Comments Add Comment

मूर्ति विसर्जन गर्दा २ विद्यार्थीको मृत्यु

rautahat

गौतम श्रेष्ठ
१२ माघ, रौतहट । रौतहटको गौर ७ स्थित लालबकैया नदीमा डुबेर दुईजनाको मृत्यु भएको छ । आइतबारको सरस्वती पूजाको मूर्ति विसर्जन गर्न टिकुलीयाघाट गएका १५ वर्षीय इम्तियाज आलम र १४ वर्षीय इजाज आलमको नदीमा डुबेर मृत्यु भएको हो ।

उनीहरु कोअपरेटिभ बोर्डिङ स्कुलका कक्षा ८ का विद्यार्थी हुन् । मृतक इम्तियाज अकोलवा १ का र इजाज राजपुर फरहदवा ८ का हुन् ।

मूर्ति सेलाउन अघि नदीमा पानीको गहिराई नाप्न गएका पाँच विद्यार्थी मध्ये इम्तीयाज र इजाज डुबेका थिए । पानीमा विद्यार्थीहरु डुबेको खबर पाएपछि स्थानीय, प्रहरी र सेनाको गोताखोर टोलीले खोजी गरेको थियो । अमरदल गुल्मबाट खटिएको नेपाली सेनाको गोताखोर टोलीले दुबैजनाको शव बाहिर निकालेको थियो ।

दुई घण्टाको प्रयासपछि बालुवामा पुरिएको अवस्थामा शव फेला परेको सेनानी सरोजकुमार कार्कीले अनलाइनखबरलाई जानकारी दिए । दुवै विद्यार्थीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।

घटना पछि विद्यार्थी तथा परिवारजनमा शोकमा डुबेका छन् । परिवारजन तथा आफन्तहरुले विद्यालयको लापरवाहीका कारण घटना भएका भन्दै दोषीहरुलाई कडा कारवाहीको माग गरेका छन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको तथा शिक्षकहरुसँग समेत सोधपुछ शुरु गरेको प्रहरी उपरीक्षक सानु बाबु थपलियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment