Comments Add Comment

ओली भन्छन्- ठूला भ्रम तोडियो, अब ८० प्रतिशत हाम्रो पक्षमा

Kp sharma Oli

११ माघ, काठमाडौं । नेकपा एमालेले संविधानसभाबाट संविधान जारी गर्ने बेलासम्म एमाओवादीले असहयोग गरे पनि उसकै मोर्चाबाट धेरै सभासदहरु आफ्नो पक्षमा आउने दाबी गरेको छ ।

संसदीय दलको बैठकमा सभासदहरुलाई पछिल्लो घटनाक्रमबारे जानकारी दिने क्रममा एमालेका शीर्ष नेताहरुले एमाओवादी मोर्चाकै कतिपय दलका सभासदहरुले प्रक्रियामा जान आफूहरुलाई आग्रह गरेको बताए ।

‘प्रतिपक्षी मोर्चाका केही साइजेबल संख्याका सभासदहरुले प्रक्रिया अघि बढाउनुस, हाम्रोमा अतिवादीहरु हावी भए, हामी तपाइहरुसँगै आउँछौं भन्ने प्रस्ताव हामीसमक्ष राखेका छन्’ एमाले नेता माधवकुमार नेपालले भने ।

प्रचण्ड नेतृत्वको मोर्चाभित्र धेरै दलका सभासदहरु उकुस-मुकसको अवस्थामा रहेको भन्दै उनीहरुसँग सम्वाद अघि बढाइने नेपालले बताए ।

दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रक्रिया अघि बढेपछि संविधानसभाका ८० प्रतिशत सभासदहरु एक ठाउँमा उभिने दाबी गरे । ‘अहिले नै हामीसँग ७५ प्रतिशत संख्या छ, अब प्रक्रिया अघि बढेपछि यो ८० प्रतिशत पुग्छ’ ओलीले भने ‘संविधान निर्माणको प्रक्रिया शुरु हुन सक्दैन भन्ने एउटा ठूलो भ्रम आजबाट तोडिएको छ, अरु धेरै भ्रमहरु बिस्तारै तोडिनेछन्’ ।

अर्का नेता झलनाथ खनालले पनि सम्पूर्ण सहमति नभए पनि अत्यधिक बहुमतले संविधान जारी हुन सक्छ भन्ने सन्देश प्रश्नावली समिति निर्माणपछि प्रवाह भएको बताए ।

‘माओवादी संविधान चाहदैन’

सभासदहरुलाई पछिल्ला वार्ताको निष्कर्ष सुनाउँदै एमालेका शीर्ष नेताहरुले एमाओवादी मोर्चाका अन्य दलले चाहे पनि एमाओवादी नेतृत्व संविधान जारी गर्ने पक्षमा नदेखिएको बताए ।

संसदीय दलका नेता ओलीले एमाओवादीले प्रक्रिया शुरु गरे संविधानसभा छाडेर हिड्ने धम्की दिँदैमा नडराउने प्रष्ट पारे । ‘छोड्ने, फोड्ने र तोड्ने जे गरे पनि अब संविधान जारी हुन्छ’ ओलीले भने ‘तर पनि हामी सहमतिको प्रयास चाहिँ छाड्दैनौं’ ।

ओलीले गत शुक्रवार २ दिनको समय मागेका प्रचण्डले शनिवार १० दिन समय माग्नुमा षडयन्त्र लुकेको बताए । ‘केही नलाग्ने भएपछि सभाध्यक्षसँग आज एक दिन समय मागेछन्’ ओलीले भने ‘रातारात के गरौंला भन्ने होला ?’

एमाले नेताहरुले संविधानसभाबाट प्रश्नावली समिति गठन भइसकेपछि अब एमाओवादी मोर्चासँग वार्ता गर्ने बाटो खुलेको बताएका थिए । ‘अब जति लचिलो बन्नुपर्ने हो बनेर अघि बढिन्छ, तर संविधान जारी हुन्छ’ नेताहरुले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment