Comments Add Comment

भारतीय राजदूत किन पुगे ओली निवास ?

Kp-oli-with-ranjit-rey११ माघ, काठमाडौं । संविधानसभामा दलहरुवीच ध्रुवीकरण बढ्दै जाँदा भारतीय चासो र चलखेल बढेको छ । शनिबार दलहरुले जबरजस्ती प्रक्रियामा गए संविधानसभा छाड्नेसम्मको चेतावनी दिएको थाहा पाएपछि नेपालका लागि भारतीय राजदूत रञ्जित रे केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

भारतीय राजदूतले एमाले अध्यक्ष ओलीसँग के बातचित गरे भन्ने खुलासा गरिएको छैन । तर, संविधानसभाको प्रक्रिया अवरुद्ध हुञ्जेल विपक्षीसँग वार्ता नै नगर्ने सत्तापक्षको निर्णय र विपक्षीको रणनीतिबारे भारतीय राजदूतले चासो राखेको एमाले स्रोत बताउँछ ।

भारतीय राजदुत रेले सहमतिका लागि केही दिन संविधानसभाको बैठक रोक्न सल्लाह दिएको स्रोत बताउँछ । तर, ओलीले कसैको दबाव नमान्ने र प्रक्रिया अघि बढाउने जवाफ दिएर राजदूतलाई फिर्ता पठाइएको ओली निकट स्रोतले बताएको छ ।

यसअघि नै भारत सरकारले सहमतिका आधारमा संविधान बनाउन  सत्तापक्षलाई दबाव दिँदै आएको छ । एमाले अध्यक्ष ओलीले भने केही दिन अघि बालकोटमै आयोजित पत्रकार सम्मेलनमा नेपाली जनताबाहेक अरु कसैको आदेश नमान्ने बताएका थिए ।

भारतका साथै राष्ट्रसंघ लगायतका अन्तरराष्ट्रिय समुदायले पनि सहमतिका आधारमा संविधान बनाउन दबाव दिँदै आएका बेला भारतीय पक्षको सक्रियता देखिएको हो । अघिल्लो साता नेपाल आएका राष्ट्र संघका प्रतिनिधिले सहमतिका आधार।मा अघि बढ्न भनेपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभामै विदेशीको आलोचना गरेका थिए ।

सूर्यबहादुर र सिटौला पनि सक्रिय

सत्तापक्ष र प्रतिपक्षवीच मुठभेडको स्थिति देखापरेपछि पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले पनि मेलमिलापका लागि सक्रियता देखाएका छन् ।

पूर्वप्रधानमन्त्री थापाले शनिबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आफूले सहमतिको पहलकदमी लिने बताएका थिए । त्यसपछि थापाले केपी ओली, प्रचण्ड र विजय गच्छदारलाई अलग-अलग भेटेर त्यसको रिपोर्टिङ प्रधानमन्त्रीलाई गराएका थिए ।

सूर्यबहादुरको पहलपछि प्रधानमन्त्री सुशील कोइरालाले शनिबार साँझ राष्ट्रपति डा. रामवरण यादवलाई भेटेका थिए ।

उता कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि शनिबार लाजिम्पाटमा एमाओावदी अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

स्रोतहरुका अनुसार भारतले केही दिन संविधानसभाको बैठक रोकेर सहमति गनुपर्ने दबाव सत्तापक्षका नेताहरुलाई दिएको बुझिएको छ । विपक्षी १९ दलीय मोर्चाले पनि शनिबार सभाध्यक्ष सुवास नेम्वाङलाई भेटेर सहमतिका लागि १० दिन बैठक स्थगित गर्न माग गरेको छ ।

आइतबार संविधानसभा बैठकमा प्रश्नावलीका बनाउने प्रस्ताव समिति गठन गर्ने सभाध्यक्ष नेम्वाङको तयारी छ । विपक्षीले यसको प्रतिकार गर्ने र संविधानसभा बहिस्कार गर्नेसम्मको धम्की दिएका छन् । विपक्षीसँग वार्तामै नबस्ने घोषणा गरेका सत्तापक्षमा नेताहरु भने जबरजस्ती प्रक्रिया अघि बढाउने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment