Comments Add Comment

डिभिजन २ जित्न सजिलो थिएन

नामिबियामा डिभिजन टू खेलेर नेपाली टोली सोमबार घर फर्किएको छ । नेदरल्याण्ड र नामिबिया जस्तो टीमलाई हराउन सफल नेपाल डिभिजन वानमा पुग्न भने चुक्यो ।

यद्यपि वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने सम्भावना देखिएको छ । प्रतियोगितामा म्यान अफ दि सिरिज बनेको नेपाली कप्तान पारस खड्कासँग गरेको कुराकानी :

paras khadka

समग्रमा डिभिजन टू कस्तो रहृयो ?

– हामी आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन २ जित्नकै लागि नामिबिया गएका थियौं । हामीले राम्रै क्रिकेट पनि खेल्यौं । तर, दुर्भाग्यपूर्ण रुपमा रनरेटका आधारमा डिभिजन १ मा छनौट हुन सकेनौं ।

माथिल्लो स्तरको क्रिकेट त्यति सजिलो पनि छैन । तर, एक वर्षअघि विश्वकप छनौटमा न्युजिल्याण्डमा गरेको प्रदर्शन र अहिलेको हेर्ने हो भने हामीले धेरै नै सुधार गरेका छौं ।

टिमका रुपमा सबैले राम्रो गर्यौं । खासगरी तिब्र गतिका बलरहरुले यो पटक राम्रो सुरुवात गरे । यो क्रिकेटमा अघि बढ्नका लागि निक्कै राम्रो संकेत हो । समग्रमा टिमका रुपमा हामी सन्तुष्ट छौं । हामीले सक्दो प्रयास गरेको हो, जे जति सक्यौं । तर अन्तिममा परिणाम हाम्रो अनुकुल आएन ।

हामीले डिभिजन २ जित्छौं जस्तो लागेको थियो ?

नेदरल्याण्ड, नामिबिया, क्यानडा जस्ता देशलाई हराउनु भनेको सानो कुरा थिएन हाम्रा लागि । हामी सहि बाटोमा छौं

– सजिलो थिएन । डिभिजन २ जित्ने भन्दा पनि हाम्रो चाहिं प्रतियोगितामा राम्रो खेल्ने लक्ष्य थियो । जुन कुरा हामीले पहिला पनि भनेका थियौं, हामीसँग राम्रो गर्ने क्षमता छ, च्याम्पियन टिम, रनरअप टिमलाई हराउने क्षमता हामीसँग छ ।

अन्तर्राष्ट्रिय क्रिकेटको यो माथिल्लो स्तरमा जुन टिमले जुन दिन राम्रो खेल्छ त्यसैले जित्छ । अर्को दिन उसले हार्न सक्छ । हामीले लिग चरणको अन्तिम खेलमा केन्यालाई जित्न सकेको भए हामी अहिले डिभिजन १ मा उक्लिएका हुन्थ्यौं होला । सकरात्मक सोचौं हामी अहिले डिभिजन २ मा छौं । क्यानडा रेलिगेसनमा परेको छ । हामी चाहिँ अहिले माथिल्लो स्तरमा उक्लि रहेका छौं यसलाई निरन्तरता दिनु पर्छ ।

प्रतियोगितामा हाम्रो व्याट्सम्यानहरु तीन चार जनामात्र चले नि ?

– यो खेलको भाग हो । कुनै पनि खेलाडीमा कमिटमेन्टको कुनै कमि थिएन । तर, कहिले काँही आफूले चाहेर पनि प्रदर्शन गर्न सकिँदैन ।

तर, टिमको रुपमा हामीले राम्रो गरेका हौं । यसमा खुसी छौं । कसले राम्रो प्रदर्शन गर्यो कसले गरेन भन्ने कुरा नेपालले जितेसम्म कुनै मतलब हुँदैन । किन कि जो जति खेलाडी छन्, उनीहरुले आफ्नो जिऊ ज्यान लगाएर सबैले प्रयास गर्छन । इमान्दार भएर हामीले कोशिश गरेका थियौं माथिल्लो स्तरमा पुग्नका लागि । तर अन्तिममा फेरि रनरेटकै कुरा आयो । रनरेट र नेपाली क्रिकेटको पहिल्यैदेखि एक किसिमको सम्बन्ध छ । यस पटक जसरी नेदरल्याण्डले हामीलाई रनरेटमा पछि पर्यो । पोहोर हामीले बर्मुडामा यहि रनरेटमा हामी अघि बढेका थियौं । पृथ्वी गोलो छ पालो सबैको आउँछ भनेजस्तै गरेर यसपटक हामी रनरेटको शिकार भयौं ।

तर मलाई के लाग्छ भने सुधार गर्ने हाम्रो धेरै क्षेत्र छ । हामीले केहि कमजोरी पहिल्याएका छौं । यसअघिका प्रतियोगितामा भन्दा यो पटक हाम्रो प्रदर्शन राम्रो छ । नेदरल्याण्ड, नामिबिया, क्यानडा जस्ता देशलाई हराउनु भनेको सानो कुरा थिएन हाम्रा लागि । हामी सहि बाटोमा छौं । यहि बाटोलाई पहिल्याउँदै जाने हो भने भविश्यमा राम्रो परिणाम निस्किन्छ ।

टप लेभलमा व्याटिङ गर्न हामीसँग त्यो मेन्टालिटी छ जस्तो लाग्छ ?

-रिर्सोसेज छ । त्यसलाई एक्सपोजरको जरुरी छ । यसलाई यस्तो संरचनामा राखौं, जसले निरन्तर क्रिकेट खेल्न पाउँछन् । खासगरी ब्याट्सम्यानहरुलाई । योजना पनि छ कि खेलाडीहरुलाई बाहिर पठाउने । नेपालमा क्षमताको कमी छ भन्ने मलाई लाग्दैन, त्यसलाई मौका दिनुपर्छ ।

डिभिजन टूमा बस्नु उपलब्धी हो ? 

– टीमका रुपमा यो उपलब्धी हो । मलाई थाहा छैन क्रिकेट समर्थकलाई कस्तो हुन्छ । उहाँहरु नेपाल डिभिजन १ मा पुगेका भए हुन्थ्यो भन्ने लागेको थियो । उहाँहरु खुसी हुनुहुन्थ्यो ।

तर, हामीले सक्दो प्रयास गरौं । इनभ वेष्ट इज नट इनफ भनिन्छ नि त्यसले शासद हामीसँग समय छ र अबसर छ खेलाडीहरुले आफूलाई सुधार गर्न ।

डिभिजनमा वानमा नपुगेपनि टूमा रहिरहृयौं । यसमा टिकिरहन कत्तिको चुनौती छ ?

– मेन्टेनेन्स गर्नु पर्ने बेला आएको छ हाम्रो । खेलाडीहरुले सँधै आफ्नो तर्फबाट जिउ ज्यान लगाएर गरिरहेका छौं । माथिल्लो लेभलमा राम्रो प्रदर्शन गर्न देशभित्रको क्रिकेटकेा संरचना सुधार गर्नै पर्छ । हामी अहिले १५-२० जना खेलाडीमा मात्र सिमित छौं ।

हामीले हाम्रो क्रिकेटरहरुलाई टेष्ट खेल्ने देशहरुको क्लब संरचना छ, त्यसमा पठाउनुपर्छ । त्यसरी मात्र अघि बढ्न सकिन्छ ।

राष्ट्रिय टिमले राम्रो गर्यो र नेपाली क्रिकेट माथि बढ्यो भन्नु भन्दा पनि भविश्यमा नेपाललाई वानमा उकालेर एक दिवसीय क्रिकेट खेल्न योग्य बन्ने हो भने लगानी गर्नु पर्ने बेला आएको छ । लगानी भनेको क्रिकेटको संरचनामा सुधारदेखि सरकार तथा निजी व्यवसायिक संघ संस्थाले मिलेर क्रिकेटलाई अघि बढाउने हो भने भविश्य राम्रो छ ।

टीमका रुपमा हामी अनप्रेडिक्टेबल भइरहेका छौं ?

– म यसलाई अस्वीकार गर्दिन । तर, अनप्रेडिक्टेबल कसरी आउँछ भने २०/२५ जना खेलाडी, वर्षको एउटा प्रतियोगिताको भरमा नेपाल क्रिकेट चलिरहेको छ । त्यो पृष्ठभूमिबाट यहाँसम्म आउनु समग्रमा ठूलो सफलता हो ।

Parash-Khadka

अब अगाडि बढ्नुपर्छ । अनप्रेडिक्टेबलभन्दा पनि कन्सिस्टेन्सी हुनुपर्छ । स्टाण्र्डड मेन्टेन गर्नुपर्छ । आश गरौं, सुधारका धेरै ठाउँ छ । टी-२० वर्ल्डकप छनोट छ । समय पनि छ । भन्दा भन्दा घरेलु क्रिकेटको संरचना पनि सुधार गर्नुछ ।

वर्ल्ड क्रिकेटका लागि तयारी कस्तो हुन्छ ?

– अगाडी बढ्नका लागि हामीले हाम्रो क्रिकेटरहरुलाई टेष्ट खेल्ने देशहरुको क्लब संरचना छ, त्यसमा पठाउनुपर्छ । त्यसरी मात्र अघि बढ्न सकिन्छ । क्याम्पमा खेलेर कुनै पनि खेलाडीको प्रदर्शनमा सुधार हुँदैन । एउटा लेभरसम्म होला तर, माथिल्लो लेभलमा पुग्न प्रदर्शन गर्न खेलाडीहरुलाई बाहिरको क्लब संरचनामा भिजाउनु पर्ने बेला आएको छ ।

व्यक्तिगत कुरा गर्दा डिभिजन टूमा उत्कृष्ट खेलाडी बन्दा कस्तो लाग्यो ?

– टिमको जितका लागि मैले खेलेँ । अवार्ड पाउँदा खुसी लाग्छ । यसले मलाई अरु खेलमा राम्रो गर्न उत्प्रेरणा मिलेको छ । म मात्र होइन । सबै खेलाडीले राम्रो गर्न चाहन्छ । आश गरौं कन्सिस्टेन्सी मेन्टेन गरेर अघि बढौं ।

तपाईको कमब्याक टुर्नामेन्ट पनि रहृयो होइन डिभिजन टू ?

– मैले यसलाई कमब्याट टुर्नामेन्टका रुपमा हेरेको छैन । अरुले यसलाई फरक रुपमा हेर्न सक्छन् । क्रिकेट भनेको स्टाट हो, रन विकेट । कतिपय अवस्थामा कुनै खेलाडीले बनाएका ५ रन अर्को खेलाडीले बनाएको ८० रनभन्दा पनि महत्वपूर्ण हुन्छ । त्यसले कमब्याक भन्दा पनि मैले प्रदर्शन गर्नुपर्छ । चाहे क्याप्टेन हुँ वा खेलाडी ।

जबसम्म म नेपालका लागि खेल्छु मेरो काम भनेको प्रदर्शन गर्ने हो, चाहे ब्याटिङ होस्, बलिङ होस् वा चाहे फिल्डिङ होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment