Comments Add Comment

खाना पकाउने ग्यास पाइएन ? टेकु जानोस् (फोटो फिचर )

Gas demand (10)

११ माघ, काठमाडौं । यदि तपाईले खाना पकाउने ग्यास पाउनुभएको छैन भने ढीला नगरी टेकु जानुहोस् । नेशनल ट्रेडिङ लिमिटेडले टेकुस्थित कार्यालयबाट आइतबारदेखि ग्यास बिक्री सुरु गरेको छ ।

बजारमा देखिएको ग्यासको अभाव कम गर्न नेपाल आयल निमगले नेशनल ट्रेडिङलाई केही समयका लागि ग्यास बिक्री गर्ने जिम्मा दिएको हो । ग्यास लिनका लागि अहिले त्यहाँ सर्वसाधारणको भीड लागेको छ ।

टेकु आसपासबाट मात्र नभई बानेश्वर, पाटन, महाराजगञ्ज, भैंसेपाटी, भक्तपुर, कोटश्वर, जावाहिलसम्मका सर्वसाधारण सिलिन्डर बोकेर नेशनल ट्रेडिङमा पुगेका छन् । एउटा सिलिन्डरका लागि घन्टौं लाइन लाग्नुपर्ने अवस्था देखिएको छ ।

Gas demand (1)

‘बजारमा ग्याँस अभाव भयो भन्ने व्यापक जनगुनासो आएपछि सहज आपूर्तिका लागि नेशनल ट्रेडिङलाई बिक्री गर्न दिएका हौं’ निगमका कार्यकारी प्रमुख डा. चण्डिकाप्रसाद भट्टले भने- ‘अहिले यहाँ देखिएको भीडलाई देख्दा बजारमा साँच्चिकै अभाव रहेछ भन्ने महसुस भयो ।’

बजारमा प्रशस्त ग्यास पठाए पनि उद्योगी र बिक्रेताले कालोबजारी गरिदिँदा अभाव देखिएको भट्टको दाबी छ । बजारमा पुगेको ग्यास पहुँचवाला, धेरै पैसा तिर्न सक्नेहरु, होटल व्यवसायीहरुले होल्ड गरेको सर्वसाधारणको गुनासो छ ।

नेशनल ट्रेडिङमा पुग्ने अधिकांश ग्राहक विद्यार्थी र तल्लो वर्गका देखिन्थे । जसले लामो बाटोमा पनि काँधमा सिलिन्डर बोकेर आएका थिए । बटुवालाई टेकुमा ग्याँस मेला लागेजस्तो भान हुन्थ्यो । कार्यालय परिसरमा २५ कम्पनीका सिलिन्डर राखिएको छ ।

महिला तथा केटाकेटीहरुले समेत ग्यासका सिलिन्डर बोकेर त्यहाँ पुगेका थिए । कतिपयले लतार्दै त कतिपयले गुडाउँदै सिलिन्डर साट्न गएको देखिन्थ्यो ।

Gas demand (24)

भैंसेपाटीबाट ग्यास लिन आएका भीम राईले धेरैतिर खोज्दा पनि ग्यास नपाएपछि लामो बाटो हिँडेर टेकुमा आएको बताए ।

निगमका कार्यकारी प्रमुख भट्टका अनुसार पहिलो दिन ३ हजार २ सय सिलिन्डर बिक्री गरिनेछ । ‘हामीले ४ बजेसम्म आइपुग्ने ग्राहकको सिलिन्डर साटिदिन्छौं’ भट्टले भने- ‘बजारमा सहज आपूर्ति नहुँदासम्म हामीले नेशनल ट्रेडिङलाई सिलिन्डर बिक्री गर्न दिन्छौं ।’

बजारमा ग्यासको अभाव भएपछि उद्योगीहरुले नयाँ सिलिन्डर बिक्री गर्ने, ग्यास बिक्रेताहरुले चर्को मूल्य लिएर पैसा खर्च गर्न सक्नेहरुलाई बिक्री गर्ने गरिदिँदा सर्वसाधारणको चुलोसम्म ग्यास पुग्न सकेको थिएन् ।

त्यसो त उद्योगीहरुले पार्टी प्यालेस र होटलमा सिधै ग्यास पुर्‍याउन थालेपछि बजारमा रहेको अभाव ज्यूँका त्यूँ रहन पुग्यो । अहिले एउटा चलेको होटलले न्यूनतम २/३ सय सिलिन्डर भरी अवस्थामा राख्ने गरेको निगम स्रोत बताउँछ ।

Gas demand (19)

बजारमा पुगेको ग्यास सीमित वर्गले होल्ड गरेपछि निगमले नयाँ कदम चालेको भट्टले बताए । बजारमा ग्याँसको अभाव रहेको नरहेको जान्नका लागि पनि नेशनल ट्रेडिङलाई बिक्री गर्ने जिम्मा दिएको भट्टले बताए । नेशनल ट्रेडिङ पुग्ने ग्राहकहरु हेर्दा धनी वर्गले भन्दा पनि गरिव तथा विद्यार्थी वर्गले ग्यास प्राप्त गर्न नसकेको स्पष्ट भएको उनले सुनाए ।

ग्यास बिक्रेता महासंघका पूर्वअध्यक्ष ज्ञानेश्वर अर्यालले भने तीन दिनभन्दा बढी नेशनल ट्रेडिङलाई ग्यास बिक्री गर्न नदिने बताए । निगम कार्यकारी प्रमुखले १५ दिन बिक्री गर्न दिने कुरा उठाउनुभएको थियो, छलफलमा एक हप्तासम्म बिक्री गर्न दिने प्रस्ताव गरिएको थियो, पछि तीन दिनसम्म बिक्री गर्न दिने सहमति भएको हो’ उनले भने ।

एक ठाउँबाट मात्र ग्यास बिक्री गर्दा टाढाका ग्राहक मर्कामा पर्ने बताउँदै अर्यालले सबै डिलरमा ग्याँस पर्‍याउने व्यवस्था निगमले गर्नुपर्ने बताए । ग्राहकले सहज रुपमा ग्यास पाउने वातावरण निर्माण गर्न सरकारलाई उनले आग्रह समेत गरेका छन् ।

Gas demand (27)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment