Comments Add Comment

पीके र सीकेबाट सचेत हुनुपर्छ : केपी ओली

KP Oli (2)

९ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पीके र सीकेबाट सचेत हुनु पर्ने बताएका छन् ।

सत्तारुढ १० दल र दुई स्वतन्त्र सभासदहरुको शुक्रबार बसेको बैठकमा ओली र कांग्रेस महामन्त्री कृष्ण सिटौला अब पेलेर भएपनि अघि बढ्ने पक्षमा उभिएका थिए । दुबै नेताले अब प्रश्नावली समिति नबनेसम्म एमाओवादी र मधेसीसँग वार्ता नगर्ने बताएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार ओलीले २/४ दिनमा पनि संविधानसभा अध्यक्षले प्रक्रिया नबढाए आफै अघि बढ्नु पर्ने बताएका छन् । उनले भने-‘मर्यादापालकले बाटो निर्माण गर्न सकेनन् भने आफ्नो बाटा आफै बनाउनुपर्छ । दुई चार थप्पड खाइएला खुवाइएला ।’

४५० सभासद आफूहरुको पक्षमा रहेको भन्दै ओलीले १५० ले बन्दक बनाउन नसक्ने भन्दै अब छिट्टै प्रक्रियाबाट संविधान ल्याउने बताए ।

बैठकमा एमाले अध्यक्ष ओलीले पीके (पुष्पकमल दाहाल प्रचण्ड) र सीके (सीके राउत) बाट सजग हुनु पर्ने बताए । उनीहरु कसैको इसारामा चलेको र मुलुकलाई बर्बाद पार्नतिर लागेको उनको आरोप थियो ।

विरोधलाई गैरकानुनी घोषणा गरौं

बैठकमा कांग्रेस महामन्त्री कृष्ण सिटौलाले संविधान बन्ने छाँट नेदेखेको बताए ।

एमाओवादी र मधेसी मोर्चासहितका १९ दलले संविधानसभा भित्र गरिरहेको नाराबाजीलाई गैरकानुनी घोषणा गरेर अघि बढ्न सके मात्र नयाँ संविधान बन्ने आधार तय हुने उनले बताए । यसलाई क्रस गरेर जान नसक्ने हो भने भोलि राप्रपा नेपालले अवरोध गर्ला, मधेसवादी दलले गर्ला । अनि कसरी बन्छ संविधान ?-उनले भने ।

संविधानसभा अध्यक्षको आलोचना

सत्तारुढ दलहरुको बैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको समेत आलोचना भएको छ । एक नेताका अनुुसार सभाध्यक्षले विगतमा आफैं समिति गठनको घोषणा गरेपनि यस पटक सहयोग नगरेको नेताहरुको आरोप थियो । साथै नाराबाजी भइरहँदा मुखदर्शक बनेको उनीहरुले बताए ।

तर, एमाले अध्यक्ष ओलीले भने सभाध्यक्षको धेरै आलोचना नगर्न आग्रह गरे । उनले ऐनमौकामा सभाध्यक्षले निर्णय लिने बताएका छन् ।

सत्तारुढ दलको बैठक लगतै नेताहरुले सभाध्यक्षलाई समेत भेटेका छन् । उनीहरुले संविधानका विवादित विषयमा प्रश्नावली बनाउने प्रक्रिया सुरु भइसकेको भन्दै अघि बढाउन आग्रह गरेका छन् ।

सभाध्यक्षसँगको भेटमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालले पनि अब सत्तारुढ दलका सभासदहरुलाई रोक्न नसक्ने बताए । ‘अब हामी हाम्रा सभासदलाई रोक्न सक्दैनौं भनेर नेताहरुले प्रष्ट भन्नु भएको छ’ एक नेताले भने ।

संविधानका विवादित विषयमा प्रश्नावली बनाउन प्रस्ताव समिति बनाउने प्रस्ताव पेश रोक्न विपक्षीले नाराबाजी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment