेसम्म बझिनसक्नुको देखिँदै आएको छ ।

तर, के बुधबारदेखि प्रचण्डका आँखा खुलेका हुन् ? के उनले प्रधानमन्त्री सुशील कोइरालाको जिम्मेवारी र भूमिकालाई चिनेका हुन् ? प्रतिपक्षी दलको नेताले कस्तो भूमिका खेल्नुपर्छ भन्ने उनलाई महसुस भएको हो ? यो पत्याइहाल्ने स्थिति नदेखिए पनि सही नम्बर डायल गर्न खोजे खोजेजस्तो देखिएको छ ।

ओलीको भूमिका समन्वयकारी छैन, उनले जाति जनजातिबारे सन्तुलित भूमिका खेल्न सकेका छैनन् । तर, ओलीलाई एमाओवादीले यति महत्व दिएको छ कि मानौं उनै नेपालका प्रधानमन्त्री हुन्, उनैले गर्दा देश चलिरहेको छ

एमाले अध्यक्ष केपी ओलीको भूमिका पनि समन्वयकारी छैन र उनले जाति जनजातिबारे सन्तुलित भूमिका खेल्न सकेका छैनन् । तर, ओलीलाई यतिबेला एमाओवादीले यति महत्व दिएको छ कि मानौं उनै नेपालका प्रधानमन्त्री हुन्, उनैले गर्दा देश चलिइरहेको छ ।

केपी ओलीको पार्टीले घोषणापत्रमा बहुपहिचान र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको कुरा गरेको छ । भलै अहिले उसले कांग्रेससँग सहमतिका लागि लचिलो भएर आफ्नो एजेन्डा छाडेको तर्क गरेको छ । पछिल्ला वार्तामा एमाले अध्यक्ष केपी ओलीले कांग्रेस र एमाओवादी मिलेर आएको खण्डमा आफूलाई आपत्ति नहुने बताइसकेको अवस्था छ । स्वयं प्रचण्डले नै बुधबारदेखि स्वीकारेका छन् कि ओली त्यति नेगेटिभ थिएनन् ।

उसोभए किन ओलीप्रति प्रहार बढी केन्द्रित गरियो ? एजेन्डाको निकटता र लचकताको हिसाबले ओली बाधक हुन् कि प्रधानमन्त्री ? यसबारे माओवादीको उच्च तह भर्खरैमात्र भ्रम मुक्त हुन खोजेजस्तो देखिन थालेको छ ।

ओलीले कू गर्न लागेको हल्ला

एमाओवादीका केही शीर्ष नेताले आफ्ना कार्यकर्तालाई कसरी दीक्षित गरिरहेका थिए भने केपी ओली र सुवास नेम्वाङ मिलेर संविधानसभामा माघ ८ भित्र कु गर्न लागेका छन् । र, यही हल्लाका आधारमा सभाध्यक्ष र ओलीलाई एउटै कित्तामा लगेर राख्न खोजियो ।subas-nemwang-and-k-p-oli

तर, अहिले आएर प्रचण्डले प्रधानमन्त्री सुशील कोइराला, केपी ओली र सुभास नेम्वाङ सबैको भूमिका राम्रोसित देखिसकेका छन् ।

प्रचण्डको सूचना स्रोतमाथि नै ठूलो आशंका गर्नुपर्ने स्थिति देखिएको छ । उनी कति ‘रङ नम्बर’मा हिँडिरहेका छन् भन्ने कुरा कांग्रेस र एमालेका नेताप्रति उनले अपनाउँदै आएको नीतिबाटै स्पष्ट हुन्छ । बेलैमा उनले राजनीतिको सही विश्लेषण गर्न जानेनन् भने प्रचण्ड पीके चलिचित्रका नायक पात्रजस्तै नबन्लान् भन्न सकिन्न ।

सबैले सहजै बुझ्न सक्ने कुरा के हो भने सुशील कोइराला आफ्नो पार्टीको महाधिवेशनसम्म सत्ता लम्ब्याउन चाहन्छन्, केपी ओली चाँडो सरकारमा पुग्न चाहन्छन् । यसैबाट प्रष्ट हुँदैन र को छिटो संविधान बनोस् भन्ने चाहन्छ र को ढीलो गर्न चाहन्छ ?

राजनीतिशास्त्रका सामान्य विद्यार्थीले पनि अनुमान गर्ने कुरा के हो भने सरकारको नेतृत्व जसले सम्हालेको हुन्छ, सबैलाई मिलाएर अघि बढ्ने जिम्मा पनि उसैको हुन्छ । अहिले सरकारको निर्णायक ठाउँमा सुशील कोइराला छन् । केपी ओली प्रधानमन्त्री बनेका छैनन् । तर, एमाओवादी नेताहरुले अहिलेसम्म केपी ओलीलाई प्रधानमन्त्री ठानिरहेका छन्, सुशील कोइरालालाई होइन ।

पार्टीभित्र पनि ‘रङ नम्बर’

सोमबार दिउँसो नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा एमाओवादी शीर्ष नेताको पत्रकार सम्मेलन भनिएको थियो । त्यो दिन मिडियाले सहमति हुनै लाग्यो भन्ने समाचार प्रकाशित गरेका थिए । सहमतिको समाचार आउनासाथ प्रचण्ड र बाबुराममा निकै प्रेसर थपिएको देखिन्थ्यो ।

एकातिर बैद्यले र अर्कार्तिरबाट जनजातिले प्रचण्डलाई प्रेसर गरेका थिए । त्यही बिहान प्रचण्डले केपी ओलीसँग छलफल गरेका थिए ।

तर, एमाओवादीको भनिएको पत्रकार सम्मलेनमा प्रचण्ड आइनपुग्दै देव गुरुङ आइपुगे । पम्फा आइन् । एकैछिनमा चुच्चो टोपी लगाएर मोहन वैद्य आए । अशोक राई प्रचण्डको दायापट्टि बसे । एकदमै आत्तिएको जस्तो अस्वाभाविक देखिएका प्रचण्ड पत्रकारको फेसै नगरी एकैछिनमा सहमति गर्न हतार छ भन्दै हिँडे । एमाअाेवादी नेताहरू पत्रकारकाे फेस गर्दैनन् र यसैगरी भाग्छन् । एमाले नेताहरू लामाे बाइट दिन्छन् ।

Prachanda-Press-meetकेपी ओलीले पत्रकार सम्मेलनमा माधव नेपाल र झलनाथ खनाललाई दायाँ-वायाँ राख्छन् । उनले एमालेलाई एक ढिक्का बनाएका छन् ।

तर, प्रचण्ड साेमबार  डा. बाबुराम भट्टराईलाई समेत थाहै नदिई इन्द्रेणी फुडल्याण्डमा आएका थिए । दायाँ वायाँ वैद्य र अशोक राईलाई राखिएको थियो । नारायणकाजीलाई ‘मिडियामा किन सहमति हुनै आँट्यो भनिस्’ भनेर दिउँसै लखेटियो ।

बुधबार अल्फा हाउसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पनि प्रचण्डले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई बोलाएनन् । प्रवक्ता दीनानाथ शर्माले एमाओवादी अध्यक्ष र उपाध्यक्षले पत्रकारसँग अन्तरसम्वाद गर्न लागेको बताए । प्रवक्ता शर्माले डा. भट्टराईलाई नै उपाध्यक्ष भनेर सम्बोधन गरे । के यो पार्टीभित्रैको रङ नम्बर नै हैन र ?

याे पनि पढ्नुहाेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment