Comments Add Comment

यसरी टुट्यो ओम फाइनान्स र कामना बैंकको मर्जर प्रक्रिया

पुष्प दुलाल

१२ माघ काठमाडौं । पोखराका ओम फाइनानस र कामना विकास बैंकको मर्जर प्रक्रिया टुटेको छ । सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) मा कुरा नमिले पछि दुई संस्थाबीचको मर्जर प्रक्रिया टुटेको हो ।

om finance and kamana bankसंयुक्त मर्जर कमिटिले गत शुक्रबार मर्ज प्रक्रिया टुंगिएको निर्णय गरेको ओम फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले अनलाइनखबरलाई जानकारी दिए ।

अब दुबै संस्थाका सञ्चालक समितिले मर्जर प्रक्रिया विधिवतरुपमा अन्त्य भएको घोषणा गर्नेछन् । आगामी केही दिनमा बस्ने ओमको सञ्चालक समितिको बैठकले मर्जर प्रक्रिया टुंगिएको औपचारिक निर्णय गर्ने मल्लले जानकारी दिए ।

सोमबार कामना विकास बैंकको सञ्चालक समितिले ओमसँगको मर्जर प्रक्रिया टुंगिएको निर्णय गर्दै छ । अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ ।

दुबै संस्थाको सञ्चालक समितिले मर्जर प्रक्रिया भंग भएको निर्णय गरेपछि राष्ट्र बैंकलाई जानकारी गराउने छन । अर्कोहप्तासम्ममा राष्ट्र बैंकलार्इ जानकारी गराउने तयारीका साथ काम भइरहेको दुबै संस्थाका अधिकारीहरू बताउँछन ।

गत असोज ६ गते मर्जरका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएका थिए । दुई संस्थाबीत गत असार २९ गते एक आपसमा गाभिने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको थियो । दुबै संस्थाको साधारणसभाले एकआपसमा गाभिने निर्णय गरिसकेको थियो ।

‘सीइओ, अध्यक्ष र बैंकको नाम सबै विषयमा सहमति भइसकेको थियो तर, स्वाप रेसियोमा कुरा मिलेन ।’ मल्लले भने ।

दुई संस्थाबीच मर्जपछिको संस्थाको नाम ओम डेभलपमेन्ट हुने, बैंकको अध्यक्ष ओम फाइनान्सकै हुने र सीइओ भने कामना विकास बैंकको हुने सहमति भएको थियो ।

१० जिल्ला कार्यक्षेत्र भएको कामना विकास बैंकका हाल १० शाखा सञ्चालनमा छन भने राष्ट्रियस्तरको ओम फाइनान्सका ९ शाखा सञ्चालनमा छन । दुबै संस्था गाभिएर राष्ट्रियस्तरको विकास बैंक बन्ने प्रक्रियामा थिए ।

चालू आर्थिक वर्षको पुस मसान्तको वित्तीय अवस्था (रु. हजारमा)

 शिर्षक ओम फाइनान्स कामना विकास बैंक
चुक्ता पुँजी ३८९२२३ २७८३००
सञ्चित कोष १३७२०२ ७७३८५
नाफा ४७५४० ३५६५६
निक्षेप ४६२८१७६ २७६४८४९
कर्जा ३३४२०२१ २१९८७८८
घरजग्गा कर्जा ४२१८७२ २००९६२
खराब कर्जा १.०१ प्रतिशतमा ०.४० प्रतिशतमा

खासगरी जग्गासँग सम्बन्धित प्रिमियम लेनदेनमा कुरो अडि्कएको बताइएको छ । अन्य सबैमा एक बराबर एकको अनुपातमा स्वाप रेसियो निर्धारण गरे पनि ओम फाइनान्ससँग पोखरा र काठमाडौंमा भएको जग्गाका लागि कामनाले ६ करोड ७५ लाख रुपैयाँ प्रिमियम तिर्नुपर्ने सहमति भएको थियो ।

संस्थाहरूको ड्यू डेलिजेन्स अडिट (डिडिए) को अन्तिम प्रतिवेदन नै तयार भएको छैन । डिडिएको ड्राफ्टमै दुई संस्थाबीच कुरो नमिलेको हो । ‘स्वाप रेसियोको मस्याैदामा जुन कुरा देखियो त्यसमा हाम्रो चित्त बुझेन ।’ कामनाका प्रमुख कार्यकारी अधृकित उमेश अाचार्यले भने । स्वाप रेसियोमा ठूलो भिन्नता अाएकाले अाफूहरू  मर्जर प्रक्रियाबाट बाहिरिनु परेको उनले बताए ।

पोखराभित्रकै दुर्इ संस्थाहरू मर्जरका लागि यो पहिलो प्रयास थियो । यसअघि पोखराको बिजनेस डेभलपमेन्ट बैंक र काठमाडाैंको युनिभर्सल पफाइनान्स एकअापसमा गाभिएर बिजनेस युनिभर्सल डेभलपमेन्टको नाममा कारोबार गरिरहेका छन ।

त्यसैगरी, पोखराको सांग्रिला डेभलपमेन्ट बैंक र नेपालगन्जको बागेश्वरी विकास बैंक गाभिएर सांग्रिला विकास बैंकको नाममा कारोबार गर्दै अाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment