Comments Add Comment

‘हार्डलाइनर’को खोजी: तुलसी गिरीदेखि केपी ओलीसम्म

अरुण बराल/टिप्पणी

 नेपाली राजनीतिका कतिपय खेलाडी भन्छन्- वीपी कोइराला र राजा महेन्द्र एकै समयमा नजन्मिनुपर्थ्यो । तर, उनीहरु एकै समयमा जन्मिए । वीपी र महेन्द्रमात्रै होइन, वीरेन्द्र र ज्ञानेन्द्र अनि तुलसी गिरी र सूर्यबहादुर थापा पनि एकै समयमा जन्मिएका दुई धारका राजनीतिज्ञ हुन् ।

यतिबेला एमाले अध्यक्ष केपी ओली उनै महेन्द्र, तुलसी गिरी वा ज्ञानेन्द्रजस्तो ‘हार्डलाइनर’ बन्ने अभ्यासमा छन् । अर्थात ‘हार्डलाइनर’ले ओलीलाई अघि बढ्न हौसला दिइरहेका छन् ।

वीपी र महेन्द्र

Mahendra-and-bpजनताबाट दुई तिहाइ मत ल्याएर पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका वीपी कोइरालालाई तत्कालीन राजा महेन्द्रले तरुण दलको कार्यक्रमबाटै समातेर ०१७ सालमा जेल हाले । वीपीलाई जेल हालेको ११ वर्षपछि महेन्द्रको निधन भयो ।

वीपी लोकतन्त्रका पक्षपाती थिए । तर, ००७ सालदेखि ०१७ सालसम्म एक दशक नेपाली राजनीतिमा चरम अराजकता र विदेशी चलखेल बढेको थियो । यस्तो बेथितिलाई रोक्न कडाखालको शासन चाहिन्छ भन्ने महेन्द्रको सोचाइ थियो । त्यसबेला महेन्द्रसँग संगत गर्नेहरु भन्छन्, केही समय बेथिति अन्त्य गरेर मुलुकमा लोकतन्त्र दिनुपर्छ भन्ने महेन्द्रको सोचाइ थियो ।

तर, महेन्द्रको मनमा भएको कुरा व्यवहारमा देखिएन । व्यवहारमा के देखियो भने उनले देशमा राजनीतिक स्थायित्व कायम गरे । विकास गरे । राष्ट्रियतालाई मजबुद गराए, जसलाई कतिपयले अहिले ‘महेन्द्रपथीय राष्ट्रवाद’ भन्ने गर्छन् ।

उता वीपी कोइराला जीवनभरि लोकतन्त्र, स्वतन्त्रता र खुल्ला समाजका लागि लडे । नेपालका यी दुई ‘टावर पर्सनालिटी’ हरु दुई धारका थिए, एकजना ‘हार्डलाइनर’, अर्का ‘सफ्टलाइनर’ ।

तुलसी गिरी र सूर्यबहादुर थापा

tulsi-giri-and-surya-bdrमहेन्द्रले ०१७ सालमा कू गर्दा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री तुलसी गिरीले वीपीको साथ छाडेर महेन्द्रलाई सघाए । सूर्यबहादुर थापा कांग्रेसबाट आएका नभई ‘ओरिजिनल’ पञ्च थिए । तर, पञ्चायती व्यवस्थाको लामो कालखण्डमा गिरी र थापाले ‘अनुदार’ र ‘उदार’ पञ्चको भूमिका निभाए ।

तल्काली राजा वीरेन्द्रले ०३६ सालमा जनमत संग्रहको घोषणा गर्दा डा. गिरी रिसाए । उनी कांग्रेस र कम्युनिष्ट लगायतका आन्दोलनकारीलाई पेलेर राज्यलाई बलियो बनाएर जानुपर्छ भन्ने मत राख्थे । तर, राजा वीरेन्द्रले उदारता देखाएकोमा रिसाएर गिरी श्रीलंकातिर लागे । सूर्यबहादुर थापाले जनमत संग्रह गराएर पञ्चायतलाई झिनो मतले भए पनि जिताए ।

जनमत संग्रहमा झिनो मतले हारे पनि वीपी कोइरालाले परिणामलाई स्वीकार गर्ने अभिव्यक्ति दिए । वीपीको निधन भइसकेपछि ०४६ सालमा जनआन्दोलन भयो र सडकबाटै पञ्चायती व्यवस्था ढल्यो । ‘हार्डलाइनर’ तुलसी गिरीले पनि हारे, ‘सफ्ट लाइनर’ सूर्यबहादुर थापाले पनि हारे ।

वीरेन्द्र र ज्ञानेन्द्र

Birerndra-and-gyanwengraपञ्चायती व्यवस्थापिरुद्ध जनआन्दलोन चर्किइरहँदा ०४६ सालमा तत्कालीन राजा वीरेन्द्रले दलमाथिको प्रतिवन्ध हटाउने घोषणा गरे । तर, त्यसबेला वीरेन्द्रलाई आन्दोलनकारीसँग नझुक्न दबाव दिने ‘हार्डलाइनर’हरुमा ज्ञानेन्द्र, ऐश्वर्य लगायत थिए ।

आफ्ना पिता महेन्द्रले खोसेको बहुदलीय व्यवस्था पुनस्थापना गरेकोमा वीरेन्द्रलाई उनको जीवनकालभरि हार्डलाइनरहरुले ‘ह्याउ नभएको राजा’ भन्दै सरापे ।

यतिसम्म कि माओवादीले ०५२ सालबाट युद्ध सुरु गरेपछि ०५७/०५८ सालसम्म आइपुग्दा वीरेन्द्रले यदि यो विद्रोह हो र जनताले गणतन्त्र चाहेका हुन् भने आफू गद्दी त्यागेर बस्न तयार रहेको उदार अभिव्यक्ति दिन थालिसकेको त्यसबेला वीरेन्द्रलाई भेट्नेहरु बताउँछन् ।

फेरि ज्ञानेन्द्र, फेरि तुलसी गिरी

Tulsi-giri-and-gyanendraदुभार्ग्यवस ०५८ साल जेठ १९ गते वीरेन्द्रको निधन भयो । र, सौभाग्यवस हार्डलाइनर ज्ञानेन्द्रले आफैं राजा बन्ने मौका पाए । रोचक त के भयो भने राजदरबारमा हार्डलाइनर आउनासाथ श्रीलंकाबाट तुलसी गिरी पनि नेपाल फर्किए । ज्ञानेन्द्र मन्त्रिपरिषदको अध्यक्ष बने, डा. गिरी उपाध्यक्ष ।

सात दलको आन्दोलनलाई मुठ्ठीभर भन्ने र पत्रिकाको कार्यालयमा समेत सेना पठाउने तुलसी गिरीको डिजाइनमा फसेपछि अन्ततः ज्ञानेन्द्रले २४० वर्ष लामो राजगद्दी गुमाउनुपर्‍यो । राजाको गद्दी जोगाउनुपर्ने अन्तिम घडीमा कमल थापा आफैं गृहमन्त्री थिए ।

जनआन्दोलनले हार्डलाइनरहरुको एकैपटक परीक्षा लियो । वीरेन्द्रले कडाइ नगर्दा राजतन्त्र कमजोर भएको भन्ने ज्ञानेन्द्र, तुलसी गिरी सबै असफल भए ।

नेपालको राजनीतिमा ‘हार्डलाइन’ लिने कि उदार नीति लिने भन्ने विवाद नेतृत्व तहमा ५५ वर्ष अघिदेखि लगातार देखिँदै आएको छ ।
रोचक के छ भने बरिष्ठ राजनीतिज्ञ सूर्यबहादुर थापा त्यो इतिहासको जीवित साक्षी अहिले पनि छन् । उनले ०३६ सालमा सुधारिएको पञ्चायतको पक्ष लिएर वीरेन्द्रलाई उदार बन्न सिकाए । ०४६ को परिवर्तनलाई स्वीकार गर्दै पार्टी खोलेर बहुदलीय प्रक्रियामा भाग लिए । र, ०६३ को परिवर्तनपछि गणतन्त्रलाई सहजरुपमा आत्मसाथ गरे । समयको पदचाप र जनताको चाहनालाई आत्मसाथ गर्दा सूर्यबहादुर थापा अहिले सबैका मान्य छन् । तर, हार्डलाइनको कुरा गर्ने तुलसी गिरी र ज्ञानेन्द्रहरु सबैका मान्य हुन सकेका छैनन् ।

यद्यपि हार्डलाइनर हुन अरुको उक्साहटमा लागेका ज्ञानेन्द्रले अन्नतः दाजुको भन्दा उदारता देखाउँदै गद्दी छाड्नु परेको छ । र, यही निर्णयले मात्रै ज्ञानेन्द्रको साख बचेको छ ।

केपी ओलीको परीक्षा

नेपाली राजनीतिका केही भूमिगत गिरोहहरु बेलाबखत ‘हार्डलाइनर नेता’ खोजिरहन्छन् । एक समय उनीहरुले महेन्द्रलाई उक्साए । तुलसी गिरी र ज्ञानेन्द्रलाई उचाले । अहिले त्यो गिरोहले केपी ओलीलाई  उक्साइरहेकाे छ । विपक्षीलाई पेलेर राजनेता हुनुपर्ने सुझाव केपी ओलीलाई हार्डलाइनरहरुले दिइरहेका छन् ।Kp sharma Oli

अब केपी ओलीको पनि साँच्चै परीक्षा हुनेवाला छ ।

जुन काम तुलसी गिरीबाट हुन सकेन, ज्ञानेन्द्रबाट फत्ते भएन, अब त्यही काम केपी ओलीबाट फत्ते होला ? यसका लागि विगतको अनुभवले मात्रै पुग्ने देखिएन, ओलीले आफ्नो लाइन कार्यान्वयन गरुञ्जेल पर्खनुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्
सभामुखको विश्वास गुम्यो, अब पालो राष्ट्रपतिको

एमाओवादी अध्यक्ष ‘पीके’को रङ नम्बर !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment