Comments Add Comment

अब संविधान निर्माण अघि बढ्यो : रामचन्द्र पौडेल

११ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभामा विपक्षी दलले सहयोग गरेकाले प्रस्ताव समिति गठन भएको दाबी गरेका छन् । संविधानसभा भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस नेताहरुले अब संविधान निर्माण प्रक्रिया अघि बढेको बताए ।

‘उहाँहरु -विपक्षी दल) ले संविधानसभा बहिस्कार गर्नुभएको छैन, शालीनतापूर्वक प्रस्तुत भएर सहयोग गर्नुभएको छ,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘अब संविधान निर्माण प्रक्रिया अघि बढ्यो ।’

उनले संविधान निर्माणमा सरिक हुन एमाओवादी, मधेसी मोर्चालगायतका विपक्षी दलहरुलाई आग्रहसमेत गरे ।

यसैगरी कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले दलहरुको सहमतिबाट बनेको नियमावलीअनुसार नै संविधानसभा अध्यक्ष नेम्वाङले प्रश्नावली समिति गठन गरेको जिकिर गरे ।

संविधानसभा भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मस्यौदा समितिका सभापति समेत रहेका सिटौलाले भने, ‘यो कुनै नौलो कुरा होइन, आजबाट संविधान निर्माणको बाटो खुल्यो ।’

उनले प्रश्नावली समितिमा रहने सदस्यहरुको नामावली एमाओवादीलगायतका विपक्षी दलहरुले दिने विश्वास समेत व्यक्त गरे । ‘सदस्यहरुको नामावली नदिनु भनेको संविधान निर्माण बहिस्कार गर्नु हो’ सिटौलाले भने-‘आजबाट दलहरुबीच संवादको बाटो खुलेको छ, हामी संविधानका अन्तरवस्तुमा सहमतिको अधिकतम प्रयास गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment