Comments Add Comment

सचिवका लागि कांग्रेस र एमालेका बेग्लाबेग्लै लिष्ट

१२ माघ, काठमाडौं । पुस मसान्तमै भइसक्नुपर्ने सचिव बढुवा सत्तारुढ दुई ठूला दल कांग्रेस र एमालेवीच कुरा नमिल्दा अझै अन्योलमा परेको छ ।

लोकसेवा आयोगले बरिष्ठताका आधारमा तीन र बाँकी १३ सचिवका लागि तेब्बर अर्थात ३९ जना सहसचिवको नाम सिफारिस गरेको दुई साता हुन लाग्दा पनि सरकारले सचिव बढुवा गर्न नसकेको छैन ।

कांग्रेस र एमाले बीच आ-आफ्ना मान्छेलाई सचिव बनाउन मन्त्रीहरु नै भिडेपछि मन्त्रिपरिषद बैठकबाटै चार जनामन्त्री रहेको कार्यदल बनाइएको छ ।

सचिव छान्न बनेको कार्यदलमा कांग्रेसबाट कानुनमन्त्री नरहरी आचार्य र सञ्चार मन्त्री मिनेन्द्र रिजाल छन् भने एमालेबाट सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र स्वास्थ्यमन्त्री खगराज अधिकारी छन् ।

बरिष्ठताका आधारमा सिफारिस भएका गजेन्द्र ठाकुर, सुरेशप्रकाश आचार्य र शरदराज विष्ट सचिवमा बढुवा हुने निश्चित छ । ऐनमै २० प्रतिशत सिट बरिष्ठलाई छुट्याइएकाले उनीहरुमात्र सिफारिस भएका छन् ।

बाँकी १३ सचिवमा हाल कामु सचिव रहेका सबैलाई सचिव बनाउने कि नबनाउने भन्ने टुंगो लागेको छैन । केही अपवाद बाहेक कामु सचिव भएकालाई सचिवमा बढुवा गर्ने प्रचलन रहेको छ ।

कोको पर्दैछन् बढुवामा ?

प्रचलन अनुसार भएको खण्डमा कामु सचिवहरु सञ्चार मन्त्रालयका सुनिलवहादुर मल्ल, शान्तिमन्त्रालयका खुमराज पुन्जाली, अख्तियारका प्रेमराज राई र जल तथा उर्जा आयोगका इश्वरीप्रसाद पौडेल सचिव बढुवामा पर्नेछन् ।

त्यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयका टंकमणि शर्मा, सतर्कता केन्द्रका रमेशकुमार शर्मा, कामु क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइराला, दिनेश थपलिया र बिजयकुमार मल्लिक पनि कामु सचिवका हिसाबले बढुवाको लाइनमा छन् ।

कामु सचिव रहेकामध्ये सूचना आयोगकी जीवनप्रभा लामा  र रक्षा मन्त्रालयका देवेन्द्र सिटौला कार्य सम्पादन मूल्यांकनमा तल परेकाले सिफारिस नै भएका छैनन् । त्यस्तै परराष्ट्रका शंकर बैरागी पनि सिफारिसमा परेका छैनन् ।

सामान्यतः कामु सचिव रहेकालाई सचिव बढुवा गर्ने प्रचलन रहे पनि सरकार बाध्यकारी नरहेको पूर्वसामान्य प्रशासन मन्त्री तथा पूर्व कानुन सचिव माधव पौडेल बताउँछन् ।

बिगतमा नारायणगोपाल मलेगो, हरेराम कोइराला र केशव कँडेललाई कामु सचिव भएर पनि सचिव नदिइएको उदाहरण छ । यसपटक कामु सचिवमा पनि कांग्रेस एमालेले भागबण्डा गर्न लागेको स्रोतले जनाएको छ ।

कांग्रेस एमालेवीच भागबण्डा

कामु सचिव रहेकामध्ये सुनिल मल्ल, खुमराज पुन्जाली, इश्वरीप्रसाद पौडेल, रमेशकुमार शर्मा र शंकर कोइराला कांग्रेस निकट मानिन्छन् ।

त्यस्तै प्रेमराज राई, टंकमणि शर्मा र दिनेश थपलिया एमाले निकट मानिन्छन् । बिजयकुमार मल्लिक कतै नखुले पनि मधेसी कोटाबाट सचिव हुने सम्भावना बढी छ ।

कामु सचिव बाहिरबाट सिफारिस परेकामध्ये केदारबहादुर अधिकारी, चन्द्रप्रसाद घिमिरे र नवराज भण्डारीलाई सचिवमा बढुवा गर्न कांग्रेसभित्र दबाव छ ।

त्यस्तै राजन खनाल र महेश दाहाललाई सचिवमा बढुवा गर्न एमालेभित्र दबाव परेको छ । खनाल पटक-पटक सिफारिसमा परेर पीडित हुँदै आएको एमाले नेताहरुको तर्क छ ।

कानून समूहबाट करीव डेढ दर्जन सहसचिव सचिव बढुवामा सिफारिस भएका छन् । तर, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कानून समूहबाट प्रशासनमा सचिव नबनाउने भनेर अलग्गै विधेयक गइसकेकाले सरकारले अहिले यसमा बढुवा गर्न नहुने अडान लिएका छन् ।

यद्यपि कानून समूहका सहसचिवहरुले राजनीतिक दबाव तीब्र पारिरहेका छन् । उनीहरुको दबाव थेग्न दलका नेताहरुलाई गाह्रो परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment